सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
झापा : सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर झापाको दमकमा एकजनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा इलाम जिल्ला महमाई स्थायी ठेगाना भइ हाल दमक नगरपालिका–८ मा डेरा गरी बस्ने अन्दाजी २६ वर्षीय कमल बुर्जामगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब साढे ९ बजे आफ्नै टाँडे घरको भुइँतलामा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत् सर्ट भइ उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका उनलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो। हस्पिटल पुगेलगत्तै डाक्टरले मृत घोषणा गरेका हुन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।