हिउँको पहाड
हिउँको पहाड नि पग्लेर आयो,
छेउमा पहरा मेरा बाबा, छेउमा पहरा।
घाँस–दाउरा गर्ने नि वन र पाखा,
कोही छैन साथी मेरा बाबा, कोही छैन साथी।
चोयाको डोको नि पाटको नाम्लो,
थाप्लो है माथि नि मेरा बाबा, थाप्लो है माथि नि।
पटुकी कसी नि कम्मरको फेरो,
हँसिया भिरेर मेरा बाबा, हँसिया भिरेर।
मन मेरो त्यसै नि पग्लेर आयो,
यी गौलाई हेरेर मेरा बाबा, यी गौलाई हेरेर।
दूधको धारा नि बर्साइदिने,
यी लक्ष्मी माताको मेरा बाबा, यी लक्ष्मी माताको।
यिनैको सेवा नि गरौंला म पनि,
यै जन्मजातलाई मेरा बाबा, यै जन्मजातलाई।