समाज जुरुक्क पार्ने देउडा

संस्कृति/संगीत

समाज जुरुक्क पार्ने देउडा

गीतमा धनराज जोशीले कतै गम्भीर विषय उठान गर्छन् त कतै समाजमा शोषकहरूले गरिबलाई दिएका दु: खका गोप्य कुराहरू बाहिर ल्याउँछन्।

केवल गायनमा मात्र सीमित देउडा गीतलाई विश्वव्यापीकरण गर्ने उद्देश्यले पछिल्लो अवस्थामा केही सर्जकले पुस्तक प्रकाशित गरी पाठकलाई भरपर्दो खुराक दिइरहेछन्। यसमा स्व. धनराज जोशी अग्रपंक्तिमा आउने स्रष्टा हुन्। उनले सुदूरपश्चिम र कर्णालीलाई लोकसंगीत र लेखनीमार्फत सो समाजलाई जुरुक्कै उचाल्ने प्रयत्न गरेका छन्। अझ गाउँका शब्द र लयलाई अंग्रेजी भाषामा उल्थागरी अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित गराउनु आफैंमा अनुकरणीय छ ।

देउडामा देखिएका भाव पक्षको गहिराइमा डुबेर सजिलै पाठकबीच जोशी सफल बनेका छन्। जसमा केटाकेटी पक्षबीचको सवालजवाफ उत्कृष्ट लाग्छ। कुनै बेला देउडा गीत भन्नेबित्तिकै रातिको बेला आफन्तजनले थाहा नपाउनेगरी गाउँबाट टाढाको चौरमा खेलिन्थ्यो। पछि विस्तारै केटाकेटीबीचको प्रेम बढेसँगै र समयले परिवर्तन चाहेपछि त वर्तमानमा खुल्ला रूपमा देउडा खेल खेलिन्छ। यी कुराको बेलिबिस्तार लेखेर उनले गुन लगाए। देउडा प्रेमका गीत पनि हुन मिलन र बिछोडका गीत पनि हुन्। यिनै कुरालाई बेलिविस्तार गर्दै प्रेमलाई उनले यसरी उतारेका छन् : 
भैंसीचर्दा घाणो बज्दो रन्बनै थर्काउन्या ।

को होली बाबुकी छोरी भाग्यो मन फर्काउन्या ।।
देउडागीत सवालजवाफमा पनि रोचक बन्ने हुँदा गीतकार धनराजले यिनै कुरालाई केन्द्रित पार्दै केटीका तर्फबाट भने :  
लोग्नया माइस क्या हुँदा हुन् जता पनि भाग्दा। 
जै देख्यो सुन्दरी केटी उस्काई पछि लाग्दा ।।

यो गीतलाई अग्रेजीमा पनि उल्थागरी यसरी लेखेका छन्। गाउँमा संस्कृति छ, लुकेको प्राचिन सभ्यता छ। मेची–कालीमा बोलिने १२५ भाषा छन्। विविधताले भरिएको मुलुकका कारण एक व्यक्तिको अनुहार खासगरी अर्को व्यक्तिसँग हुबहु मिल्दैन। किन यस्तो भयो ? जातजातिका कारणले भाषा पनि फरकफरक छन्। तर राष्ट्रिय भाषा एउटै छ, नेपाली भाषा। राष्ट्रिय भाषाको मूलथलो पनि कर्णाली प्रदेश नै हो। कर्णालीको सिन्जा प्रान्त उपत्यकाजस्तै हराभरा र सौन्दर्यपरक छ। त्यहाँको भाषाले आफ्नो पितापुर्खाको लोली–बोली बिर्सेको छैन। ज्ञानको भण्डार छ– नेपाली सभ्यता, संस्कृति अनि बोलिने भाषामा भन्नुहुन्छ विद्वान् लेखक धनराज जोशी ।

गीतमा कतै गम्भीर विषय उठान गर्छन् त कतै समाजमा शोषकहरूले गरिबलाई दिएका दु: खका गोप्य कुराहरू बाहिर ल्याउँछन्। भन्नुहुन्छ, सेती–कालीमा सबैले बुझेकै विषय हो, देउडा संस्कृति, बाहिरका जिज्ञासुलाई यो बढी बुझाउनु प र्‍यो, जसरी गीतका मार्फत नन्दकृष्णले कालीकर्णालीलाई सांस्कृतिक क्षेत्रबाट जुरुक्क उचाले। अब त्यसको आधारमा रही अंग्रेजीमा पनि देउडागीतबारे चर्चा गर्दा भोलिका दिनमा देशबाहिर पनि देउडाले निकै ठूलो चर्चा पाउनेछ ।

विद्वान् गुरु धनराजका विचारसँग सुदूरपश्चिमका मात्र नभएर कर्णालीका र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पनि सहमति जनाउँछन्। अनि देउडालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय संगीतको कडी बनाउनुपर्छ भन्ने मान्यता राख्छन्। ३३ वर्षसम्म विकट बाजुरा जिल्लामा शिक्षासेवा गरेका संस्कृति र समाज सुधारका अगुवा पनि मानिएका स्व. धनराज जोशीको देउडा संस्कृतिसंगै अग्रेजी भाषाको ज्ञानका लागि अतुलनीय कार्य भन्दै सुदूरपश्चिम विश्वविद्यालयका तत्कालीन उपकुलपति डा. अमरराज जोशी पनि सहमति जनाउँछन्। भन्छन्, लेखनी शिल्पीका हिसाबले धनराज जस्तो व्यक्तित्व पाउनु बझाङ्गी धरतीका लागि सौभाग्यको विषय हो। यदि जीवित रहनुभएको भए देउडासम्बन्धी कृति अरू पनि प्रकाशित हुन्थे ।

जिन्दगीको उत्तराद्र्धमा नास्तिक वर्ग पनि एकपटक भगवान्को नाम पनि उच्चारण गर्छन् भन्ने विषयलाई कवि तथा गीतकार धनराजले यसरी पुष्टि गरेका छन् : 
उत्तम पुरुष नरनारायण मन्मा आई बस 
अंग्रेजीमा लेख्न सकूँ देउडा मीठो रस ।
नारदमुनि संवाददाता वेदव्यास हुन सन्त 
देउडा लेख्न सुरु ग र्‍याँ जागिरको अन्त ।।
ओ भगवान् श्री गणेश ! देऊ राम्रो मन 
अंग्रेजीमा देउडा लेख्छु प्रणाम गरिकन ।।

एकपटक साईबाबाको धाम भारतको पुट्टपर्तीमा कवि धनराज पुगेछन्। बाबाको दर्शन पाएपछि आफूलाई भाग्यमानी सम्झँदै आफ्ना भावना गीतमा यसरी उतारेछन् : –
म आइपुग्याँ पुट्टपर्ती बाबा भनी जानी
अवतारको दर्शन पाउन्याँ मै हुँ भाग्यामानी ।

व्यक्ति प्रशंसाका विरोधी मानिएका शिक्षाविद् धनराजले एक ठाउँमा बुद्धत्व प्राप्तिका लागि कर्म शुद्ध हुनुपर्ने बताएका छन् : 
प्रशंसाका ओठभन्दा कर्मठ हात हुन शुद्ध 
जो आफ्नो प्रतिज्ञा राख्छ त्यो हो सच्चा बुद्ध ।

तीसको दशकअघि देउडा गायन र देउडाखेललाई मनोरञ्जनको सामान्य साधनका रूपमा लिइन्थ्यो। अझ गीत गाउने मानिसलाई हेलाँ गरी वादी, भाण शव्दको पगरी लगाइन्थ्यो। अभिभावकले देउडा खेलेको गाएको थाहा पाए राम्रो मान्दैनथिए। अग्रज कलाकार महाशंकर देवकोटा र परिमल स्नेहीले रेडियोमा पुगी देउडा गीत गाउनु आफैंमा क्रान्तिकारी अदम चालेको मानिन्छ। पछिल्लो अवस्थामा गायनमा बाढी नै आएको मानिन्छ। ऐतिहासिक कालखण्डलाई हेर्ने हो भने २०३४ कात्तिक १४ गतेको दिनलाई देउडाको उज्यालो दिनका रूपमा हेर्न सकिन्छ ।

जुनदिन देउडाको झर्रो लय ‘ओ वाज झुम्यौली बाज’ले रेडियो नेपालमा बीजारोपणको रूप पायो। लेखनीका रूपमा फर्केर हेर्दा जुम्लाका गोविन्दप्रसाद पाण्डेले देउडासम्बन्धी पुस्तक लेखेर इतिहासलाई जीवन्त पारे। यसबीचमा देउडासम्बन्धी सरकारी र गैरसरकारी पत्रपत्रिकामा फुटकर लेखरचना धेरै सर्जकबाट लेखिँदै आए, अझै लेखिँदैछन्। तर देउडा गीतलाई लेखनीका हिसाबले बझाङ्गी भाषा, डोटेली भाषा हँुदै अग्रेजी भाषामा समेत उल्था गरी लेखिएको ‘देउडा गाउँदै मीठो, अग्रेजी सिकौं छिटो’ नामक पुस्तक नै पहिलो कृति हो। जुन कृतिभित्र ज्ञान, विज्ञान, भाषा, सद्भाव, प्रेम, सुख–दु: ख, पारिवारिक परिवेश, केटाकेटीबीचका प्रेम, गरिबीका वास्तविक चित्रण, शोषित पीडित जनताका दर्दहरूलाई लेखकले सरल तरिकाले सबैले बुझ्न सक्ने भाषामा उल्लेख गरेका छन् ।

मानौं भोलिका पिँढीका लागि यो पुस्तक देउडा गीतको व्याकरण सरह मानिनेछ। कतै कतै लेखकको पानीको भेल जस्तै गरी रोएका छन्। कतै माघ फागुनको पारिलो घाम भएर उज्यालिएका छन त कतै छोर्याट्टा छोर्याट्टीको मायाजालमा चुर्लुप्पै डुबेका पनि छन्। जुन विषय उठान गर्‍यो, त्यही विषयलाई राम्ररी अन्त्य गर्नु लेखकको सफल शैली मानिन्छ। कतै कतै प्रकृतिको वर्णन गर्दै हराएका कवि कुनै ठाउँमा गरिवीको चित्रण गर्दा अभिभावक भएर जुरुक्क उठेका देखिन्छन्। यसैगरी, देवर भाउजूबीचको हार्दिकता र मातृभूमिमा अबला नारी र अशिक्षित पुरुषले वनजंगलमा ग्वालो जाँदा गाएका गीतहरूको भाषिक र सांस्कृतिक रूपमा संरक्षण गरेको देखेर कवि तथा लेखक ती अवोध प्रकृतिप्रेमीबाट आफूले धेरै ज्ञान लिनुपर्ने बताउँछन् ।

कतै कतै त उनी देवी देवताको कोरो भजन गर्नु ओठहरूबाट मीठा शब्द निकाल्नुभन्दा गरिब, असहाय, अपांगता भएकाहरूलाई पेटभरी खान दिनु नै परोपकारी र धार्मिक कार्य सम्झिन्छन्। जिन्दगी सुख र दु: खको समिश्रण हो। हाँसेर जिउनु सकारात्मक कार्य हो। स्वास्थ्यका लागि असली मार्ग पनि हो। यसै भन्दै देवर भाउज्यूबीचको हार्दिकतालाई रोटी खाँदाको बेला गीतमा यसरी उतार्छन् :
देवर आठ् पाया खाँदैछु वौजु चारौंदो रँदैछु 
क्यै चिनता नगर वौजु म तम्रो छँदैछु। 
वैजु आठ रोटी खाँदो छौं भन्छौ खाई हालन सोल 
साथ दिन्छु भन्छौ ती देवर राम्रै छ कबोल। 

गाउँघरमा काम गर्नाले मानिस बढी खाना खान्छन् भन्ने संकेतको गीत हो माथिको। प्रकृतिको महŒव बुझेर हिमाल र नदीलाई पितामाताको रूपमा दिएको उनको यो गीतले भन्छ : 
हिमालय मेरा पिता सबै नदी माता 
आमा बाबु साक्षात देउता अरू सबै भ्राता। 

आफ्नै देशमा काम गर्नुपर्छ, अरूको देशमा होइन भन्दै गीतमा यसरी देखा पर्छन् उनी :  

अर्काको भूमिको सेवा हुँदैन फलदायी सेवा गर्नु राम्रो हुन्छ आफ्नै भूमिलाई ।

यी र यस्तै कालजयी गीतले उनको गीति उचाइ बढेको छ। चार वर्षपहिले कात्तिकमा आएको बेमौसमी वर्षाद्का कारण बझाङका अन्नका भण्डार मानिएका छान्ना र थलौरामा भीषण बाढी र पहिरो आयो। छान्ना खोलाले धनराजसहित ६ जनाको ज्यान लग्यो। थलारामा पहिरोले १७ जनाले ज्यान गुमाए। खेतीयोग्य जमिन बगरमा परिणत भयो। करोडौंको भौतिक क्षति भयो। कुशल सर्जकको दु: खद् निधन हुँदा कस्लाई पीर पर्दैन र ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.