राष्ट्रिय राजनीति गरिरहेकी छु : पूर्वराष्ट्रपति भण्डारी
विराटनगर : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रिय राजनीतिमा सक्रिय रहेको बताएकी छन्। दलीय नभएर अहिले आफूले राष्ट्रिय राजनीति गरिरहेको उनले बताइन्।
विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रले आवश्यकता महसुस गरेमा दलीय राजनीतिमा पनि आउनसक्ने संकेत गरिन्। राष्ट्रको आवश्यकताले खोजी भएमा दलीय राजनीतिमा पुनः सक्रिय हुने इच्छा भण्डारीले व्यक्त गरेकी हुन्। तर, अहिले नै कुनै दलमा आबद्ध हुने निर्णयमा आफू नपुगेको उनले स्पष्ट पारेकी छन्।
नेकपा (एमाले)को सदस्यता नवीकरण गरेको र दलीय राजनीतिमा सक्रिय रहेको भनेर आएका हल्लाहरू गलत भएको उनको भनाइ छ। भण्डारीलाई दलीय राजनीतिमा फर्कने र एमालेको अध्यक्ष बन्ने प्रयासमा रहे नरहेको भन्दै पत्रकारले बारम्बार प्रश्न गरेका थिए। तर, उनले भने अहिले कुनै दलमा नरहेको र राष्ट्रको आवश्यकताले खोजी भए दलीय राजनीतिमा पुनः फर्कने बताइन्।
‘राष्ट्रपति पद, गैरराजनीतिक पद होइन। राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु। राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षहरूसँग छलफल गरिरहेको छु। शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्तन, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यतालगायतका समस्या समाधानका लागि छलफल चलाइरहेको छु। म सबै राष्ट्रिय दललाई सहयोग गर्छु। खास एजेन्डामा रहेका दललाई सहयोग गर्छु। ती एजेन्डा पूरा गर्न कुनै दलमा आबद्ध हुनुपर्यो भने त्यतिबेला निर्णय गर्ने छु,’ भण्डारीले भन्छिन्। राष्ट्रिय राजनीति नै गरेर यो तहसम्मको जिम्मेवारी पूरा गरेको अवस्थामा नेपाललाई के गर्दा राम्रो हुन्छ भन्नेमा चासो रहने उनको स्पष्टोक्ति छ।
दलीय राजनीतिमा सक्रिय हुँदा एमालेमै जाने संकेत उनको छ। एमालेको भावी अध्यक्षको भूमिका आउन चाहनुभएको हो भन्ने प्रश्नमा भण्डारीले भनिन्, ‘जहाँसम्म दलीय राजनीतिमा लागेर पद जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा मैले अहिले प्रवेश गरेकी छैन। भोलि कुन दलमा काम गर्ने भन्ने कुरा पनि आउँछ। भोलि जाँदा एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यही जानुपर्ने हुन्छ। तर, अहिले यो विषयमा छलफल भएको छैन।’
भण्डारीले मोरङ आफ्नो गृहजिल्ला भएको र विराटनगरबाटै राजनीतिक गतिविधि गरेको बताइन्। ‘यो मेरो पुरानो गृह जिल्ला पनि हो। राजनीति गरेको स्थान हो। पुराना साथी र नयाँ पुस्तासँग पनि भेट हुने भएर म आएको हुँ। यही क्रममा तपाईँहरूसँग पनि भेट्न मन लाग्यो,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्।
उनले मोरङ र सुनसरीमा हुने विभिन्न शैक्षिक कार्यक्रम एवं गतिविधिमा सहभागी हुन आफू आएको जानकारी दिइन्। नेपालको शिक्षा प्रणाली सुधार हुनुपर्छ भनेर आफूले बारम्बार कुरा उठाइरहेको भण्डारीले बताइन्। ‘राजनीतिबाट अछुत कोही हुँदैन। तर, देशको सर्वोपरि हितलाई ध्यानमा राखेर सबैले काम गरौं। देशको स्थायित्व र शान्तिको विषयमा मेरो गहिरो चासो छ। राष्ट्रको हितमा सबै लड्नुपर्छ। यो सबैको दायित्व हो,’ भण्डारीले भनिन्। उनले विराटनगरको बिग होटलमा पार्टीका नेता, महिला नेतृ, युवा तथा विद्यार्थीहरूसँग छुट्टा-छुट्टै भेटघाट गरेकी थिइन्।
भण्डारीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र)को सक्रिय राजनीतिमा आउँदा आफूलाई खुसी लागेको बताएकी छन्। पुनका बारेमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘खुसी लागेको छ। उहाँ युवा हुनुहुन्छ। अनुभव छ। राजनीति गरेर आउनु भएको हो। म राष्ट्रपति र उहाँ उपराष्ट्रपति भएर ७ वर्ष सहकार्य गरेको हो। उहाँलाई मेरो शुभेच्छा छ।’
प्रतिक्रिया दिनुहोस !