दोलखामा गाईजात्रा
दोलखा : दोलखा बजारमा धुमधामका साथ गाईजात्रा मनाइएको छ। मृतात्माको सम्झना र आत्मा शान्तिका लागि मंगलबार दोलखा बजारलगायत चरिकोट बजारमा गाईजात्रा मनाइएको हो।
जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्राका अवसरमा दोलखा बजारमा दर्शकको बाक्लो भीड रहेको थियो। सदरमुकाम चरिकोटमा पनि विभिन्न वेषभूषामा सजिएर व्यङ्ग्यात्मक जात्रा निकालेको हो। दोलखामा भाद्र कृष्णाष्टमीका दिनसम्म मनाइने यस पर्वमा सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झना स्वरूप मनाइने चलन छ।
दोलखावासीहरू आ आफ्नो जिम्मामा रहेको पर्व जात्राहरूको पहिचान गरी आफ्नो आफ्नो पालो लगाउने गर्छन्। औंशी मनाएर परेवाको दिनदेखि दोलखामा (दुईवटा समूह तल्लो टोल समूह र माथिल्लो टोल समूह)ले बिहानदेखि दोलखाका सम्पूर्ण देवस्थलहरूमा महिषासुर वद गर्नको लागि आराधना गरेर बाजागाजासहित घुमेर पूजा गर्ने चलन छ।
श्रावणशुक्ल पक्ष चर्तुदशीका दिन दोलखाबाट डापाखलकहरू बाजागाजासहित र विशेष पूजासहित कालिञ्चोक भगवतीलाई विशेष पूजा गरी दोलखा राज्यमा दानवहरूले दुःख दिएकोले भगवतीलाई दानवहरूको वद गर्न दोलखा ल्याइन्छ। दोलखा शहरमा गाईजात्राको भोलिपल्ट भैरवकुमारीको जात्रा निकालिने प्रचलन छ। ५ दिनसम्म लाग्ने यो जात्रा दोलखा बजारबाहेक नेपालको कुनै ठाउँमा पनि नलाग्ने किंवदन्ती पनि छ।