अनलाइन ठगीबाट करोडौं विदेशमा, फर्किंदैन कहिल्यै त्यस्तो रकम

अनलाइन ठगीबाट करोडौं विदेशमा, फर्किंदैन कहिल्यै त्यस्तो रकम

काठमाडौं  : कल्पना तामाङ (नाम परिवर्तन) लाई तीन महिनाअघि इन्स्टाग्रामको म्यासेञ्जरमा एउटा सूचना आयो– ‘बधाई छ, तपाईंलाई आइफोन उपहार परेको छ। साथै १ करोडको चिट्ठा पनि परेको छ।’ त्यसपछि उपहारमा परेको आइफोन र नगद १ करोड पठाउन ह्वाटसएपमा कुरा गर्न तामाङलाई आग्रह गरियो। उनले खुसी हुँदै तुरुन्तै ह्वाटसएप नम्बर दिइन्। त्यसपछि ह्वाटसएपमा घण्टी बज्यो र भनियो, ‘अब तपाईंको गिफ्ट पार्सल गर्दै छौं, तर प्लेन भाडा १ लाख रुपैयाँ लाग्छ।’ त्यसपछि उनलाई तुरुन्तै बैंक खातामा पैसा राख्न भन्दै बैंक खाता दिइयो। आइफोन र एक करोड नगद पाउने आशामा रहेकी तामाङले ‘एक लाख के हो र ?’ भन्दै बैंक खातामा पैसा पठाइन्। 

त्यसपछि फेरि, एयरपोर्टमा सामान छिर्न दिइएन, भन्सार तिर्नुपर्ने भयो भन्दै तामाङसँग भन्सार करका लागि २ लाख मागियो। उनले २ लाख पनि बैंक खातामा पठाइन्। त्यसपछि फेरि सामान धेरै देश कटेर आउनुपर्ने भएकाले ठाउँपिच्छे भाडा र भन्सार लाग्ने भयो भनेर उनीसँग रकम माग्न थालियो। तामाङले पनि विदेशबाट पतिले पठाएको पैसा खुरुखुरु पठाइदिन थालिन्। त्यतिले पनि नपुगेपछि साथीसँग सापटी लिएर पैसा पठाउन थालिन्। सबै गरेर २७ लाख रुपैयाँ बुझाइन्। तर, सामान पाइनन्। अन्तिमपटक, उनलाई सामान लिन एयरपोर्ट जानुहोस् भनियो। दिनभर त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा गएर बसिन्। त्यहाँ रहेका प्रहरीलाई सोधिन ‘मेरो सामान विदेशबाट आउँदै छ कसरी लिने ?’ प्रहरीले उनको सबै कुरा सुने। ‘तपाईं ठगिनु भएछ’  भनेपछि उनी छाँगाबाट खसे झैं भइन्। दुःखको कमाइ, खाइनखाइ गरेको बचतदेखि सापटीको पिरले खग्रङ्ग भइन्। प्रहरीको सुझावअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा गएर उजुरी दिइन्।

रामेछापकी ३८ वर्षीया तामाङ (नाम परिवर्तन) डेढ वर्षदेखि काठमाडौंमा बस्न थालेकी हुन्। ७ कक्षासम्म अध्ययन गरेकी तामाङ छोराछोरी पढाउन राजधानीमा बस्न थालेकी हुन्। उनका पति दुबईमा वैदेशिक रोजगारी गर्छन्। तर, ठगको पछि लागेर पतिले पठाएको सबै रकम सिध्याएकी तामाङलाई अब २ छोराछोरीलाई पढाउन पनि धौ–धौ भइरहेको छ।  

यस्तैखाले चिट्ठा परेको भनी ठगिएका ३२ जनाले उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका छन्। ६ महिनामा मात्रै करिब ९८ लाख ३५ हजार रुपैयाँ बराबरको रकम ठगी भएको भन्दै उजुरी परेका छन्। यस्तैखाले प्रलोभनमा फस्दा करिब १ करोड ५२ लाख रुपैयाँ मुलुकबाट बाहिरिएको छ। 

ठगीका रूपहरू बदलिएसँगै सर्वसाधारण मात्र होइन, शिक्षित पनि प्रलोभनमा फस्न थालेका छन्। स्नातकसम्म अध्ययन गरेकी करिब ३० वर्षीया सुनिता बोगटीसमेत सित्तैमा पार्सल आउने लोभमा परेर आफू अचम्मले ठगिएको सुनाउँछिन्। उजुरी दिन उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेकी बोगटीले आफ्नो मोबाइलमा ह्वाटसएपमा भएको संवाद देखाइन। भनिन, सुरुमा त मख्खै पारेर सामान आइनै सक्यो झैं ग¥यो। त्यसैले होला त नि भनेर भन्सार शुल्क ४० हजार रुपैयाँ पठाइदिए। धन्न मेरो धेरै ठग्न पाएन।’ उनको ह्वाटसएपको मेसेजमा शर्मा शिरुनाको नामबाट म्यासेज आएको थियो, ‘म लिभरपुल इंग्ल्यान्डबाट लेनोक्स मुरेबाट नेपाल आएको पार्सलको सम्बन्धमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तपाईंलाई सम्पर्क गर्ने अन्तर्राष्ट्रिय कूटनीतिक एजेन्ट हुँ। नेपालको अन्तर्राष्ट्रिय विमानस्थलका लागि ४०,००० भन्सार कर तिर्नुपर्ने छ तपाईंले भुक्तान गरिसकेपछि हामी तपार्इंको पार्सल तपाईंको घरको ठेगाना, काठमाडौं नेपालमा पु¥याउने छौँ।’ त्यसपछि बोगटीले उक्त पैसा पठाइन्। तर, सामान आएन। त्यसपछि फेरि पैसा माग्न थालेपछि ‘ठगिएछु’ भन्ने महसुस गरिन् र प्रहरीमा उजुरी दिइन्। उनले नेपालमै भएको बैंक खातामा पैसाा पठाएकाले सोहीमार्फत पैसा असुल्न खोज्दैछिन्। खातावाला पनि अनलाइन जागिर गर्ने नेपाली हुन्। 

बैंक, इसेवा, खल्तीको कार्यालयबाट बोलेको भन्दै डाइरेक्ट कल तथा ह्वाट्सएप कलमार्फत सम्पर्क गरेर ठगी गर्नेको संख्या बढेको छ। ‘तपाईंलाई बोनस रकम परेको छ’ तपाईंको मोबाइलमा आएको ओटीपी कोड चाहियो भनी ‘ओटीपी मागेर ई–बैंकिङ सेवा एक्टिभेट गरेर खाताबाट भएको रकम अन्य बैंक, आइएमई पे, इसेवा, खल्तीमा रकम ट्रान्सफर गरी ठगी गर्ने प्रवृत्ति फस्टाएको छ। 

यसरी ठगिने मध्येका एक हुन्, गौरीघाटका किराना व्यवसायी भीमबहादुर श्रेष्ठ (नाम परिवर्तन)। १० कक्षा उत्तीर्ण गरेका ६० वर्षीय उनी अनलाइन ठगीबारे जानकार हुँदाहँुदै पनि अन्ततः आफैं फसेको बताउँछन्। गत पुस २२ गते उनको ह्वाटसएपमा इसेवा कस्टुमर सर्भिस सेन्टर भन्ने नामबाट ‘तपाईंले कारोबार गरेवापत ९६ हजार रुपैयाँ बोनस आएको छ’, भनियो। ‘त्यसपछि भिडियो कल गरियो र अब इसेवा खोलेर हेर्न श्रेष्ठलाई भनियो। श्रेष्ठले मोबाइलमा लक्ष्मी सनराइजएप खोले, त्यतिबेलासम्म उनको पासवर्ड भिडियोबाट ह्याक भइसकेको थियो। ‘आधा घण्टापछि बैंक खातामा भएको २ लाख रुपैयाँ ट्रान्सफर भएको म्यासेज आयो,’ श्रेष्ठले भने, ‘बल्ल पो ह्याकरले ठगेको थाहा भयोे।’ यसबीचमा ह्याकरले ५ वटा बैंकबाट पैसा ट्रान्सफर गरेर विदेश पठाइसकेका थिए। तर, यहाँ  ‘अनलाइन जब’ गर्ने भनेर जसको खातामा ट्रान्सफर गरिएको थियो, प्रहरीले सोही खातावाला मध्य एक जनालाई पक्राउ ग¥यो। पक्राउ परेका व्यक्ति २० हजारको अनलाइन जागिर गर्ने गरेको देखियो। ती व्यक्तिको खाताबाट भने १ लाख विदेश पठाएको देखियो। 

आफ्नो मोबाइल अरूलाई प्रयोग गर्न नदिने, ओटिपी कोड कसैलाई नदिने, बेला–बेला पासवर्ड परिवर्तन गरिरहँदा यस्ता खाले ठगीबाट बच्न सकिन्छ । रामु पौडेल, प्रवक्ता, नेपाल राष्ट्र बैंक

नेपाली नागरिककै दुरुपयोग 

हातहातमा स्मार्ट मोबाइल पुगेसँगै सामाजिक सञ्जालको प्रयोग र अनलाइन कारोबार फस्टाएको छ। तर, यसको सदुपयोगसँगै प्रलोभनमा परेर ठगिनेको संख्या पनि बढ्दै गएको छ। कोही जानेर वा अञ्जानमा प्रलोभनमा पर्दा बर्सेनि करोडौं रुपैयाँ विदेश गइरहेको छ। अनलाइन स्क्यामबाट ठगी भएको पैसा कहिल्यै पनि फिर्ता आउँदैन। 

विदेशबाट अनलाइन स्क्याम गरिरहेका ‘अपराधीहरू’ ले नेपालीलाई लुट्न यहीँका नागरिकलाई दुरुपयोग गरिरहेका छन्। अनलाइन जागिर लगाउने नाममा उनीहरूको बैंक खाता दुरुपयोग गरी ठगीधन्दा गरिरहेका छन्। आर्थिक वर्ष २०७९÷८० मा मात्रै ३५ करोड ८८ लाख २० हजार रुपैयाँ लुटेका थिए। नेपाल प्रहरीको केन्द्रीय कार्यालयको तथ्यांकअनुसार यस्तो ठगीमा नेपाली मात्रै ९ सय ४८ जना पक्राउ परेका थिए। जसमा ५ जना विदेशी पनि पक्राउ गरिएका थिए। 

आव ०८०÷८१ मा ३७ करोड ६९ लाख ४८ हजार रुपैयाँ अनलाइन स्क्यामबाट ठगी गरियो। यस्तो ठगी वर्षकै अन्तरमा ५.०५ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको तुलनामा गत वर्ष ठगिने नेपालीहरू संख्या बढी रह्यो। जसकारण १ करोड ८१ लाख थप रकम मुलुकले गुमायो। उक्त आवमा ठगी गरेको आरोपमा प्रहरीले २ सय २९ जना पक्राउ गरेको थियो। तीमध्ये २५ जना विदेशी थिए। मुलुकभर चालु आवको ५ महिनासम्म (मंसिरसम्म) ६ करोड ५५ लाख २५ हजार रुपैयाँ बराबरको अनलाइन ठगी भइसकेको प्रहरीको रेकर्डमा छ। अनलाइन चोरी गर्ने ९५ जनालाई पक्राउ गरेको छ। पक्राउको आधारमा मात्रै भएको तथ्यांकका कारण अझ कम देखिएको छ। अनलाइन ठगको फन्दामा परेर लाखौं रुपैयाँ गुमाएकाहरूका उजुरीका चाङ प्रहरी कार्यालयमा लागेका छन्। 

नेपाल प्रहरी प्रवक्ता दिनेशकुमार आचार्य छिटो धनि बन्ने लालसाले अधिकांशले आफ्नै पैसा गुमाएको बताउँछन्। उनका अनुसार मुलुकभर ५ महिनामा (पक्राउ परेको आधारमा) अनलाइन बैंकिङ ठगी ४ करोड ८९ लाख, अनलाइन किनमेल ठगी २८ लाख ६७ हजार,  ईसेवा, फोनपे जस्ता अनलाइन भुक्तानी ठगी २ लाख २३ हजार, स्पामबाट ३ लाख, स्क्यामबाट ८७ हजार,  स्पासवेयर र फिजिङ लगायतबाट १ करोड १३ लाख ठगी भएको देखिन्छ। 

लोभमा परेर पैसा डुबाउने र अनलाइन जागिर गर्ने नेपाली दुवै ठगिएका छन् । यस्ताखाले पैसा अहिलेसम्म कत्ति पनि फिर्ता आएको छैन । अंगुरबाबु जोशी, प्रहरी उपरीक्षक, उपत्यका अपराध अनुसन्धान कार्यालय

काठमाडौंमै अधिक, वार्षिक साढे १५ सय उजुरीको चाङ

देशकै राजधानी काठमाडौंमा ठगीका उजुरी पर्ने क्रम बढेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा मात्रै यो आर्थिक वर्षको ६ महिनामा १ हजार ५४ जनाको उजुरी परेको छ। जसमा २४ करोड ५७ लाख ९४ हजार रुपैयाँ बराबरको अनलाइन ठगी भएको छ। काठमाडौंमा मात्रै गत आवमा ३४ करोड ७३ लाख ३० हजार रुपैयाँ ठगी भएको भन्दै १ हजार ६६७ जनाले उजुरी दर्ता गरेका थिए।

आव ०७९÷८० मा १ हजार ४५० जनाले २६ करोड ५६ लाख ७९ हजार रुपैयाँ बराबरको अनलाइन ठगी भएको भन्दै उजुरी दिएका थिए। उजुरी गर्नेको संख्या र रकम पनि ह्वात्तै बढ्दै गएको छ। २–३ वर्षलाई आधार मान्दा वार्षिक औसत साढे १५ सय नेपालीले अनलाइन ठगीमा परेको भन्दै उजुरी दिने गरेका छन्। जस्मा चिठ्ठा परेको भनी ठगी, सामान पार्सल मोबाइल÷ल्यापटप÷क्यामेरा खरिद बिक्री (अनलाइन सपिङ स्क्याम) विज्ञापन राखी ठगी, फेसबुक आइडी ह्याक गरी ठगी, इसेवाको आइडीबाट ठगी, ओटिपी कोड प्रयोग ठगी, वालेट प्रयोग गरी ठगी, अनलाइनमा रोजगारीको विज्ञापन राखी ठगी भएका छन्। 

यसैगरी, सिम डुब्लीकेशन, ह्वाटसएपमा वैदेशिक ठगी, इन्भेष्टमेन्ट स्क्याम, सोसल मिडिया ह्याक गरी ठगी, थर्ड पार्टी कन्ट्रोल एप प्रयोग गरी ठगी, उत्तराधिकारी बनाई ठगी, अनलाइन जब स्क्याम र अन्य यस्ताखालका ठगी बढी मात्रामा भइरहेको टेकु, प्रहरीका इन्स्पेक्टर आशिष अधिकारीले जानकारी दिए। यस्ताखाले उजुरी घट्नेभन्दा दैनिक बढ्ने क्रम रहेको उनी सुनाउँछन्। ‘सामाजिक सञ्जाल इन्स्टाग्राम, ह्वाटसएप, टेलिग्राममार्फत पीडितहरूसँग साथी बनाई कुराकानी गरी अनलाइनमा सुवर्ण रोजगारको अवसर छ भनी टेलिग्राममा जुमिया, अमाजियोन जस्ता विभिन्न नाम गरेका अन अफिसियल लिंक पठाइ विभिन्न ‘अनलाइन जब’ को बहाना पारी विभिन्न टास्कका नाममा लाइक, सब्सक्राइब, सेयर गर्न लगाई थोरै रकम मुनाफाको प्रलोभनमा पारी विभिन्न बैंक तथा वालेटहरूमा रकम पठाउन लगाई ठगी गर्ने प्रवृत्ति बढेको छ,’ इन्स्पेक्टर अधिकारीले भने। 

अनलाइन स्क्यामको रकम नेपाल फर्किंदैन 

कतिपयमा चेतनाको कमी र कतिपयमा छिटो धनी हुन्ने लोभले गर्दा अनलाइनबाट ठगिने गरेका छन। यसबाट बर्सेनि नोक्सानीको आकार बढिरहेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक अंगुबाबु जिसी अनलाइन स्क्यामबाट ठगिएर बाहिरिने पैसा फिर्ता हुनै नसक्ने स्थिति बन्ने गरेको बताउँछन्। ‘ठगीको प्रवृत्ति बदलिरहेको छ। हिजो भौतिक रूपमा बढी हुन्थ्यो भने अहिले डिजिटलमा बढी हुन थालेको छ,’ जिसी भन्छन्, ‘एउटा ठगीबाट मान्छेले थाहा पाउन थाले भने फेरि अर्को प्रकारको ठगी सिर्जना गरेको देखिन्छ। अहिले धेरैलाई अनलाइन जागिर भनेर यहीँका नेपालीलाई काम लगाइदिन्छ र उनीहरूको खाता प्रयोग गरेर पैसा कारोबार गर्न लगाउँछन। लोभमा परेर पैसा डुबाउने र अनलाइन जागिर गर्ने नेपाली दुवै ठगिएका छन्।’ नबुझी जागिर गर्दा अनलाइन जागिर गर्ने नेपालीहरू पनि फसेको जिसी बताउँछन्। ‘विदेशीबाट परिचालित नेपालीहरू पनि फसेका छन, उनले भने, ‘ती विदेशी हाम्रो पहुँचबाहिरका हुन्।’ यस्ताखाले ठगीका कारण नेपालबाट असिमित पैसा बाहिरिरहेको प्रहरी उपरिक्षक जिसी बताउँछन्। उनी भन्छन्, ‘यो हाम्रो पहुँचभन्दा बाहिर छ। यस्तो रकम फिर्ता ल्याउन सम्भव छैन। यस्ताखाले पैसा अहिलेसम्म कत्ति पनि फिर्ता आएको छैन।’

अनलाइन ठगीमा देखिएका प्रवृत्ति

सामाजिक सञ्जाल इन्स्टाग्राम, ह्वाटसएप, टेलिग्राममार्फत साथी बनाउने, कुराकानी गर्ने र अनलाइनमा सुवर्ण रोजगारको अवसर छ भनी टेलिग्राममा जुमिया, अमाजियोन जस्ता विभिन्न नाम गरेका अन अफिसियल लिंक पठाउने गरिन्छ। ‘अनलाइन जागिर’को बहाना बनाएर विभिन्न टास्कका नाममा लाइक, सब्सक्राइब, सेयर गर्न लगाइन्छ। थोरै मुनाफाको प्रलोभनमा पारेर विभिन्न बैंक तथा वालेटहरूमा रकम पठाउन लगाएर अनलाइन ठगी गर्ने प्रवृत्ति बढेको छ। यस्तै, इन्स्टाग्राम, फेसबुकको मार्केट प्लेसमा सस्तो मूल्यमा महँगो मूल्यका सामानहरू क्यामेरा, आइफोन मोबाइलहरूको होम डेलिभरीको सुविधासहित आकर्षक विज्ञापन राखी ग्राहकबर्गलाई लोभ्याइन्छ। एड्भान्स रकम बापतको रकम पठाउन लगाउने र सामान डेलिभरी नगरी विभिन्न धाक धम्की दिने र पटक–पटक रकम पठाउन लगाएर सामानको मूल्यभन्दा बढी रकम असुल गर्ने चलन पनि बढेको छ।  यस्तै,  फेसबुक, ह्वाटसएप, इमो, भाइबरमा केविसीबाट चिट्ठा परेको छ भनी प्रलोभनमा पारी सो चिट्ठा पाउनका लागि ग्राहक शुल्कबापतको रकम तिर्नुपर्छ भनी विभिन्न व्यक्तिको नाममा रकम पठाउन लगाउने गरेको भेटिएको छ। 

फेसबुक, इमो, ह्वाटसएप, भाइबरको माध्यमबाट फ्रेन्ड रिक्वेस्ट पठाइ साथी बनी माया जालमा पार्ने, लोभ, प्रलोभन देखाउने, महँगो मूल्यका सामानहरू (घडी, नेक्लेस, क्यामेरा, कपडा, अमेरकिी डलर) को फोटोसमेत पठाएको छु भनी विश्वास दिलाउने गरिन्छ। यसैगरी केही समयपछि भन्सारबाट कर्मचारी हुँ भनी भारतीय तथा नेपाली हट्सएप नम्बरबाट फोन गरी तपार्इंको सामान भन्सारमा आएको छ. उक्त सामान पाउनका लागि भन्सार कर लाग्ने भयो, त्यसका लागि विभिन्न व्यक्तिहरूको नाममा बैंक, आइएमई, इसेवा, खल्तीलगायत वालेटकोे माध्यमबाट पीडितलाई रकम पठाउन लगाएर ठगी गर्ने प्रवृत्ति बढेको छ। 

फेसबुक आइडी ह्याक गरी प्रोफाइल इतिहास, म्यासेञ्जर संवादको हिस्ट्रिको आधारमा पीडितको नजिकको साथीलाई मेसेज गरी विभिन्न बहाना तथा समस्या देखाइ बैंकको क्यूआर कोड पठाएर विभिन्न व्यक्तिको नाममा रकम पठाउन लगाएर पनि रकम ठगी हुन थालेको छ। सामाजिक सञ्जालहरूबाट मोबाइल नम्बरमा ओटिपी (वन टाइम पासवर्ड) पठाइ ‘तपाईंको खातामा रकम जम्मा भयो वा भएन चेक गर्नका लागि ओटिपी कोड दिनुहोस्’ भनेर कोर्ड नम्बर लिने र पीडितको खाताको रकम अन्य इसेवा, खल्ती, बैंक खातामा रकम ट्रान्सफर गरी ठगी हुने गरेका छन्। 

उच्च सतर्कता अपनाउन राष्ट्र बैंकको सुझाव

कोभिड–१९ पछि अनलाइन भुक्तानीका प्रयोगकर्ताहरू हात्तै बढे। हाल भुक्तानी सेवा प्रदायक एजेन्ट मात्रै १७ हजार ५ सय ६३ छन्। बैंक तथा वित्तीय संस्थामा खाता खोलेर बैंकिङ कारोबार गर्ने संख्या पनि बढ्दो छ। यससँगै हरेक कारोबारमा इसेवा, खल्ती, फोन पे, आइएमई पेलगायतका विद्युतीय वालेट प्रयोकर्ताहरूको खाता गतअसारसम्ममा २ करोड ३४ लाख ६१ हजार १ सय ७ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ। ती खाताबाट गत वर्ष मात्रै  ३० खर्ब २६ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

यसैगरी कनेक्ट आइपीएसका प्रयोगकर्ता संख्या १२ लाख ७६ हजार ८ सय ८६ छन्। गत आर्थिक वर्ष आइपीएसबाट  २८ हजार १ सय ३२ पटकको कारोबारमा कुल २४ खर्ब ५९ अर्ब रुपैयाँ पैसा र कनेक्ट आइपीएसबाट ७५ हजार ५ सय ९७ पटकमा ५६ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको ट्रान्जेक्सन भएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को तथ्यांकमा उल्लेख छ। यसैगरी क्यू आर कोडको प्रयोगबाट गत आव मात्रै ४ खर्ब ९९ अर्ब ७९ करोड ५० लाख रुपैयाँको कारोबार भयो। यसैगरी गत आवमा बैंक तथा वित्तीय संस्थाहरूको मोबाइल बैंकिङबाट २ करोड ४६ लाख, इन्टरनेट बैंकिङबाट १९ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

अनलाइन कारोबारबाट ठगीएको ग्राहकहरूको गुनासो राष्ट्र बैंकमा पनि पुग्ने गरेका छन। वित्तिय अपराध हुन नदिन डिजिटल बैंकिङको सेवा दिने बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई फ्रडहरूबाट जोगिन आफ्ना ग्राहकहरू र सेवा प्रदायकहरूलाई विशेष नीति तथा सतर्कता अपनाउन राष्ट्र बैंकले निर्देशन दिइरहेको बैंकका प्रवक्ता रामु पौडेल बताउँछन्। उनकाअनुसार सेवाग्राहीले डिजिटल सुविधा लिँदा नै सचेत गराउने, सम्बन्धित सुचनाहरू वेबसाइड र एपहरूमा अनिवार्य राख्न भनिएको छ। ‘ग्राहकहरूले सकेसम्म मोबाइल बैंकिङ, वालेटहरू चलाउँदा बैंकको खातासँग लिंक गरेर चलाउनु भएन,’ उनि भन्छन्,‘क्यूआर, इसेवा खल्ती जस्ता वालेटबाट र कनेक्ट आइपीएसबाट भुक्तानी गर्दा प्रत्यक्ष बैंकको खाता जोडनु हुँदैन। केही गरी ठगी भइहाले पनि त्यही कारोबार मात्रै हुनसक्छ। तर, खाता लिंक नगर्दा बैंक खाता ह्याक हुनबाट बच्छ र सुरक्षित हुन्छ।,’  हरेकले आफ्नो मोबाइल अरूलाई प्रयोग गर्न नदिने, ओटिपी कोड कसैलाई नदिने, बेला बेला पासवर्ड परिवर्तन गरिरहँदा यस्ता खाले ठगीबाट बच्न सकिने प्रवक्ता पौडेलले सुझाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.