पूर्वसभामुख ढुंगानाको सम्मानमा कांग्रेसले दुई दिन झण्डा झुकाउने, भोलि कार्यालय बन्द गर्ने
काठमाडौं : नेपाली कांग्रेसले स्व: दमननाथ ढुंगानाको सम्मानमा आज र भोलि पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पूर्वसभामुख ढुंगानाको सम्मानमा मंगलबार केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको पार्टीको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने निर्णय भएको छ ।
माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रिया ल्याउन सहजकर्ताको रुपमा समेत ढुंगानाले भूमिका खेलेको कांग्रेसले जनाएको छ। ‘नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएका ढुंगाना २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट विजयी भई २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख हुनुहुन्थ्यो । त्यसैगरी उहाँ वि.सं. २०५१ मा काठमाडौं निर्वाचन क्षेत्र नं. २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । नेपाली कांग्रेसको विभिन्न पदमा रहेर उहाँले पार्टीको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।’ शोक वक्तव्यमा भनिएको छ, ‘माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रिया ल्याउन सहजकर्ताको रुपमा समेत उहाँको सक्रिय भूमिका रहेको थियो ।’
मानव अधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि उनले पुर्याउनु भएको योगदान कांग्रेसले स्मरणीय गरिरहने वक्तव्यमा उल्लेख छ । उनको निधनबाट सिंगो देशले वरिष्ठ कानूनविद्, मानव अधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञ गुमाएको उनले बताए। ढुंगानाको हिजो निधन भएको हो।