थारू कल्याणकारिणी सभा अघि बढाउने हो भने ...

थारू कल्याणकारिणी सभा अघि बढाउने हो भने ...

राणा शासनकालमै स्वीकृति पाएर पञ्चायत, बहुदल हुँदै अहिलेको संघीय लोकतान्त्रिक व्यवस्थामा समेत आफ्नो अस्तित्व कायम राख्न सफल भएको थियो, थारू कल्याणकारिणी सभा । जसले आफूलाई समयअनुसार कतिको परिवर्तन र परिमार्जन गर्न सक्यो ? आम समुदायमा प्रश्न उठ्नु स्वाभाविकै हो । लोकतान्त्रिक मूल्य, मान्यतालाई यसले कतिको पालना गरेको छ ? संसारमा सभ्यताको अग्रदूत, कर्तव्यनिष्ठ, इमान्दारको रूपमा छुट्टै पहिचान बनाएको थारू समुदायको यो संस्थाका पदाधिकारीले यस मूल्यलाई कायम राखेको छ कि छैन ? 

२००५ सालमा स्थापना भएको भनिए पनि संस्था दर्ता ऐन, २०३४ अनुसार दर्ता भई मान्यता पाएको यो संस्था नेपालको संविधान, ऐन, नियम र आफ्नै विधानको पालना गरेको छ कि छैन ? विधानले अंगीकार गरेको उद्देश्यअनुरूप कतिको काम गर्न सफल भएको छ ? यो संस्थालाई उदाहरणको रूपमा लिएपछि स्थापित अन्य संस्थाहरू सक्षम भइरहेको अवस्थामा यसले के गरिरहेको छ ? मंसिर पहिलो साता हुन गइरहेको २३औं अधिवेशनको पूर्वसन्ध्यामा आम समुदायको मनमा प्रश्न खडा भएको छ ।

कुनै पनि संस्था आफैंमा एक कानुनी व्यक्ति हो । उसले प्राकृतिक व्यक्ति सरहको कानुनी हैसियत र सक्षमता प्राप्त गरेको हुन्छ । थारू कल्याणकारिणी सभाको विधानमा ११ परिच्छेद, ३ अनुसूची र ६३ वटा दफा छ । पटक–पटक संशोधन भएको विधान पछिल्लोपटक २०७६ भदौ २९ मा संशोधन भएको देखिन्छ । तर, यसले समयसापेक्ष संघीयताको मर्मलाई अँगाल्न सकेको देखिँदैन । विधानको दफा–१० ले केन्द्रीय सभाको व्यवस्था गरेको छ । जसअनुसार कार्यसमितिका पदाधिकारीहरू, जिल्ला सभापतिहरू, जिल्लाका केन्द्रीय प्रतिनिधिहरू, सम्मानित सदस्यता प्राप्त गरको व्यक्ति, प्रत्येक विदेश शाखाबाट दुई/दुई जनाको दरले प्रतिनिधि, प्रत्येक भ्रातृ सभाका दुई/दुई जनाको दरले प्रतिनिधि रहने व्यवस्था गरेको छ । यसको यकिन संख्या थाकसको अभिलेखमा छैन । तर, कम्तीमा पनि १ सय ९० जना हुनुपर्ने देखिन्छ ।

विधानको दफा–१३ मा केन्द्रीय कार्यसमिति गठनको कुरा छ, जसमा अध्यक्षदेखि कोषाध्यक्षसम्म १० जना, सदस्यका लागि उपत्यकामा ३ जना र अन्य जिल्लाको हकमा २ जना तथा १ लाखदेखि ३ लाखसम्म जनसंख्या भएको जिल्लामा थप १ अर्थात् दाङ र बर्दिया बाट ३/३ जना र कैलालीबाट ४ जना केन्द्रीय कार्यकारी सदस्य रहने प्रावधान छ । त्यस्तै अध्यक्षले थप १५ जना मनोनीत गर्ने व्यवस्था पनि गरेको छ । केन्द्रीय कार्यसमितिमा ६७ जना रहने देखिन्छ । विधानको दफा १३.१(क) मा सभाको कार्य सञ्चालन गर्नका लागि महाधिवेशनबाट देहायबमोजिमको पदमा निर्वाचित गरी निम्नानुसारको केन्द्रीय कार्यसमिति गठन हुनेछ भन्ने उल्लेख छ, जसमा अध्यक्षसहित १० जना रहेको छ भने यही दफा–१३(२) (ख) मा सञ्चालन समितिको व्यवस्था गरेको छ ।

थारू कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिको दैनिक कार्य सञ्चालनको लागि १३ जनामा नबढाई एउटा सञ्चालन समिति रहने व्यवस्था छ, जसमा माथिको कार्यसञ्चालन समितिमा अध्यक्षले थप तीन जना मनोनीत गरी १३ पुर्‍याएको छ । सञ्चालन समितिको काम, कर्तव्य, अधिकार केन्द्रीय समिति सरह हुनेछ । अब कुन दफालाई अधिकारिक मान्ने केन्द्रीय कार्यसमिति कि सञ्चालन समिति ? दुवैमा उही व्यक्तिहरू छन् । दुवैमा दैनिक कार्य सञ्चालनका लागि भनिएको छ । एउटामा १० जना छ भने अर्कोमा १३ जना छ । यसले पनि केही अन्योलता सिर्जना गरेको छ । मुख्यकुरा, केन्द्रीय सभाको बैठक प्रत्येक वर्ष एक पटक बस्नेछ भन्ने उल्लेख छ । हालसम्म कतिपटक बस्यो पदाधिकारीहरूलाई सोध्यो भने सहजै जवाफ पाउन मुस्किल छ ।

विधानको दफा–४९ (१) केन्द्रीय कार्यसमिति वा जिल्ला कार्यसमितिमा कमसेकम एक कार्यकाल सेवा नगरी केन्द्रीय पार्षद र केन्द्रीय कार्यसमितिको सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवार हुन पाइने छैन भन्ने उल्लेख गरेको छ । समिति, उपसमिति, सल्लाहकार रहेकालाई सेवा गरेको मानिँदैन । जसले गर्दा नयाँ विचार र सिर्जना त्यसै मरेर गइरहेको छ । जसलाई त्याग्नैपर्छ र संशोधन गर्नैपर्छ ।

आवधिक निर्वाचन र स्वायतता संघीय लोकतन्त्रको मूल पक्षहरू हो । २२औं अधिवेशन २०७५ असोज ७, ८ र ९ गते सम्पन्न भएको थियो । विधानको दफा १३(ख)३ केन्द्रीय सभा र केन्द्रीय कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ । पदावधिको अन्त्यमा महाधिवेशन हुनेछ र महाधिवेशनबाट नयाँ कार्यसमितिको गठन हुनेछ भनी स्पष्ट व्यवस्था छ । दफा–५०(२) निर्वाचन सञ्चालन हुन नसकेमा बढीमा एक वर्षसम्म केन्द्रीय कार्यसमितिको कार्यावधि थप भएको मानिनेछ । सो अवधिभित्र अनिवार्यरूपमा निर्वाचन गराउनुपर्ने छ भनी स्पष्ट छ । यो दफाको आधारमा अहिलेको कार्यसमितिको अवधि स्वतः समाप्त भएको छ । 

थाकसको विधानको दफा–४९(३) अध्यक्षले केन्द्रीय कार्यसमितिको अध्यक्षता दुई पदावधिसम्म मात्र गर्न पाउनेछ भन्ने उल्लेख छ भने उपदफा ४९(४) अध्यक्षले केन्द्रीय कार्यसमितिको अध्यक्षता दुई पदावधिसम्म मात्र गर्न पाउनेछ । अन्य पदाधिकारी र कार्यकारी सदस्यहरू सम्बन्धित पदमा तीन कार्यकालभन्दा बढी बस्न पाउने छैन साथै उम्मेदवारी दिन पाउने छैन भन्ने उल्लेख छ । यो हिसाबले अहिलेका पदाधिकारीको पदावधि समाप्त भई सकेका तथा पदावधिको वर्ष जोडे पनि तीन कार्यकाल पूरा गरिसकेकाहरूले फेरि पनि २३औं महाधिवेशनमा उम्मेदवार हुन पाउँछ त ? कतिपयले यो विधान लागू भएपछिको कार्यकालको गणना हुने तर्क गर्दैछ । तर, दफा–६३ मा हालसम्म उक्त सभाद्वारा भएका, गरेका काम कारबाही सबै विधानबमोजिम भए गरेको मानिने छ भन्ने स्पष्ट छ ।

समयमा अधिवेशन गर्न नसक्नेले फेरि पनि केही गर्छु भन्नु आफैंले आफूलाई धोखा दिनु हो । कानुनी र नैतिकरूपमा विवादमा परेको कार्यसमितिले गर्ने महाधिवेशनको निष्पक्षतामा पनि प्रश्न खडा भएको छ । थारू कल्याणकारिणी सभाजिल्ला कार्यसमिति मोरङको विवाद सतहमा आएर अदालतसम्म पुगेको थियो । त्यसपछि भएको निर्वाचन पनि विवादरहित रहेन । थारू कल्याणकारिणी सभा केन्द्रीय कार्य समिति विघटनको माग गर्दै २०८१ साउन १४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता छ भने उच्च अदालत पाटन, ललितपुरमा पनि उक्त सभाविरुद्धमा मुद्दा प्रक्रियागत अवस्थामा छ । यसलाई रोक्न केन्द्रीय कार्यसमितले आफ्नो सफाइ र अरूलाई दोष लगाउनुको साटो आफ्नो कार्यकालको समीक्षा गर्दै असल कामको सुरुआत आफैंबाट गर्ने कानुनी र नैतिक दायित्व आएको छ ।

थाकसलाई बृहत् सुधारक र क्षमतावान् नेतृत्वको खाँचो छ । विधानको उद्देश्यलाई आत्मसाथ गर्दै समयअनुसार परिवर्तन हुन सक्ने शिक्षा र प्रविधिमा जोड दिन सक्ने, आत्मविश्वासी र नेतृत्व गर्न सक्नेलाई मात्र अध्यक्ष तथा अन्य कुनै पदको लागि बल गरौं । पदमा टाँसिहने र पदावधिभर केही गर्न नसक्ने परम्परालाई त्यागौं । थारूको पहिचान कायम राखौं, कानुनी र नैतिक दायित्व पूरा गरौं ।
(चौधरी, अधिवक्ता हुन् ।)

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.