माटोको सहर लोमान्थाङ वरिपरि आरसीसी पक्की सडक निर्माण गरिँदै

माटोको सहर लोमान्थाङ वरिपरि आरसीसी पक्की सडक निर्माण गरिँदै
सुन्नुहोस्

जोमसोम : ऐतिहासिक तथा धार्मिक कलासंस्कृति एवं उपल्लो मुस्ताङको जीवन्त मौलिक पहिचान बोकेको माटोको सहर लोमान्थाङ वरिपरि आरसीसी पक्की कंक्रिट सडक निर्माण सुरु गरिएको छ। गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले माटोको सहरका रूपमा परिचित पर्खालले घेरिएको ऐतिहासिक लोमान्थाङ बस्ती वरिपरि आरसीसी सडक निर्माणको काम अघि बढाएको हो।

गण्डकी प्रदेशका सांसद नम्डु गुरुङको विशेष पहलमा चालु आर्थिक वर्ष २०८१/०८२ का लागि उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङस्थित माटोको सहर लोमान्थाङ पर्खाल वरिपरि आरसीसी सडक विस्तार गर्ने योजना परेको पूर्वाधार विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख अजय श्रेष्ठले जानकारी दिए। १५ शताब्दीमा निर्मित मुस्ताङ राजाको दरबार समेत रहेको लोमान्थाङ बस्ती वरिपरि आरसीसी सडक निर्माण गर्न दीप शर्मा जेभी निर्माण कम्पनी पोखराले बिहीबारदेखि काम थालेको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ।

यसअघि लोमान्थाङ स्वागत गेटदेखि लोमान्थाङ पर्खाल वरिपरि आरसीसी सडक निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वान भएको थियो। सडकका लागि भ्याटसहित ४ करोड १८ लाख लागत अनुमान गरिएकोमा ३ करोड २३ लाख लागतमा निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो। बहुवर्षीय योजना अनुसार लोमान्थाङ पर्खाल वरिपरि आरसीसी पक्की सडक विस्तार गर्न १८ महिनाको अवधि तोकिएको कार्यालय प्रमुख श्रेष्ठले जनाए।

माटोका सहर लोमान्थाङ बजार उपल्लो मुस्ताङको सांस्कृतिक राजधानीका रूपमा समेत प्रख्यात छ। यही सहरलाई आरसीसी सडकले घेर्ने गरी ४७२ मिटर लामो सडक निर्माण गरिने योजना रहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर घनश्याम रोक्कामगरले जानकारी दिए। सूचना अधिकारी इन्जिनियर रोक्का मगरका अनुसार पर्खालले घेरिएको लोमान्थाङमा आरसीसी सडक अन्तर्गत ४ दशमलव ५ मिटर चौडा सडक र ८० सेमी चौडा नाली निर्माण हुनेछ।

पूर्वाधार विकास कार्यालय मुस्ताङले बहुबर्षीय ठेक्का भएपनि लोमान्थाङ पर्खाल वरिपरि आरसीसी सडक निर्माणको कामलाई चालु आर्थिक वर्षभित्रै सक्ने लक्ष्य रहेको जनाएको छ। गण्डकी प्रदेशका सांसद नम्डु गुरुङले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको लोमान्थाङ सहरलाई त्यहाँ पुग्ने पर्यटक तथा स्थानीयको सहजताका लागि आरसीसी सडक विस्तारको पहल आफूले गरेको बताए। 

‘सांस्कृतिक पहिचान बोकेको लोमान्थाङ सहरलाई समृद्ध तुल्याउने उद्देश्य हो, त्यहाँको हेरिटेज सौन्दर्यता मासिन हुँदैन भन्नेमा पनि हामी त्यति नै सचेत छौं’, सांसद गुरुङले भने, ‘हालको कच्ची सडकमा छपनी ढुंगा बिच्छ्याउँदा त्यो दीर्घकालीन हुँदैन भन्ने हाम्रो बुझाई रह्यो। आरसीसी सडक बनेपछि त्यो संरचना सवारी गुड्दा होस् वा वर्षा र हावापानीले पनि क्षति हुँदैन।’

माटोको सहर लोमान्थाङ भित्र १५ औं शताब्दीमा निर्मित मुस्ताङी राजाको दरबार अवस्थित छ। त्यसका अलावा पर्खाल वरिपरि भित्रको सहरमा लोमान्थाङ गाउँपालिका कार्यालय, वडा कार्यालय, सीमा प्रहरी चौकी, गुम्बा स्कूल र अन्य व्यापारिक प्रतिष्ठान छन्। लोमान्थाङ सहरमा सदियौं वर्षअघि निर्माण भएका ढुंगा र माटोले बनेका ऐतिहासिक घरहरू त्यहाँको जीवन्त सम्पदा हो।

पर्खालले घेरिएको लोमान्थाङ सहरमा सवारी साधन आउजाउ गर्न मिल्ने गरी निर्माण हुन लागेको आरसीसी सडक सम्पन्न भएमा त्यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटकले छिटोछरितो रूपमा त्यहाँको वस्तुगत मौलिकताको अवलोकन गर्न सक्नेछन्। लोमान्थाङ सहरमा झन्डै २ सय भन्दा बढी एक आपसमा जोडिएका ऐतिहासिक पुराना घरहरू छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.