फेरि दर्दनाक बस दुर्घटना

पशुपतिनाथको दर्शन गर्न नपाउँदै बाटोमै अस्ताए २७ भारतीय तीर्थयात्री

पशुपतिनाथको दर्शन गर्न नपाउँदै बाटोमै अस्ताए २७ भारतीय तीर्थयात्री

आँबुखैरेनी : पोखराबाट काठमाडौंतर्फ गइरहेको भारतीय तीर्थयात्री बोकेको बस शुक्रबार बिहान तनहुँको आँबुखैरेनीस्थित ऐनापहरामा दुर्घटना भयो । २७ जना तीर्थयात्रीको ज्यान गयो । १६ जना घाइते छन् ।

यूपी ५३ एफटी ७६२३ नम्बरको उक्त बस आँबुखैरेनी गाउँपालिका— २ ऐनापहरामा बिहान ११ बजेतिर सडकबाट करिब एक सय मिटर तल मस्र्याङ्दी नदीमा खसेको थियो । दुर्घटनामा २६ जनाको घटनास्थलमै र एक जनाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सबैका शव आँबुखैरेनी अस्पतालमा पोस्टमार्टमका लागि राखिएका छन् । 

घाइतेको आँबुखैरेनी अस्पतालमा सामान्य उपचार गरिएको थियो । थप उपचारका लागि हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौं लगिएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । घटना भएको केहीबेरमै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर उद्धार गरेको उनले बताए । ‘सुरुमा आँबुखैरेनीका स्थानीयवासी र इप्रका आँबुखैरेनीको प्रहरी टोलीले बसभित्रका यात्रुलाई बगरमा निकाल्ने काम गरे । 

पछि सशस्त्र प्रहरी र नेपाली सेना आएर बाँकी यात्रुलाई बसभित्रबाट बगरमा उतार्ने काम गरे’, प्रजिअ गौतमले भने, ‘त्यसपछि घाइतेलाई डोरीलगायतका आपत्कालीन उद्धारमा प्रयोग गरिने उपकरण प्रयोग गरी सडकमा उतारियो र एम्बुलेन्समार्फत आँबुखैरेनी अस्पतालमा सामान्य उपचार गरियो । पछि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरमार्फत पहिलो चरणमा १२ जना र पछिल्लो चरणमा ४ जना गरी १६ जनालाई थप उपचार गर्न काठमाडौं पठायौं ।’

घाइतेहरूको अवस्था गम्भीर रहेको उनले बताए । दुर्घटना भएपछि केहीबेर पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द भए पनि अपराह्नदेखि एकातर्फी खुलाइएको थियो । गोरखपुरको केशरवानी ट्राभल्सबाट बुक गरिएका तीनवटा बसमा भारतीय १ सय १० जना तीर्थालुहरू नेपाल आएका थिए । महाराष्ट्रका उनीहरू भारतको इलाहबादबाट बसमा सवार भएर चित्रकुटधामको दर्शन गरी गोरखपुर हुँदै नेपाल भित्रिएका थिए । जसमध्ये ४५ सिट संख्या रहेको उक्त बसको दुर्घटना भएको हो । उनीहरू ११ गते भारत फर्कने तयारीमा थिए । दुर्घटनाग्रस्त बस शुक्रबार साँझसम्म पनि सडकमा ल्याउन सकिएको छैन । बस झिक्न शुक्रबार दिउँसो क्रेन ल्याइएको थियो । तर त्यसको क्षमता कम भएकाले अर्को क्रेन मगाइएको प्रहरीले जनाएको छ ।

उद्धारमा प्रहरी, सेना र कर्मचारीहरूको खटाइ भने निकै प्रशंसनीय रहेको उनीहरुको भनाइ छ । 

भारतको महाराष्ट्रबाट दुईवटा बसभरि यात्रुहरू तीर्थाटनका लागि भैरहवास्थित बेलहिया नाका हुँदै साताव्यापी नेपाल भ्रमणमा नेपाल आएका थिए । ‘उहाँहरू लुम्बिनी घुमेर पोखरा आउनु भएको थियो । पोखराको होटल स्पोर्ट्स र पोखरा इन् होटलमा रहेर दुई दिन घुम्नु भएको थियो’, उनीहरूको भ्रमणमा सहजीकरण गरिरहेका पर्यटन व्यवसायी दुर्गाप्रसाद पाण्डेले भने, ‘पशुपति घुमेर फर्कने भनेर उहाँहरू काठमाडौं जान लाग्नु भएको रहेछ । एउटा बस अगाडि कटिसकेको थियो । पछाडि आएको बस मस्र्याङ्दीमा हाम्फाल्यो ।’

आफूहरू अगाडि पुगिसकेको तर सो बस नआएपछि फर्केर हेर्न आउँदा दुर्घटना भएको थाहा पाएको उनले बताए । आफूहरू घटना भएको पाँच, सात मिनेटभित्रै घटनास्थल पुगेको भन्दै अर्का पर्यटन व्यवसायी अर्जुन खनालले आफूहरूले काठमाडौंस्थित भारतीय दूतावास र यातायातको प्रबन्ध गरेको ट्रान्सपोर्टेसनको कार्यालयमा खबर गरी आफन्तहरूलाई खबर गरिदिन अनुरोध गरेको बताए । 

भारतीय पर्यटकमा धक्का 

नेपाल भ्रमणमा आउनेमा सबैभन्दा धेरै भारतीय धार्मिक पर्यटकको संख्या छ । विशेषगरी उनीहरू लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथ, मनकामनालगायतका मन्दिरमा पूजा गर्न आउने गर्छन् । सोही क्रममा आएको बस सडक दुर्घटना हुँदा ठूलो संख्यामा भारतीय पर्यटकको मृत्यु भएपछि पर्यटनमा ठूलो क्षति हुने पर्यटन व्यवसायीहरूको चिन्ता छ । 

‘कहिले जहाज दुर्घटना, कहिले बस दुर्घटना, कतै बाढी, कतै पहिरोले गर्दा विदेशीहरू नेपाल भ्रमण आउन एकदम आनाकानी गरिरहेको अवस्था हो’, पर्यटन व्यवसायी अर्जुन खनाल भन्छन्, ‘बल्लतल्ल अलिअलि भारतीय पर्यटकहरू देखिन थालेका थिए । झन् यही बेला यस्तो दुर्घटना भयो । अब यसले सिधै नेपालको पर्यटन व्यवसायलाई हान्छ । भारतीय पर्यटक आउन कम हुन्छ ।’ नेपालको पूर्वाधार असाध्यै कमजोर रहेको उनको भनाइ छ ।  उद्धारमा प्रहरी, सेना र कर्मचारीहरूको खटाइ भने निकै प्रशंसनीय रहेको उनको भनाइ छ । 

अब पर्यटन क्षेत्रमा केही हुन्छ कि भनेका बेला यो दुर्घटनाको खबरले भारतीय पर्यटक स्तब्ध हुने अवस्था रहेको अर्का पर्यटन व्यवसायी दुर्गाप्रसाद पाण्डेको भनाइ छ । ‘एक त यातायातमा प्रकृतिले नै साथ दिएको छैन । अर्कातिर पूर्वाधार पनि त्यस्तै छ । कतिखेर कहाँ पहिरो खस्छ, कतिखेर गाडी नै खस्छ पत्तो छैन’, उनले भने, ‘घण्टौं रोडमा पानी पनि खान नपाई जाममा पर्नुपर्ने अवस्था छ ।’ यस्तो बेला यस्ता घटनाले झन् पर्यटन उद्योग खस्कने उनले बताए ।


स्थानीय उद्धारकर्ताको बयान : घाईतेहरु हेल्प हेल्प भन्दै थिए 

काशीराम गुरुङ र सागर थापा  

सवा ११ बजेतिर एउटा गन्धर्व भाइले लौ, ऐनापहरामा बस खस्यो रे, मान्छे त एउटा पनि छैन रे, बस कच्याकुचुक छ, भनेर सुनाए । खबर सुन्नेबित्तिकै मोटरसाइकल स्टार्ट गरेर हामी दुई जना घटनास्थलतिर कुद्‍यौँ । सडकबाट मस्र्याङ्दीको किनारमा बस देखिएको थियो । तर, नदीमा झर्ने बाटो थिएन । लड्दै र पड्दै, झाडीको हाँगा र जरामा समात्दै, लहरामा अल्झिँदै बगरमा पुग्यौं । बस त ढुट्टो भइसकेको रहेछ । हामी पुग्दा प्रहरी पनि त्यसरी नै भर्खर पुगेर उद्धारको तर्खर गर्दै थिए । हामी १४, १५ जना त्यहाँ पुगेका थियौं । 

एउटा ठूलो ढुंगाले अड्काएकाले बस मस्र्याङ्दीभित्र पस्नबाट रोकेको रहेछ । नत्र बस भेट्टाउन मुस्किल थियो । चार, पाँच जना घाइतेहरू आफैं बगरमा उत्रिसकेका रहेछन् । उनीहरू कोही पनि सग्ला थिएनन् । ‘प्लिज हेल्प हेल्प’ भन्दै गुहार गरिरहेका थिए । चिच्याइरहेका थिए । डराएर थुरुरुरु कामिरहेका थिए । कोही कता कराएका छन्, कोही कतै चिच्याइरहेका छन् । लौन भैया, लौन सा’ब बचाइदेऊ भनेका छन्, कोही निकालिदेऊ भनेका छन्, कोही पट्टी बाँधिदेऊ भनेका छन्, निक्कै अस्तव्यस्त अवस्था थियो । त्यसो गर्दागर्दा हामीले १५, १६ जना निकाल्यौं । महिला छ, पुरुष छ, बालबच्चा छ । मन एकदम बलियो बनाएर गर्नुसम्म काम गर्‍र्‍यौं । कति गरियो गरियो त्यहाँ भएका पुलिसले र हामीले  । 

उनीहरूलाई उचालेर रोडसम्म ल्याउन त मन थियो । बोक्न पनि सकिन्थ्यो होला, तर रोडसम्म ल्याउन बाटै छैन । पछि हामी पनि थाकियो । अरू थप पुलिस, आर्मी पनि आइपुगे । त्यतिबेलासम्म हामीले १४ जनाको लास निकालिसकेका थियौं । एउटा घाइतेले यो मेरो छोरा हो भनेर देखाएको थियो । पूरै काटेर छियाछिया भइसकेको रहेछ ।

मेरो घरमा फोन लाइदेऊ भन्यो । उनले दिएको नम्बरमा फोन गरिदिएँ । एकछिन कुरा गरेपछि मेरो मोबाइलको ब्यालेन्स नै सकियो । बाँचेका मान्छेहरूलाई त्यतिबेला रोडमा उतार्न सकेको भए हुन्थ्यो । तर चाहेर पनि नसक्ने काम थियो त्यो । अब कसरी गर्ने, के गर्ने भन्ने केही सोच्न सकिएन । हेलिकोप्टर बोलाउने हो कि के गर्ने हो भन्दै थियौं । केहीबेरपछि अरू प्रहरी, सशस्त्र र सेनाहरू पनि आइपुगे । त्यसपछि हामीले पालो पायौं ।

(उनीहरू पृथ्वी राजमार्ग यातायात सेवा प्रालिका आँबुखैरेनीस्थित टिकट काउन्टरका कर्मचारी हुन् ।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.