कटहरीमा आजसम्म कृषि मेला
विराटनगर : मोरङको कटहरीस्थित कृषि थोक बजारमा पहिलोपटक चारदिने कृषि मेलाको आयोजना गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले संयुक्त रूपमा मेलाको उद्घाटन गरेका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको कृषि–एक्स्पो २०८१ आजसम्म सञ्चालन हुनेछ। किसान र निजी क्षेत्रलाई एक ठाउँमा ल्याएर कृषि उत्पादन बढाउनका लागि एक्स्पो आयोजना गरिएको हो। संघीय सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिको व्यवसायीकरणका लागि रणनीतिक महत्त्वका साथ अघि बढ्नुपर्ने बताए।
महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै किसान र उद्यमीलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसाथ एक्स्पोको आयोजना गरिएको जानकारी दिए। महासंघका उपाध्यक्ष हेमराज ढकालले कृषिमा निजी क्षेत्रको प्रवेश र लगानी सुनिश्चितताको काम हुन सके नेपालले चाँडै यस क्षेत्रमा फड्को मार्ने बताए। एक्स्पोमा कृषि औजारको प्रदर्शनी, उन्नत जातका पशुपंक्षीको प्रदर्शनी, पशुपंक्षी तथा कृषि उपजको प्रतियोगिता खेतदेखि भान्साको अनुभव र फुड फेस्टिबल गरिएका छन्।
प्रतिक्रिया दिनुहोस !