अध्यादेशको औचित्य प्रस्ट पार्न कांग्रेस नेतृत्वसँग सांसदहरूको माग
काठमाडौं : नेपाली कांग्रेसका सांसदहरूले अध्यादेशका विषयमा प्रश्न उठाएका छन्। नयाँ बानेश्वरमा जारी कांग्रेस संसदीय दलको बैठकमा उनीहरूले सरकारले ल्याएको अध्यादेशको औचित्यबारे प्रश्न उठाएका हुन्।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बैठकमा १८ जना सांसदहरूले आफ्नो धारणा राखेको बताए। 'उहाँहरूले संसद बैठकमा कांग्रेस कसरी अगाडि बढ्ने?, सरकारले ल्याएको अध्यादेशको औचित्य के हो?, विकास निर्माणका बजेटहरू किन खर्च हुँदैनन्?, लगायतका विषयमा प्रश्न गर्नुभएको छ,' घिमिरेले भने।
कतिपय सांसदहरूले पार्टीको काम कारबाहीका विषयमा पनि प्रश्न गरेका थिए। 'उहाँहरूले मनन गर्नेखालका विषय नै उठाउनुभएको छ। सबैको बोल्ने पालो सकिएपछि शीर्ष नेतृत्वले जवाफ दिनुहुनेछ,' उनले भने।
उनका अनुसार कांग्रेस संसदीय दलको अर्को बैठक माघ १८ गते बिहान ८ बजे बस्नेछ। सोही बैठकमा शीर्ष नेतृत्वले जवाफ दिने उनको भनाइ छ। त्यस्तै प्रमुख सचेतक घिमिरेले सरकार परिवर्तनको विषयमा कसैले प्रश्न नगरेको बताए। 'सरकार परिवर्तनको विषय उठेको छैन। यो हुनेवाला पनि छैन। संसदको बाँकी अवधिसम्म यही सरकार चल्नेछ,' उनले भने।
यसअघि आइतबारको बैठकमा कांग्रेस सांसदहरूलाई तीन जना विज्ञहरूले अध्यादेशका बारेमा ब्रिफिङ गरेका थिए। अध्यादेशको कन्टेन्टका विषय विज्ञहरूले सांसदहरूलाई प्रशिक्षित गरेको कांग्रेसले जनाएको छ। अध्यादेशमा केही त्रुटि छन् कि भन्ने कोणबाट पनि छलफल भइरहेको प्रमुख सचेतक घिमिरेले बताए।
प्रतिक्रिया दिनुहोस !