मस्की छै की उज्याली

गौरापर्व

मस्की छै की उज्याली

गौरा पर्वको उत्पत्तिा, महिमा र महत्तव देउडा गीतको भन्दा धेरै स्तरीय रहेको मान्न सकिन्छ। आध्यात्मिक चेतनाका जग भएकाले संस्कृति हाम्रो सभ्यता हो।

देउडा गीतमा ठाडी भाकाका उम्दा गायक हरिश्चन्द्र कडायत बितेको पनि दुई वर्ष पूरा भयो। ठाडी भाका देउडा गीतका प्राण उनी ठाडी भाकाका पनि प्राण वायु हुन्। उनका भाकाले गौरापर्वका बेला विशेष महत्व राख्थ्यो।

धनगढी महेन्द्रनगरलगायत बझाङका डाँडापाखामा उनले गाएका ठाडी भाकाले सहरी समाज र ग्रामीण समाज गुञ्जिने गथ्र्यो। राजधानीमा गौरापर्वका बखत हरिश्चन्द्रले गाएको ठाडी भाका साँच्चिकै सम्झनलायक बनेको थियो। हजारौं नरनारीले मन पराएर खुसी हुँदै तालीले उनको गायकीपनको स्वागत गरेका थिए।
कलेजीले कलायाको मुटुले छान्याको 

न छुटै लडयाला प्रिथी भरोषा मान्याको।

सुदूरपश्चिम र कर्णाली प्रदेशका लाखौं संस्कृतिप्रेमीका लागि भदौ महिना गौरापर्व मनाउने महिना हो। वर्षभरिका पर्वमध्ये गौरापर्व त्यस भेगका नागरिकका लागि महत्त्वपूर्ण पर्व हो। नारीप्रधान यो पर्व भदौ महिनाको कहिले शुक्ल पक्षमा र कहिले कृष्णपक्षमा पर्छ, ज्योतिषीका अनुसार। कुनै बेला गाउँघरमा मात्र सीमित यो पर्व २०४६ सालको जनक्रान्तिपछि बहुदलीय व्यवस्थाको पुनस्र्थापनासँगै सहरमुखी पनि बन्न पुग्यो। यो पंक्तिकारलगायत राजधानीमा अध्ययन गर्ने सयौं विद्यार्थी गौरापर्वका बेला २०३४–२०३७ सालताका कहिले ललितपुरको गोदावरीमा जम्मा भएर देउडा गीत गाउथ्यौं। कहिले कालिकास्थान र मैतीदेवी मन्दिर प्रांगणमा जम्मा भएर जानेका फाग गाउँथ्यौं।

त्यसपछि त खुल्ला समाजमा गौरापर्व, माघी पर्व, धान नाच, सरौं, सेब्रो, उधाली, उभौली पर्वलगायतले राजधानीको टुँडिखेल, खुल्लामञ्चलगायतमा आआफ्नो परिचय दिने मौका पाए। त्यसैले लोकतान्त्रिक शासन व्यवस्थामा सबैथरी जातजातिका चाडपर्वले फस्टाउने मौका पाउँछन्। सुदूरपश्चिम छात्रसंघ नामक त्यसबेलाको विद्यार्थी संघले बेलामौकामा स–साना कार्यक्रम राजधानीमा सञ्चालन गर्ने गथ्र्यो। स्व. लीला ओझा (डोटी) सो विद्यार्थी संघका सभापति थिए।

हामी अरू विभिन्न पदमा कार्यरत थियौं। २०३७ वैशाख २० गते सम्पन्न जनमतसंग्रहपश्चात् सुदूरपश्चिमका हामी विद्यार्थी अध्ययनको सिलसिलामा पुनः काठमाडौं फर्की त्यसबेलाको रत्नपार्कमा जम्मा भएर गौरा पर्व आपसमा मनाउँदै आयौं। देउडा खेल खेलेका थियौं। गौरामा देउडा खेल्नुपर्छ भनी अग्रसर भएर राजधानीमा देउडा गीत गाउने र देउडा खेलमा डेढी कदम चलाउने पहिलो व्यक्ति पंक्तिकार हो।

यो क्रम २०४६ सालको आन्दोलन अघिसम्म निरन्तर कायम थियो। काठमाडौं कालिकास्थानस्थित डा. त्रैलोक्यनाथ उप्रेती (डोटी) को घरमा गएर पनि गौरा मनाएको इतिहास छ विद्यार्थीमाझ। २०४६ पछि गीति क्यासेट बिक्री वितरण गर्ने क्रममा धनगढीको नौनादेवी मन्दिर प्रांगणमा गौरापर्वमा देउडा खेलेर संस्कृतिकर्मीलाई एकीकृत गराएको थिएँ। महेन्द्रनगरको खुल्लामञ्चमा डँडेलधुरा, बैतडी, बझाङलगायतका जिल्लाबाट सहरमा बसेका हजारौ संस्कृतिकर्मी र गौरा मनाउन लालायित नरनारीमाझ पंक्तिकारले देउडा खेलाएको त्यो इतिहास सुदूरपश्चिमवासीका लागि गर्विलो छ। कयौंपटक गायक नरेन्द्रराज रेग्मी, हरिश्चन्द्र कठायत, अन्तराम विष्ट, टेकराज अवस्थीलगायतका देउडा गायकले मञ्च तताएका थिए।
डँडेलधुरा बैतडीका बीचमी पाटन 
हातकी रुमाल दिउला सौरणी साटन।

देउडा गीतको छनक बडो विचित्रको छ। ठाउँ सुहाउँदो गीतमा बान्की मिलेकोले प्रकृतिको वर्णन पनि उत्तिकै बोधगम्य देखिन्छ। बैतडी जिल्लाको समथल भूभाग पाटनको वर्णनका साथै सौरणी (माया) लागेको बेला हातकी रुमाल कोसेलीका रूपमा उपहार दिने कुरा गीतले बताएको छ। गीतमा संस्कृतिको वर्णन बेजोड तरिकाले गरिने हुदा देउडा सुदूरपश्चिम र कर्णाली प्रदेशको मौलिक पहिचान बनेको छ। 

२०५६ सालपछि गौरापर्वले टुँडिखेललाई गौरामय भूमि बनायो। एकछिन डालो शिरमा राखी गौराको नाममा आफ्नै तरिकाले नाचेपछि यसको पौराणिक महत्त्वलाई बिसर्जन गरिन्छ। अनि सुरु हुन्छ देउडा खेल र देउडा गीत। थरीथरी देउडा खेल चौरमा सुरु गरिन्छ। सुदूरपश्चिमका कलाकारले हजारौं उपस्थिति जनाएका नरनारीलाई चित्तबुझ्दो तरिकाले आआफ्ना भाका पस्कन पुरानाभन्दा नवपिँढी तम्तयार देखिन्छ। मञ्चमा गायक भोजराज भट्ट, टेक बोगटी, उमाशंकर जोशी, टेक तिमिल्सिना, महेश आउजी, चक्र बम, सुरत रावत, डोटेली कान्छालगायतले सुदूरका भाका सुसाउँछन्। महिला कलाकार डिक्रा बादी, लक्ष्मी आचार्य, गौरी भट्ट, निरुता खत्री, रेखा जोशीलगायतका देउडा गायिकाले उपस्थित सबैको मन जित्न सफल छिन्।

यसैगरी, खेलाडीको गोलाकार घुमाइले सप्तरंगी इन्द्रेणीको झैं हरियो जमिनमा घेरो लगाउँदा त्यो मनमोहक दृश्यावलोनका लागि दर्शकको ताँती लाग्छ। गौराका बेला राजधानी पूरै रंगीन बनिदिन्छ, देउडाखेल कलाकारको मञ्चको प्रस्तुति र सुदूरका पन्चैबाजाको मीठो धुन र डेढी कदममा खेलिने खेलमा महिला गीतांगीहरूको गीतको अर्थ अझ अर्थपूर्ण रहने हुँदा     श्रोता र दर्शक जम्मा हुन्छन् खेलमा।

यसरी गीत भन्न सिपालु दयाडिया महिला कलाकार हुन् शान्ति धामी (दार्चुला), लक्ष्मी देवकोटा (जुम्ला), जशुदा आचार्य (बाजुरा), जमुना खत्री (कालीकोट), पूजा तिवारी (मुगु), जानकी गिरी, भागीरथ गिरी, सरस्वती वि.क. (बझाङ) ७५ वर्षीया लालमती सिंह (बझाङ) हुन्। युवा खेलाडीमा विरही बम (बझाङ), खगेन्द्र, जनक तिमिल्सिना, ७८ वर्षीय जयलाल देवकोटा, अर्जुनप्रसाद तिमिल्सिना, कृष्णप्रसाद तिमिल्सिना (अछाम), सुरेश शाही (कालीकोट) लगायतका संस्कृतिकर्मीले देउडाको मर्म र महत्त्व गीतमार्फत दर्शाएका छन्। तर ठाडी भाकाका कलाकार हरिश्चन्द्र कठायतको उपस्थिति खडकने गर्छ।

क्या राम्रा सेरीका जिउला वासमतीका धान 
मस्की छै की उज्याली छै नैनसुतका थान।

रातो चामल, बासमती चामल उत्पादनका लागि बझाङ, बाजुरा, जुम्ला र कालीकोट जिल्लाका केही सेराहरू प्रख्यात छन्। गीतको रचना गर्ने क्षमता भएका सर्जकलाई नैनसुत (नाम कपडा) को संज्ञा दिएको छ आँसुकविले। वर्षदिनमा भेट भएकाले यस्ता किसिमका सबालजबाफ गीतमा भइरहन्छन्। भिट (भेट) हुँदा खुसी लाग्नु, न हुँदा मस्किनु (अँध्यारो अनुहार लगाउनु) स्वदेशी र प्रदेशी दुवैको विशेषता हो भन्छन् आँसुकविहरू।

यिनै गीतका शब्दसँग रमाउँदै देउडा लोककलाकारले गौराको बेला वेदना पोखेका हुन्छन। देउडा गीति क्षेत्रको समुद्र हो। गौरा धेरै संस्कृतिभित्रको पर्व हो। संस्कृतिभित्र गीति क्षेत्रलाई अटाउन खोजिएको देखिन्छ, कलाकारहरूको मीठो प्रस्तुतिले। कुनै पनि जातजातिमा सीमित हुन सक्दैन देउडा गीतसंगीत। तर गौरा निश्चित वर्ग र क्षेत्रका मानिसले मनाउने पर्व भएकाले देउडा लोकसंगीतभन्दा गौरा पर्व लक्ष्मण रेखाभित्र खुम्चिन तयार देखिन्छ देउडा गीतका अगाडि। तर गौरा पर्वको उत्पत्ति, महिमा र महत्त्व देउडा गीतको भन्दा धेरै स्तरीय रहेको मान्न सकिन्छ। आध्यात्मिक चेतनाका जग भएकाले संस्कृति हाम्रो सभ्यता हो। गौरापर्व पनि सुदूरपश्चिम प्रदेशका नरनारीका लागि चेतनाको दियो मान्न सकिन्छ। 

हाल बौजु तोणीका तेल छणक्या नन्दकेश 
गैरापर्व आउन लाग्यो हामी जन्म्या देश।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.