पाल्पाली झिनियाँ रोटी लोकप्रिय बन्दै, तिहारमा माग बढ्यो
तानसेन : तिहार आगमसँगै पाल्पामा झिनियाँ रोटीको व्यापार फष्टाउँदै गएको छ । तानसेनका हरेक गल्ली-गल्ली,पसल-पसलमा राखिएका रङ्गी विरङ्गी झिनियाँ रोटी सबैको मन लोभ्याउने गरेको छ । तिहारमा रोटीको परिकारलाई शोभायमान बनाउन झिनियाँ रोटी मिसाउने प्रचलन बढेको हो ।
तिहारको आगमनसँगै तानसेन, रामपुरलगायत नेवारी बस्तीमा झिनियाँ रोटीले ढाकेको छ । पाल्पाका ग्रामिण भेगदेखि बजारसम्म झिनियाँ रोटी खरिद बिक्री गर्नेहरूको भिडभाड बढेको छ । तानसेनमा तीजपछि झिनियाँ रोटीको मुख्य सिजन हो ।
तानसेन टक्सारका अधिकांश परिवारको आयस्रोत नै झिनियाँ रोटी भएको छ । 'झिनियाँ रोटी बनाउन सके बजारको कुनै समस्या छैन घर घर बाटै बिक्री हुँदै आएको झिनियाँ रोटी उद्योगी तानसेन टक्सारका सुरेन्द्र श्रेष्ठले बताए । उद्योगी श्रेष्ठले वार्षिक रुपमा पाँचदेखि सात लाखसम्मको झिनियाँ रोटी बिक्री गर्दै आएका छन् ।
पाल्पाको तानसेन, रामपुर, ताहुँ, सराईलगायतका अधिकांश नेवारी बस्तीमा झिनियाँ रोटी बनाउने स-साना घरेलु उद्योहरू नै सञ्चालनमा रहेका छन । विविध प्रकारका रोटीको परिकार खाने पर्वको रुपमा मनाइने तिहारमा घरघरमा झिनियाँ रोटी नपाके परिकार नै अपुरो हुने उपभोक्ता बताउँछन्।
नेवारी समुदायमा मात्र बढि चलन चल्तीमा रहेको झिनियाँ टोटी आजकल अन्य समुदायमा पनि लोकप्रिय बन्दै गएको छ । राम्रो, रङ्गी विरङ्गी, पकाउन पनि सजिलो, सबैले रुचाउने भएकाले तिहारमा झिनियाँ रोटी किन्दै आएको तानसेन नगरपालिका वडा नम्बर ४ का उपभोक्ता धुव्र कालिकोटाले बताए ।
पाल्पाका बजारमा एक दर्जन झिनिया रोटीको एक सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्मका बिक्री हुँदै आएको छ । झिनियाँ रोटीकै कारण पाल्पाका करिब २ सय घरपरिवारले घरमै बसीबसी रोजगारी पाएका छन् । तानसेनको टक्सार, मखनटोल, भगवतीटोललगायतका नेवारी बस्तीका अधिकाशं महिलाको आम्दानी स्रोत नै झिनियाँ रोटी बनेको छ ।
भिनियाँ रोटी बनाएर एक परिवारले वार्षिक २ लाखदेखि ७ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । पाल्पामा बनाएको झिनियाँ रोटी बुटवल,नारापणगढ,पोखरा,काठमाडौंसम्म बिक्री हुँदै आएको छ ।