गीत भनेका गंगा हुन्, बगिरहन्छन्

कुमाउको झगडी जग्गा गैझा गैझा डोटी
माथिको ऐतिहासिक देउडा गीतले नेपालको महाकाली नदी पारिको नेपाली भूमिको स्मरण गराएको छ। १८औं शताब्दीमा पश्चिमको सतलजदेखि देहरादुनसम्मको भूभाग नेपालको अधीनमा थियो। काजी अमरसिंह थापा चार हजारभन्दा बढी नेपाली सेनाको कमान्डर गर्दै अंग्रेजहरूका विरुद्ध नालागढ, रामगढ, विलासपुर, जोरजोरे आर्कीमा बसेर नेपाली भूमिको रक्षा गर्दै थिए। उता इस्ट इन्डिया कम्पनीका तर्फबाट अग्रज सेनापति जेलेस्पी, अक्टर लोनी नेपाली सेनामाथि आक्रमण गर्दै थिए। जैथकको युद्धमा नेपाली सेनाले तत्कालीन अंग्रेज सेनालाई हराएर वीरताको इतिहास रचेको कुरा बालचन्द्र शर्माको ‘नेपालको ऐतिहासिक रूपरेखा’ नामक पुस्तकमा उल्लेख छ।
तर त्यसबेलाको इतिहास यतिले मात्र पुग्दैन। अमरसिंह थापा, जसपाऊ थापा, रणजोसिंह थापाले थोरै संख्यामा नेपाली सेनाको कमान्डर गरे। नेपाली भूमिको रक्षा गरेका भक्ति थापाले लड्दालड्दै वीरगति प्राप्त गरे। देहरादुनदेखि सतलजसम्मको भूभाग गुमेपछि अंग्रेज फौजसम्मको सन्धिपत्रमा बाध्य भएर हस्ताक्षर गरे। त्यसबेला अमरसिंह थापा निकै दुःखित भएको, नालापानीको युद्धमा असंख्य नेपाली सेनाले वीरगति प्राप्त गरेको, अक्टर लोनीसँग धेरैपटक भूमिसम्बन्धी वार्ता भएको कुरा इतिहासमा छ। ई.सं. १८१५–१८१६ सम्म भएको त्यो युद्धमा तत्कालीन नेपाल दरबारले सुदूरका भूमि बचाउन लागिपरेका अमरसिंह थापाका सेनालाई सहायता नगर्दा १५ मे १८१५ ई.सं.मा अल्मोडाको पतन र बम शाहको आत्मसमर्पणपछि अंग्रेज फौजसँगको सन्धिपत्रमा हस्ताक्षर गर्नु परेको ऐतिहासिक वर्णन पनि सोही पुस्तकमा छ।
त्यहाँका राजा रजवारहरूबीच कुमाउको जग्गासम्बन्धी झगडा भइरहने हुँदा त्यसबेला कुमाउ गडवालको जग्गासम्बन्धी फैसला डोटी राज्यले गथ्र्यो। डोटी आफैंमा प्रशासनिक र न्यायिक क्षेत्रको भरपर्दो राज्य थियो। त्यसबेला डोटीलाई ‘देवाटनी’ भनिन्थ्यो भनेर प्रा.डा. जयराज पन्त बताउनुहुन्थ्यो। जसको चार वर्षपहिले जिप दुर्घटनामा परी डोटीमा दुःखद् निधन भयो।
अमरसिंह भक्ति थापा नेपालका वीर
सुगौली सन्धिले पाण्यो नेपालीलाई पीर।
१८१६ मा भएको सुगौली सन्धिले नेपाल राष्ट्र खुम्चिन पुग्यो। राजदरबारको आन्तरिक झगडाका कारण सेनामा मनोबल उच्च हुन सकेन। गीर्वाणुयुद्धविक्रम शाह र भीमसेन थापाको प्रधानमन्त्रीत्वकालमा भएको सो सन्धि नेपालको हितमा छैन भन्ने साहसी व्यक्ति हुन् अमरसिंह थापा। जसको सम्झनामा डँडेलधुरामा अमरगढी नगरपालिका नाम राखिएको हो। नेपाली सेनाले जसको सुरक्षा दिएको छ। सुगौली सन्धिका कारण २÷३ भाग गुमाउनु परेको यथार्थ इतिहासविद्हरू बताउँछन्। कुमाउ, गढवाल, देहरादुनजस्ता उर्वरभूमि नेपालको अधिनमा थियो। हालसम्म पनि देहरादुनमा नेपालीहरू नेपालको प्राचीन संस्कृति चाडपर्व दसैं, तिहार र गौरापर्व आदि मनाइरहन्छन्।
क्या राम्णा धान फल्न्या फाँट हाम्रा देहरादुन
म बोल्छु नेपाली भाषा साईको भाषा कुन् ?
एकजना देहरादुन निवासी साहित्यप्रेमीले (जसको पुख्र्यौली घर डँडेलधुरामा रहेछ) २०५० सालमा सोधेको गीति प्रश्न हो यो। नेपालको सीमाभित्र बस्न नपाउँदा अव्यक्त पीडा छ, प्रवासी नेपालीलाई। संसारका धेरै मुलुकमा छरिएर रहेका नेपाली नेपालको नाम लिँदा पनि हुरुक्क हुन्छन्। परदेशी तिनको पीडा छचल्किन्छ आँखामा। अझ भारतको उत्तराखण्डमा बसोबास गर्ने हजारांै नेपाली समुदायलाई बढी पीडा छ। नागरिकता भारतको छ, बोली नेपालको छ, संस्कृति र सभ्यता गाउँघरको छ। राष्ट्रियता भारतको भएता पनि आत्मीयता नेपालको छ। १८औं शताब्दीमा पुर्खाले मातृभूमिका लागि लडेका वीरगाथा सम्झँदा र पुर्खाहरूले रणभूमिमा वीरगति पाउँदाको क्षण सम्झेर कतिपय देहरादुनवासी नेपालीको मनमा गाँठो परेको पाइन्छ।
सोर भन्नु पिथौरागढ मण्डी टनकपुर
म भन्या परदेश लाग्या क्या छ हजुर सूर ?
वारि दार्चुला, पारि धार्चुला बीचमा महाकाली नदी। यसैगरी वारि बैतडी पारि पिथौरागढ। सम्बन्धको न्यानोपनलाई दुवै देशका नागरिकले बचाएका छन्। बिहेबारी पुर्खौदेखि चलिआएको छ। संस्कृति सभ्यता पनि एकनासको देखिन्छ। भौगोलिक सीमाले छेक्न सक्दो रहेनछ गाढा सम्बन्धलाई। दुई देशका यी क्षेत्रका नागरिकबीच। तर राजनीतिक सीमा विवाद र चुच्चे नक्साको पीर मानिरहेछन् केही संस्कृतिप्रेमी। दार्चुलापारिका नेपाली बस्तीहरू नाभी, कुती र गुन्जीवासीहरूको पीर पनि उस्तै छ। कुतीबासी केही सौकाहरू व्यापारको सिलसिलामा बझाङको सदरमुकाम चैनपुर आएर बसेको ६० वर्षभन्दा बढी भयो। यद्यपि उनीहरू आफूलाई ‘ब्यासी’ भन्न रुचाउँछन्। दसैंको पूर्णिमामा लाग्ने विशाल मेला ‘शिलदेवीको जातमा’ खेलिने भारी खेल देउडामा रमाउँछन्। बझांगी भाषा बोल्छन्। तर पीडा पोख्छन् हाम्रो नागरिकता भारतको छ भनेर।
शिवजी शिवका थान जोगी बस्या ध्यान
एकै सूर्य घाम् ताप्दा छौं भिट् हुँदैन क्यान ?
अव्यक्त पीडाको गीत हो यो माथिको। जुन गीत ऐतिहासिक मात्र नभएर समय प्रधान पनि छ। जन्म भयो नेपाली भूभागमा तर जीविकोपार्जनका लागि बस्नु पर्यो भारतको भूखण्डमा। कुमाउ, गढवालका लोककलाकारहरू नेपाली भूमिमा गाइने देउडा गीत राम्ररी बुझ्छन्। देउडागीतको छनक जस्तै कुमाउनी गीतहरू गाउँछन्। भाषिकामा केही फरकपन जस्तो देखिए तापनि प्रयोग देउडागीतको झैं देखिन्छ। देउडा गायनका केही नयाँ पिँढीले पनि कुमाउनी गीतको प्रयोग भिœयाउन खोजेको देखिन्छ। गीतहरू मर्यादित छन्, कर्णप्रिय पनि छन्। तर देउडा गायकगायिका र कुमाउनी गडवाली गीत गाउने कलाकारका बीच सांगीतिक भलाकुसारी हुन सकेको छैन। जुन आवश्यक पनि छ। नालापानी, जैथक, अलमोडामा पुर्खाहरूको बलिदानीपूर्ण संघर्षका गीतहरू गाउन बाँकी छ। कुमाउनी र गडवाली गीतसँग सेती, महाकाली, कर्णाली र भेरीमा गाउँदै आएका मौलिक देउडा गीतबीच आत्मीय सम्बन्ध जोड्न पनि बाँकी नै छ। गीत गंगा हुन्, बगिरहन्छन्।
बैतडीका पल्ला कुना गिर्खेलन्या गणो
साई होईझाऊ पालौरी साग मै उडन्या चणो।
महाकाली नदी पारिको गिर खेल्न्या (हकी खेल) गणो र सेती महाकालीका ठूला चौरहरूमा दसैं तिहार, बिसुपर्व र गौरपर्वमा खेलिने देउडाका भारी खेलका बीच गरिनुपर्ने चर्चा बाँकी नै छ। साथै साईको (प्रेमिका) र चणो (चरा) का बीचको वार्तालाप आगामी दिनमा गरिनु जरुरी देखिन्छ।
प्रतिक्रिया दिनुहोस !
