तिहारमा सम्भावित अपराधप्रति सचेत हुन प्रहरीको आग्रह

तिहारमा सम्भावित अपराधप्रति सचेत हुन प्रहरीको आग्रह

विराटनगर : हिन्दु धर्मावलम्बीहरूको महान एवं रमाइलो पर्व तिहार सुरु भएको छ। पर्वलाई हर्षोल्लास र मनोरञ्जनपूर्ण बनाउन प्रहरीले सबैमा आह्वान गरेको छ। 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले चाडपर्वमा रमाइलो गर्नेतिर व्यस्त हुँदा आपराधिक घटना पनि हुनसक्छन् भन्नेतर्फ सचेत बन्न आग्रह गरेको छ। ‘तिहारलाई हर्षोल्लासपूर्ण र मनोरञ्जनपूर्ण रूपमा मनाऔं। चाडपर्वमा हुनसक्ने सम्भावित अपराधप्रति सचेत बनौं,’ कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले भने। पर्वलाई विकृतिजन्य हिसाबले दूषित बनाउने अवाञ्छित गतिविधि रोक्नेतर्फ सबैको ध्यान जान जरुरी रहेको उनको भनाइ छ। 

तिहारमा देउसी भैलो खेलेर रमाइलो गर्नेतर्फ व्यस्त हुँदा चोरी, लुटपाट, डकैतीलगायतका घटना गराउने समूहले ‘दाउ’ छोपिरहेको हुनसक्नेतर्फ सचेत हुनपर्ने खापुङ बताउँछन्। देउसी भैलोको नाममा हुने विकृति र विसंगतिप्रति भने प्रहरीले सबैलाई सचेत गराएको छ। सम्भावित अपराध हुन नदिन ध्यान पुर्याउनुपर्नेमा प्रहरीको जोड छ। 

‘सबैतिरको झिलिमिली र देउसी भैलोले तिहारलाई रमाइलो बनाउने हो। तर, जुवा, तास, डाइसलगायत कानुनद्वारा बर्जित खेलहरू खेल्ने र खेलाउने पनि उत्तिकै सक्रिय हुन्छन्। कानुनले प्रतिबन्ध लगाएका खेलहरू नियन्त्रणमा लिइरहेका छौं,’ खापुङले भने। उनले सौहार्दपूर्ण हिसाबले मनाउँदा चाडपर्वको अलग्गै महत्व हुने बताए। ‘तिहारमा रमाइलो गर्ने हाम्रो संस्कार हो। देउसी भैलो खेल्ने गरिन्छ,’ उनी भन्छन्, ‘रमाइलो हिसाबले तिहार मनाउनुपर्छ। कुनै पनि अपराधिक गतिविधि हुन दिन हुँदैन।’ 

देउसी भैलोका लागि कुनै समयसीमा नराखिएको डीआईजी खापुङ बताउँछन्। ‘रमाइलो हिसाबले रातभर खेल्दा हुन्छ। प्रहरीले सकेसम्म शान्ति सुरक्षा प्रदान गर्छ,’ उनी भन्छन्, ‘कतै स्थानीय समस्याका कारण प्रशासनले समयसीमा दिएको हुन्छ। त्यसलाई चैं पालना गरौं।’ 
खापुङले तिहारलाई मनोरञ्जनपूर्ण बनाउन र सम्भावित अपराधिक घटना रोक्न प्रहरी सक्रियता बढाइएको जानकारी दिए। ‘नियमितभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षा व्यवस्था मजवुत बनाएका छौं,’ उनले भने, ‘गस्ती र पेट्रोलिङ बढाइएको छ। ढुक्क भएर तिहार मनाउन सबैमा अनुरोध गर्छौं।’ 

डीआईजी खापुङ मौलिक परम्परा र संस्कार जोगाउने पर्वका हिसाबले तिहारलाई उल्लासमय बनाउनुपर्ने बताउँछन्। उनले पटका पड्काउने, जुवा तास, डाइस (लंगुर, बुर्जा) खेल्नेलगायतका कानुनविपरीतका गतिविधि गर्नेहरूको सूचना प्रहरीलाई गोप्य रूपमा उपलब्ध गराउन आग्रह गरेका छन्। 

कानुनविपरीतका गतिविधिको गोप्य सूचना दिँदा नियन्त्रणमा लिन सजिलो हुने र निर्धक्क भएर चाडपर्व मनाउने वातावरण बन्ने डीआईजी खापुङ बताउँछन्। लागुऔषध नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको उनको भनाइ छ। साथै, सार्वजनिक सवारीसाधनदेखि सार्वजनिकस्थल र अपराध हुनसक्ने सम्भावित ठाउँहरूमा आकस्मिक चेकजाँचको व्यवस्थासमेत मिलाइएको खापुङले बताए। 

‘पटकाको आवाजले ध्वानि प्रदूषण बढाउँछ। दीर्घरोगीहरूलाई असर गर्छ,’ उनले भने, ‘आतसबाजी कानुनविपरीत हो। सबैतिर निगरानी बढाएर कडाइ गरिएको छ।’ पटकाले त्रासदीपूर्ण परिस्थिति निम्त्याउनुका साथै आगलागीको जोखिमसमेत हुने उनले बताए। घरघरमा दीपावली गर्दा आगलागीको जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन प्रहरीले सबैमा अनुरोध गरेको छ। ‘आफैं सुरक्षा सतर्कता अपनाउनुपर्छ। जोखिम कम गरौं, चाडपर्वलाई मर्यादित, मनोरञ्जनपूर्ण र भव्य बनाऔं,’ खापुङले भने। 

डीआईजी खापुङले महत्वपूर्ण चाडपर्वलाई लक्षित गरेर कोशी प्रदेशको सुरक्षा व्यवस्था मजबुत पारिएको बताए। उनका अनुसार ठाउँठाउँमा ठूलो संख्यामा हतियारसहितका तथा सादा पोसाकका नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ। चाडपर्वलाई मर्यादित, व्यवस्थित, सुरक्षित र हर्षोल्लासपूर्ण बनाउनेतर्फ सुरक्षा निकायको ध्यान केन्द्रित रहेको उनको भनाइ छ। 

उनका अनुसार धेरै भिडभाड हुने ठाउँ, व्यापारिक प्रतिष्ठान, उद्योग कलकारखाना, मठमन्दिर, धार्मिकस्थल, वित्तीय संस्था, सुनचाँदी पसल, एटीएम बुथ, पसलहरू, बैंक तथा वित्तिय संस्था एवं आर्थिक गतिविधी बढी हुने ठाउँ र सरकारी तथा गैरसरकारी कार्यालयको २४ घण्टा नै निगरानी भइरहेको छ। अपराधिक पृष्ठभूमिका र शंकास्पद व्यक्तिहरूमाथि प्रहरीले ‘वाच’ गरिरहेको छ। 

सार्वजनिक सवारीसाधनमा यात्रुको सुरक्षा र सहजतामा ध्यान दिनेदेखि उश्रृङ्खल गतिविधि गर्ने, मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने लगायतमाथि कडाइ गरिएको खापुङ बताउँछन्। अपराध हुने सम्भावित स्थानमा प्रहरी उपस्थित बाक्लो बनाइएको छ। चाडपर्वलाई केन्द्रित गरेर प्रहरीसँग भएका सम्पूर्ण जनशक्ति तथा स्रोत साधनको परिचालन गरिएको डीआईजी खापुङले बताए। ‘विकृतिजन्यदेखि अपराधिक घटना नियन्त्रणका लागि प्रहरी सचेत छ,’ उनले भने। 

चाडपर्वलाई अपराधरहित बनाउन आमनागरिकले समेत सुरक्षा निकायलाई सहयोग गर्नुपर्ने उनले बताए। चाडपर्वमा हुनसक्ने चोरी, लुटपाटदेखि ठगी, मादक पदार्थ सेवन (मापसे)बाट हुने झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव नियन्त्रण, यातायातको सहज उपलब्धता, ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागुऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रणमा प्रहरी सक्रिय भएर लागेको डीआईजी खापुङको भनाइ छ। 

मोरङमा देउसी भैलो खेल्नेले अनुमति लिनुपर्ने 

मोरङमा स्थानीय प्रशासनको अनुमति लिएर मात्रै संस्थागत देउसी भैलो खेल्न पाइने भएको छ। रातको समयमा देउसी भैलो खेल्नेले प्रशासनको अनुमति लिनुपर्ने भएको हो। मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले अनुमति बिना राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने बताए। ‘संस्थागत रुपमा खेलिने देउसी र भैलोका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ,’ उनले भने, ‘अनुमति बिना खेल्न पाइँदैन।’

भट्टराईका अनुसार संस्थागत र समूहगत देउसी भैलो खेल्न अनुमति लिनैपर्ने तथा अनुकूल अवस्था हेरेर प्रशासनले निर्णय गर्ने छ। जिल्ला सुरक्षा समितिको बैठक बसेर नै यो विषयमा निर्णय गरिने उनले बताए। उनका अनुसार बजार, पसल तथा भिडभाड बढी हुने स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ। ‘सादा पोसाकदेखि हतियार र पोसाकसहित नेपाल एवं सशस्त्र प्रहरी परिचालन गरिएको छ,’ भट्टराईले भने, ‘गस्ती र पेट्रोलिङ बढाइएको छ।’

ठाउँ विशेष र परिस्थिति अनुसार नेपाल एवं सशस्त्र प्रहरीले निगरानी बढाइरहेको प्रजिअ भट्टराई बताउँछन्। ‘नागरिकको सुरक्षा र सहयोगका लागि प्रशासन सधैं तयार छ,’ उनी भन्छन्, ‘तिहारमा देउसी भैलो खेल्ने नाममा चोरी, लुटपाट एवं डकैतीका घटनासमेत हुनसक्नेतर्फ सबै सचेत हुनुपर्छ।’ 

आगलागीको सम्भावित जोखिमलाई ध्यानमा राखेर वारुणयन्त्र (दमकल) तथा सुरक्षाकर्मीसहितका जनशक्तिलाई २४ घण्टा नै तयारी अवस्थामा राखिएको उनले बताए। ‘सम्भावित क्षति रोक्न ‘पुलिस फोर्स’ पनि ‘अपडेट’ भएर बसेको हुन्छ। सुरक्षा दस्ता तयारी अवस्थामा रहन्छ,’ उनले भने, ‘कुनै उश्रृङ्खल गतिविधि भएमा तत्काल नियन्त्रणमा लिने रणनीति छ। कानुनले निषेध गरेका गतिविधि गर्न हुँदैन।’ 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.