जनस्वास्थ्यको शत्रु प्रदूषण

जनस्वास्थ्यको शत्रु प्रदूषण
सांकेतिक तस्बिर।
सुन्नुहोस्

भारतमा तिहारको बेला उच्च अदालतदेखि सर्वोच्च अदालतसम्मको निर्देशनलाई बेवास्ता गर्दै राजधानी र छेउछाउका सबै उपनगरका जनताले पनि पटाका फालेको परिणाम हो, दिल्लीको वायु प्रदूषण। पछिल्लो दशक यस्तै विविध लापरबाहीले विषाक्त बन्न पुग्यो छिमेकी देशको वातावरण। दिल्लीको वायु गुणस्तर सूचकांक आनन्द विहार वरपर ७ सय १४ अंक छोएको थियो। यो अहिलेसम्मकै सबैभन्दा प्रदूषित स्तर हो। डब्ल्यूएचओका अनुसार सन्तोषजनक हावाको गुणस्तरको सूचकांक ० देखि ५० सम्म हुनुपर्छ। ५० देखि १०० सम्मको हावा गुणस्तरको स्कोरलाई सहनयोग्य मानिन्छ, जसमा माथिका सबै वर्ग लगातार खतरनाक, गम्भीर र धेरै गम्भीर हुन्छन्, मानिन्छन्। विशेषगरी, शरद ऋतुसँगै बाली भिœयाउने याम पनि सुरु हुन्छ। खेतमा काटिएको पराल नष्ट गर्न आगो लगाइन्छ, जसबाट विषालु धुवाँ वातावरणमा फैलन्छ। यसरी निस्कने धुवाँ वायुमण्डलमा मिसिन्छ र ओजोन तहलाई पातलो बनाउँछ। ओजोन तह पातलो हुँदा र सूर्यको विकीरण पृथ्वीमा पर्दा यसले सबै जीवित प्राणी र प्रकृतिलाई असर गर्छ। प्रदूषण रोक्नुको सट्टा विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघ मिलेर यसलाई न्यूनीकरण गर्न लागिपरेका छन्। भारतमात्र होइन, यस्तै विविध कर्मका कारण नेपालमा पनि पछिल्लो समय वातावरणमा नकारात्मक परिवर्तन देखिएको छ।

विश्व स्वास्थ्य संगठनले वायु प्रदूषण र बाल स्वास्थ्यसम्बन्धी ‘वायु प्रदूषण र बाल स्वास्थ्य स्प्रिस्क्राइबिङ क्लिन एयर’ शीर्षकमा जारी गरेको प्रतिवेदनअनुसार विश्वभर १५ वर्षमुनिका करिब ९३ प्रतिशत बालबालिकाले हरेक दिन प्रदूषित हावामा सास फेर्छन्। हो, प्रदूषित हावाले बालबालिकाको स्वास्थ्य र विकासमा गम्भीर असर गर्छ। जसकारण यस अवस्थामा धेरै बालबालिकाको मृत्यु हुने गरेको छ। विश्व स्वास्थ्य संगठनले सन् २०१८ मा प्रदूषित हावाका कारण हुने संक्रमणबाट ६ लाख बालबालिकाको मृत्यु भएको अनुमान गरेको छ। रिपोर्टका अनुसार गर्भवती महिला प्रदूषित हावाको सम्पर्कमा आएमा समयपूर्व बच्चा जन्माउने सम्भावना बढ्छ। यसरी जन्मेको बच्चा सानो हुन्छ र जन्मको समयमा बच्चाको तौल कम हुन्छ। वायु प्रदूषणले मस्तिष्कको विकास र संज्ञानात्मक क्षमतालाई पनि असर गर्छ। साथै, यस्तो अवस्थामा उमेर बढ्दै जाँदा ‘बालहुड क्यान्सर’ र मुटु रोगको जोखिम बढ्दै जान्छ।

प्रदूषित हावाले लाखौं बालबालिकाका लागि विष छरिरहेको छ। वायु प्रदूषणबाट प्रभावित बालबालिका कमजोर हुनुका साथै युवावस्थादेखि नै अनेक समस्या सामना गर्न बाध्य हुन्छन्। नवजात शिशुहरू र ठूला बालबालिका पनि भित्री वायु प्रदूषणको लागि बढी संवेदनशील हुन्छन्। खासगरी गाउँघरमा दाउरामा खाना पकाउने, तताउने, प्रकाश र अन्य प्रदूषित इन्धन र प्रविधिहरू नियमित रूपमा प्रयोग हुने ठाउँमा बालबालिका प्रभावित हुन्छन्। वायु प्रदूषणले मस्तिष्कको विकासलाई असर गर्छ, जसले गर्दा बालबालिकाको संज्ञानात्मक क्षमता गुम्ने गर्छ। त्यसैले, यसले बालबालिकाको मानसिक र शारीरिक अवस्थालाई नकारात्मक असर गर्छ।

पाँच वर्षमुनिका सबै बालबालिकामध्ये ९८ प्रतिशत न्यून र मध्यम आय भएका देशहरूमा बस्छन्। तुलनात्मक रूपमा, उच्च आय भएका देशहरूमा, पाँच वर्ष मुनिका ५२ प्रतिशत बालबालिका विश्व स्वास्थ्य संगठनको मापदण्ड २.५ भन्दा बढी कणिक पदार्थको स्तरमा बस्छन्। सन् २०१८ को तथ्यांकले भन्छ, उक्त वर्ष वातावरणीय र घरेलु प्रदूषणको संयुक्त प्रभावले १५ वर्षमुनिका बालबालिकामा लगभग ६ लाख मृत्युका लागि जिम्मेवार मानिन्छ। न्यून र मध्यम आय भएका देशहरूमा, खाना पकाउने घरभित्रको वायु प्रदूषण र बाहिरी वायु प्रदूषणले पाँच वर्षमुनिका बालबालिकामा ५० प्रतिशतभन्दा बढी श्वासप्रश्वास संक्रमण हुने गर्छ। वायु प्रदूषण बाल स्वास्थ्यका लागि प्रमुख खतरामध्ये एक मानिन्छ, पाँच वर्षमुनिका बालबालिकामध्ये १० मध्ये एकको मृत्यु वायु प्रदूषणको कारणले हुने गरेको छ।

बालबालिकाको स्वास्थ्य र सुरक्षा प्रवद्र्धन गर्न विश्व स्वास्थ्य संगठनको विश्वव्यापी वायु गुणस्तर दिशानिर्देशहरू प्राप्त गर्न सबै देशले काम गर्नुपर्छ। यो हासिल गर्न सरकारहरूले विश्वव्यापी ऊर्जाको रूपमा जीवाश्म इन्धनमा अति निर्भरता कम गर्न, ऊर्जा दक्षता सुधार गर्न र ऊर्जा स्रोतहरूमा संक्रमणलाई सहज बनाउन उपायहरूमा भर पर्नुपर्छ। फोहोरमैलाको राम्रोसँग व्यवस्थापन भएमा समुदायले जलाउने फोहोरको मात्रा कम हुन्छ। घरमा खाना पकाउन, तताउन र प्रकाशका लागि सफा इन्धनको विशेष प्रयोगले घरभित्र र वरपरको हावाको गुणस्तरमा धेरै हदसम्म सुधार गर्न सक्छ। बालबालिकालाई प्रदूषित हावाबाट बचाउने सबै कदम चाल्नुपर्छ। जस्तैः विद्यालय, खेलमैदान, व्यस्त सडक, राजमार्ग र वायु प्रदूषणका प्रमुख स्रोत भएका विद्युत् संयन्त्रलाई टाढा राख्नुपर्छ।

बालबालिकामा वायु प्रदूषणका प्रमुख असर फोक्सोको विकासमा बाधा, फोक्सोको काममा कमी, श्वासप्रश्वासमा संक्रमण, मानसिक तथा शारीरिक विकासमा अवरोध, कम तौल, समयपूर्व जन्म, शिशुको मृत्यु र बाल्यकालमा हुने क्यान्सर हुन्। साथै, वयस्कको रूपमा, हृदय रोग, मधुमेह र पक्षाघातको जोखिम हुनसक्छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१६ मा बाह्य एवं घरेलु प्रदूषणका कारण पाँच वर्षभन्दा कम उमेरका पाँच लाख ४३ हजार र १५ वर्ष आयुका ५२ हजार बालबालिकाको मृत्यु भयो। बालबालिका समाजका भविष्य भएकाले तिनलाई जोगाउनु र तिनैमा लगानी गर्नु आजको आवश्यकता हो।

सामूहिक एवं समन्वित प्रयासको माध्यमबाट वैज्ञानिक र स्वास्थ्य विशेषज्ञले यस जोखिमलाई प्राथमिकताका रूपमा समाधान गर्न एक साथ उभिनुपर्छ। प्रत्येक दिन प्रदूषित वायुको सम्पर्कमा आउने लाखौं बालबालिकालाई बचाउन तत्काल सही दिशामा यथोचित कदम उठाउनु पर्नेछ। प्रदूषणको स्तर यथास्थितिमा रहिरहे भोलि के कस्तो स्थिति सिर्जना होला ? हाम्रो कल्पनाभन्दा परको कुरा प¥यो। भनिन्छ, हिजो बाँचेका थियौं, त्यसैले आज छौं। आज बाँच्यौं भने मात्र भोलिका लागि बाँचिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.