नेपाली रंगमञ्च देशको संस्कृतिसँग जोडिएको छ

नेपाली रंगमञ्च देशको संस्कृतिसँग जोडिएको छ

क्रिसजोन ह्यानकक अर्थात् ‘सीजे’। नाटक क्षेत्रमा चलेको यौटा नाम। अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित गोल्बर्नमा रहेको लिडर थिएटर कम्पनीमा ‘आर्टिस्टिक डाइरेक्टर’ हुन् उनी। जो ३० वर्ष कार्यरत रहे त्यहाँ। जुन अस्ट्रेलियाको सबैभन्दा लामो समयदेखि सञ्चालनमा रहेको थिएटर कम्पनी हो। औपचारिक रूपमा अवकाश प्राप्त उनी अनौपचारिक रूपमा भने सक्रिय छन् अझै यो उमेरसम्म। ६७ वर्षीय उनी यतिबेला भने चौथो लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय थिएटर महोत्सवका लागि आएका छन्। उनै सीजेसँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले नाटक क्षेत्रबारे गरेकोकुराकानी :

रंगमञ्चमा कहिलेदेखि हुनुहुन्छ ? रंगमञ्च विषय अध्ययन गर्नु भएको हो ? 

मैले अस्ट्रेलियाको सिड्नीस्थित नेशनल इन्स्टिच्युट अफ ड्रामाटिक आर्टस्मा अभिनय सिकें। गोलबर्नमा शिक्षक प्रशिक्षण र योर्क इङ्ल्यान्डमा ड्रामा थेरापीसम्बन्धी प्रशिक्षण लिएको छु।

अस्टेलियामा रंगमञ्चको अवस्था कस्तो छ ? 

अस्ट्रेलियाका हरेक ठूला सहरमा ठूला थिएटर कम्पनीहरू छन्। त्यहाँ थिएटर उत्सवहरू भइरहन्छन्, त्यसैले सामान्य लाग्छन्। सरकारले यस्ता प्रमुख व्यावसायिक कम्पनीहरूलाई समर्थन गर्छ तर सामुदायिक र युवाले सञ्चालन गर्ने थिएटरहरू भने संघर्षरत छन्। बालबालिकाले प्रदर्शन गर्ने नाटकहरू भने विद्यालयहरूमा लोकप्रिय छन्।

तपाईं अभिनेता, निर्देशक, प्रशिक्षकमध्ये कुन चाहिँ बढी हो ? 

जब मैले तालिम लिएँ र प्रदर्शनहरू गरे, तब मैले मेरो जीवनको धेरैजसो समय ‘थिएटर डाइरेक्टर’ भएर काम गरेको छु र निर्देशनमै आनन्द लिएको छु।

हालसम्म कतिवटा नाटकमा काम गर्नु भयो ? नयाँ पुस्तालाई कसरी जोड्नुहुन्छ ? 

मैले अस्ट्रेलियाभरि १ सय ५० भन्दा बढी नाटकहरू निर्देशन गरेको छु। विशेषगरी युवा साथीहरूसँग काम गर्न मन पराउँछु जो आफ्नो सिर्जनशीलता, कला र क्षमता नाटकमार्फत प्रस्तुत गरेर समाज र देशलाई केही दिन चाहन्छन्।

नाटकको मुख्य तत्त्व के हो ? नाटक कसरी बन्छ ? 

सामान्यतया, म स्क्रिप्ट गरिएका नाटक निर्देशन गर्छु। तर मलाई युवाहरूका साथ सिर्जनात्मक नाटक निर्माण गर्न मन पर्छ। यसरी दर्शकलाई रुचि हुने विषयवस्तुहरू अन्वेषण गर्दै आएको छु। मैले अन्तर्राष्ट्रिय महोत्सवहरूमा लिएका धेरैजसो नाटकहरू मौन किसिमका अर्थात् गैर–शाब्दिक हुन्छन्, केही अन्वेषणात्मक हुन्छन्।

नेपाल र नेपालीसँग कसरी जोडिनुभयो ? र नाटक महोत्सवमा नेपाल आउनुभयो ? 

मैले सम्भवत: सन् २०१६ मा पोल्यान्डको एक थिएटर फेस्टिभलमा टंक चौलागाईंलाई भेटेको थिएँ। र हामीले उनलाई सन् २०१९ मा गोल्बर्नमा रहेको हाम्रो लिडर थिएटरमा बालनाटक प्रदर्शन गर्न आमन्त्रित गरेका थियौं। मेरो यो पहिलो नेपाल यात्रा हो र यस वर्ष निम्तो पाएकोमा धेरै उत्साहित छु। लालबालाको यो नाटक महोत्सवमा लिडर थिएटरका अन्य दुई सक्रिय सदस्य ली ग्रे र क्याथी क्याम्पबेल सँगै आएका छन्। ली ‘सिन आर्टिस्ट’ र ‘फ्रन्ट हाउस म्यानेजर’ हुन् भने र क्याथी कलाकार र कम्पनीको बोर्डमा पनि कार्यरत छिन्।

नेपालमा नाटक हेर्नुभयो ? कस्ता लागे ? 

मैले काठमाडौंका दुईवटा विद्यालयमा नाटक कार्यशाला सञ्चालन गरेको छु। पश्चिम नेपालबाट आएर प्रदर्शन गरेको एउटा मात्र स्थानीय नाटक हेरेको छु। बालबालिकाले कथाको विषयवस्तुमा लिएको गम्भीरताबाट म प्रभावित भएको छु। तिनीहरूले राम्रो काम गरेको पाएँ।

अस्टेलियामा मञ्चन हुने नाटक र नेपाली नाटकमा के भिन्नता पाउनुभयो ? 

मलाई लाग्दैन कि यी दुई देशबीच नाटक मञ्चनमा धेरै भिन्नता छ। जताततै बालबालिकाको समान रुचि र सपना पाएको छु। अस्ट्रेलियामा नागरिकको संस्कृतिसँग त्यस्तो गहिरो सम्बन्ध छैन। तर अस्ट्रेलियामा पश्चिमी शैलीका नाटक प्रस्तुत हुन्छन्, जो अंग्रेजी, आयरिस र अमेरिकी परम्पराबाट धेरै प्रभावित छन्। मैले देखेको नेपाली रंगमञ्च देशको संस्कृति र परम्परासँग जोडिएको छ। अहिले अस्ट्रेलियामा चलिरहेको संघर्ष भनेको पहिलो राष्ट्रका मानिसहरूसँग विस्तारै सावधानीपूर्वक जोडिने र सम्मानपूर्वक सम्बन्ध स्थापित गर्नु हो। यसले हामीलाई देशभित्रका अनुभव र विविध संस्कृति साझा गर्न सक्षम बनाउँदै मेलमिलापलाई अघि बढाउन सहयोग गरेको छ।

हाम्रा बालबालिकालाई निमन्त्रणा दिएर अस्टे«लियास्थित आफ्नो थिएटरमा बोलाउनु भएको थियो ? त्यो तारतम्य कसरी मिलाउनु भयो ? 

टंकसँग मेरो पोल्यान्डमा भेट भएपछि हामी निरन्तर सम्पर्कमा रह्यौं र दुवैलाई उपयुक्त समय मिलाएर नेपालबाट अस्ट्रेलिया आउने योजना बनायौं। हाम्रो कम्पनीले काठमाडौंको एउटा समूहलाई एक हप्तासम्म गोल्बर्नमा स्वागत गर्‍यो। त्यहाँ हामीले एकअर्काका लागि प्रस्तुतिहरू गर्‍यौं। एकअर्काका लागि कार्यशालाहरू चलायौं। अस्ट्रेलियन बुस चिडियाखाना र राष्ट्रिय राजधानी क्यानबेरामा गएर क्यानबेरा युथ थिएटर र टुग्गेरानोंगको चिल्ड्रेन थिएटरका बालबालिकासँग कार्यशालाहरू गर्‍यौं। हाम्रो थिएटरका सदस्यहरूले उक्त भ्रमणको व्यवस्थापन गरे। यो कार्यक्रमका लागि कुनै सरकारी सहयोग थिएन।

तपाईंले नेपाली विद्यार्थीलाई के सिकाउनुभयो जुन उनीहरूले नेपालमा पाउँदैनथे ? 

प्रत्येक थिएटर निर्देशकको आफ्नै शैली हुन्छ। म स्कटल्यान्डको एडिनबर्गका बस्तीहरू र अस्ट्रेलियाको उत्तरी क्षेत्रमा आदिवासी समुदायहरूसँग काम गर्दा धेरै प्रभावित भएको छु। मलाई जीवन्त अभिनय र स्पष्ट उद्देश्य भएका नाटक मन पर्छन्। मैले विगतका अनुभवहरूबाट सिकेका वा विकास गरेका थिएटर खेलहरू खेल्दै खेलाउँदै आएको छु।

जीवन नाटक हो भन्छन्। हो ? जीवन र नाटकमा के समानता छन् र के भिन्नता ? 

हाहाहा ! मलाई पनि लाग्छ, सारा जीवन एउटा नाटक हो। चुनौतीहरूले भरिएको एउटा साहसिक यात्रा हो जीवन जहाँ अनौठा पात्रहरू हुन्छन्। जन्म, प्रेम र मृत्यु दुवै हो जीवन। किनकि मलाई नाटकमा जस्तै मेरो जीवन पनि यस्तै लाग्छ। कहिलेकाहीँ हामी अभिनेता हुन्छौं, कहिलेकाहीँ दर्शक। कहिलेकाहीँ लाग्छ, हामी मानिस जीवनरूपी पानीजहाजलाई अघि बढाउनेहरू हौं, जहाँ सामुद्रिक छालहरूसँग हरपल संघर्ष गरिरहनुपर्छ। मलाई यो अराजकतामा बग्न र अन्त्यसम्म ‘क्रुज’जस्तै छालमा सवार हुन मन पर्छ।

एउटा नाटकलाई जीवित बनाउन के आवश्यक छ ? 

उत्साह। स्पष्टता। उद्देश्य र दर्शकसँगको सम्बन्ध।

तपाईंको लिडर थिएटरसँग कस्तो सम्बन्ध छ ? तपाईंले ३० वर्षसम्म कलात्मक निर्देशकको रूपमा सेवा गरेर अवकाश लिनुभयो। अब के गर्ने योजना छ ? 

म अवकाश लिन तयार थिइनँ। तर, कोभिड–१९ र परिवारको जिम्मेवारीले विगत चार वर्षमा मेरो ऊर्जा अन्यत्रै मोडिदिएको छ। म थिएटरबाट टाढा भएकै छैन, अहिले फेरि नाटकप्रति आफ्नो माया पुन: जीवन्त गराउँदैछु।

तपाईं कुन प्रविधिसँग नजिक हुनुहुन्छ ? त्यो प्रविधि कसरी स्थापना भयो ? तपाईंले आफ्नो गुरुहरूको नाम लिनु परे कसलाई लिने ? 

मैले धेरै निर्देशकहरूसँग काम गरेको छु, जसलाई मेरो कामले असाध्यै प्रभावित पारेका छन्। ती सबै मेरा गुरु हुन्। ड्रामा स्कुलमा हामीले स्टानिस्लाभस्की प्रविधि अध्ययन गर्‍यौं। तर अहिले धेरै प्रविधि बजारमा छन्, जसबाट म प्रभावित भइरहेको छु।

के थिएटर पेसागत छ ? थिएटरबाट राम्रो जीविका चलाउन सम्भव छ ? अस्ट्रेलियामा कलाका लागि राज्यको भूमिका के छ ? 

यो कठिन प्रश्न हो। हो, मलाई विश्वास छ कि थिएटर पेसागत हो तर यसबाट जीविका चलाउन कठिन छ। थिएटर जनसमुदायको महत्त्वपूर्ण हिस्सा हो। यो सबै मानिसको स्वास्थ्य र कल्याणका लागि अभिन्न छ। तर पनि सरकारहरूले खासै बुझ्न सकेका छैनन्। विशेषगरी अस्ट्रेलियामा खेलकुदलाई धेरै समर्थन गरिन्छ। लिडर थिएटरले स्थानीय सरकारबाट थोरै आर्थिक सहयोग पाउँछ तर राज्यबाट भने खासै केही पाउँदैन।

अन्तमा, तपाईंको नेपाल र नेपालीप्रतिको बुझाइ कस्तो रह्यो ? नेपाली रंगमञ्चका लागि के सुझाव दिन चाहनुहुन्छ ? 

नेपालमा आउनुअघि मैले नेपालबारे थोरै मात्र थाहा पाएको थिएँ। न त कुनै नेपाली नाटक नै हेरेको थिएँ। तपाईंहरूको समृद्ध संस्कृति र कला अनि परम्परालाई नाटकहरूले प्रतिविम्बित गरेका छन्। जसबाट उत्सव मनाउन र अनुभव साटासाट गर्नका लागि धेरै प्रेरणा मिल्छ। नेपालका लागि नाटक ऐनाको रूपमा वा परिवर्तनका लागि हतियार बन्न सक्छ। मेरो बुझाइमा नाटक विगतसँग जोडिन र भविष्यका सपनाहरू देख्न महत्त्वपूर्ण माध्यम हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.