कालापत्थर बन्दै हिमालहरू

कालापत्थर बन्दै हिमालहरू

दोलखा : कात्तिकको सुरुवातमै हिउँ पर्ने दोलखाका उच्च हिमाली भेगहरू कालिञ्चोक, शैलुङ, चेर्दुङ, खरिढुंगा उराठ बन्दै गएका छन्। विगत चार वर्षदेखि नै हिमालमा हिउँ देखिन छाडेका छन्। माघ महिनाको अन्तिम सातासम्म पनि माथिल्ला भेगमा हिमपात र तला भेगमा हिउँदे वर्षा हुने छाँटकाँट छैन।

दोलखाका माथिल्ला भेगका किसान बारीमा आलु लगाएर हिउँ पानीको पर्खाइमा छन्। हिउँदे वर्षा नहुँदा आलु उत्पादन घट्ने हो कि भन्ने चिन्ताले किसानहरू पिरोलिएका छन्। दोलखा जिल्ला एक हिमाल र पहाडी भू–भाग रहेको जिल्ला हो। समुद्री सतहदेखि ७ सय ६२ मिटरको उचाइदेखि गौरीशंकर हिमाल ७ हजार १ सय ३४ सम्मको उचाइमा रहेको यस जिल्लाको गौरीशंकर हिमाल अहिले काला पहाडजस्ता देखिन थालेका छन्। दोलखा जिल्लामा साना ठूला गरी ४० वटा हिमाल छन्। 

लामो समय हिउँ नपर्दा हिमालहरू काला पहाडमा परिवर्तन भएका छन्। जलवायु परिवर्तनको असर हिमालमा मात्र नभएर मानवीय जीवन र वन्यजन्तुमा पनि परेको छ। हिमाली भेगको तलो तहसम्म हिउँ पर्नुपर्ने तर हिउँदे वर्षासम्म पनि भएको छैन। हिमाली क्षेत्रमा आलु रोप्ने मुख्य सिजन ढिम्कीसक्दा पनि हिमपात नभएपछि किसानहरू मारमा परेका छन्। दोलखाको नौवटै स्थानीय तहको माथिल्लो भेगको ३२ सय हेक्टर क्षेत्रफलको जमिनमा किसानहरूले व्यावसायिक आलु खेती गर्दै आएका छन्। जसमध्ये शैलुङ गाउँपालिकाले सबैभन्दा बढी आलु उत्पादन गर्छ। 

‘माघ सकिन लागिसक्यो खै पानी छैन, के खेती गर्नु र, आलु त जसोतसो रोपियो पानी नपरेपछि अब माटामै सुक्ने तर्खरमा छ,’ शैलुङका किसान विशाल श्रेष्ठले गुनासो गरे। ‘सेपिलो बारीमा त ठीकै छ तर पारिलो जग्गामा पानी परेन भने आलु उत्पादन घट्ने पक्का छ,’ उनले भने। शैलुङका अधिकांश किसानहरूले व्यावसायिक आलु खेती गर्छन्। माघ सकिने बेलासम्म पनि हिमपात नहुँदा दोलखाका किसानहरू चिन्तित छन्। पानी पर्ने क्रम घट्न थालेपछि स्थानीय निराश छन्। विगतमा जाडोयाममा हिउँले दोलखाका माथिल्ला डाँडा सबैतिर सेताम्मे देखिन्थे, हिजोआज हिमालमा समेत हिउँ छैन, सेता हिमाल काला बन्दै गएका छन्। 

दोलखाको उच्च भेगमा यतिखेर कठ्याँग्रिने जाडो हुन्थ्यो तर सदरमुकाम चरीकोटमा यतिखेर गर्मी चढिसकेको छ। हिमनदी पग्लने क्रम बढेको छ। वर्षौंदेखि दोलखावासीले जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा भोग्दै आएका छन्। ‘हिउँ परे खेती गर्न सहज हुन्छ। उत्पादन पनि बढ्छ। हिउँले गर्दा आलु, गहुँ, फापरलगायत बाली सप्रिन्छन्।’ किसानले सिँचाइको छुट्टै व्यवस्था गर्न नपर्ने विशालको भनाइ छ।

हिमपात नभएपछि हिमशृंखला कालापत्थर देखिन थालेका छन्। हिउँले सेताम्मे ढाकिनुपर्ने हिमाल हिमपात नहुँदा पग्लिएर नांगिन थालेका छन्। कात्तिक, मंसिरदेखि माघ, फागुनसम्म सेताम्मे देखिनुपर्ने हिमालमा हिमपात हुन नसक्दा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएको छ। जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष रूपमा परेको स्थानीयवासीको भनाइ छ। हिमपात नभएपछि हिमालको हिउँ पग्लिएको छ। हिउँ पग्लिएपछि हिमाल नांगिँदै गएका छन्। पछिल्लो वर्षमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ। मौसम फेरिएर फागुन–चैतमा केही वर्ष अगाडि हिउँ परेको पनि थियो। हिमाली भेगमासमेत हिमपात नभएपछि हिउँ खेल्न आउने पर्यटकहरू पनि घट्ने चिन्ता छ। 

विगतका वर्षमा हिमपात हुनासाथ दोलखा आउने पर्यटक यस वर्ष यतिखेरसम्म आउने वातावरण बनेन होटल व्यवसायी हरि ओलीले बताए। ३–४ वर्षअगाडि मंसिर पहिलो साता नै हिमपात भएपछि हिउँ खेल्नका लागि पर्यटकको उल्लेख्य आगमन हुन्थ्यो सदरमुकाम चरीकोट र कालिञ्चोकका होटलहरू पर्यटकले भरिभराउ हुन्थे। हिउँ नपरेपछि होटल व्यवसायसमेत प्रभावित बनेको छ। ‘हिउँ खेल्न पर्यटक खचाखच हुन्थे, हिमपात नभएपछि सबै होटल सुनसान छन्,’ उनले बताए।

जलवायु परिवर्तनको असर हिमालमा मात्रै होइन, किसान, व्यवसायी, जंगली जनावर फूलहरू, लालीगुराँस, मानव जीवन, चराचुरुंगी सबैमा परेको छ। पानी र हिउँ समयमा पर्दैन। वनका फूल बेमौसममा फुल्न थालेका छन्। यो जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हो। डाँडापाखा यतिबेला सुक्खा रहेका छन्। हिमालमा हिउँ नभएका कारण हिमालहरूको सौन्दर्यता हराउँदै गएको छ। आजभोलि हिउँबिनाको हिमाल उजाड देखिन थालेका स्थानीयहरू बताउँछन्।

सिजनमा हिउँ नपर्दा हिमालहरूको प्राकृतिक सुन्दरता गुम्नुका साथै सेता हिमाल कालापत्थरमा परिणत भएका छन्। बर्सेनि हिउँ कम हुँदै जाँदा कालान्तरमा यसले वनस्पति, जीव जन्तु, चराचुरुंगीलगायत रैथाने बालीहरूको लोभ हुँदै जाने र पर्यटनको क्षेत्रमा नकारात्मक असर गर्न सक्ने अवस्था सिर्जना हुने अवस्था आउन सक्ने पक्का जस्तै छ। 

मानव सिर्जित समस्या जस्तै प्राकृतिक स्रोतको अत्यधिक दोहन, ऊर्जाको अत्यधिक प्रयोग, बढ्दो औद्योगीकरणका साथै डढेलो, भूकम्प, ज्वालामुखीजस्ता प्राकृतिक प्रकोपलगायत कारण भइरहेको जलवायु परिवर्तनले मानव जीवनका हरेक क्षेत्रमा नकारात्मक असर पुगेको छ। मानव सिर्जित समस्या कम गर्न सकिए जलवायु परिवर्तनले पार्ने असर न्यूनीकरण गर्न सकिने सम्भावनाहरू छन्। जलवायु परिवर्तनको यस्तो असरप्रति हामी मानिस आफैं सचेत बन्नुपर्ने अवस्था सिर्जना भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.