भ्रष्टाचारको प्रतिरोधी संकथन

भ्रष्टाचारको प्रतिरोधी संकथन
सुन्नुहोस्

आज नेपाली साहित्यको फाँट उर्वर देखिएको छ। यसको धरातल क्रमशः मजबुत बन्दै छ। कृतिको संख्यात्मक उपस्थिति बलियो देखिए पनि गुणात्मक पक्ष भने कमजोर रहेको समीक्षकहरूको टिप्पणी छ। विषयगत विविधताका कोणबाट हेर्दा आजको साहित्य फराकिलो मार्गमा हिँडेको देखिन्छ।

शिल्प, विषय र विचारमध्ये कुन पक्ष साहित्यको धरातल हो ?   के यी सबैको सन्तुलित संयोजनबाट साहित्यको मौलिक आधार निर्माण हुन्छ ? यस्ता प्रश्नहरू साहित्यिक वृत्तमा हिजो पनि थिए र आज पनि चलेकै छन्। आजको साहित्यमा के–कस्ता विषय के–कसरी प्रस्तुत भएका छन् ? यो प्रश्न पनि साहित्यिक वृत्तमा घुमेकै छ।

संख्यालाई आधार मान्दा नेपाली साहित्यका लागि यो समय उर्वर देखिएको छ। समीक्षकहरूले भने यही विषयमाथि गुणका कोणबाट पटक–पटक प्रश्न उठाएका छन्। यी सबैका माझमा विषयगत विविधतालाई आजको साहित्यको विशेषताका रूपमा चिनाउन सकिने अवस्था हामीसित सुरक्षित छ।

राज्यको स्थायी सरकार मानिएको कर्मचारी संयन्त्रको चरित्र केलाउँदै ‘९६ गड्डी’ उपन्यासले पृथक् विषय र विचार उठान गरेको छ। यस कृतिमा नेपाली समाजमा मौलाएको भ्रष्टाचारको अवस्था र त्यसको कारण खोतल्ने प्रयास गरिएको छ। यसमा प्रशासनिक संयन्त्रभित्र विकसित भ्रष्टाचारको संस्कृतिलाई प्रस्ट पारिएको छ। पवित्र उद्देश्य बोकी सपनाका मार्गमा अघि बढ्नेलाई भ्रष्टाचारको जाल थापी कसरी फसाइन्छ भन्ने विषयलाई केन्द्रमा राखी यस उपन्यासको विषयवस्तु संयोजन गरिएको छ। विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट देश निर्माणको दृढ संकल्प बोकी अघि बढेको ‘विज्ञान’ कर्मचारी संयन्त्रको भ्रष्टाचारी संस्कृतिमा तानिनु परेको प्रसंगलाई यस उपन्यासको मूल कथाका रूपमा प्रस्तुत गरिएको छ। उपन्यासमा सामाजिक, आर्थिक, राजनीतिक तथा प्रशासनिक आयामबाट भ्रष्टाचारको प्रवृत्ति र संस्कृति उधिन्ने प्रयत्न गरिएको छ।

किन र कसरी हुन्छ भ्रष्टाचार भन्ने विषय निफन्दै ‘९६ गड्डी’ नेपाली समाजका पृष्ठाधारमा कर्मचारी संयन्त्रको प्रवृत्ति केलाउने प्रयत्नमा घुमेको छ। भ्रष्टाचार उन्मूलनका दिशामा विश्व केन्द्रित भए पनि समाधानको निष्कर्ष भने अप्राप्य नै छ। यस विषयको उत्प्रेरणाको स्रोत के हो ?   एउटा जटिल प्रश्न छ। हाम्रो सामाजिक धरातल र चरित्रले हामीलाई यस दिशामा क्रियाशील हुन उत्प्रेरित गरिरहेको त छैन ?   जतिसुकै असल विचार बोकी राज्य सञ्चालनको जिम्मेवारीमा प्रवेश गरे पनि भ्रष्टहरूको प्रभावबाट मुक्त हुन कठिन छ। भ्रष्टाचार कसरी हुँदै छ ?   किन हुँदै छ ?   यसलाई प्रभाव पार्ने तत्त्व के–के हुन् ?   यसको सञ्जाल कसरी विस्तारित छ ? जस्ता प्रश्नलाई केन्द्रमा राखी प्रस्तुत उपन्यास उत्तरको खोजीमा उत्रिएको छ।

भ्रष्टाचारको ‘लैंगिक प्रभाव’ उपन्यासको अर्को विवेच्य पक्ष हो। भ्रष्टाचारमा नारी सहभागिताको प्रसंग उद्घाटन गरी उपन्यासमा भ्रष्टाचारको कारणमाथि विमर्श गरिएको छ। भ्रष्टाचारको मार्ग निर्माणमा नारीको प्रयोग र भूमिकाका सम्बन्धमा पनि जबाफको खोजी गरिएको छ। भ्रष्टाचारको पृष्ठभूमि निर्माणमा भ्रष्टाचारअघि र पछि नारी प्रयोगको सन्दर्भ उद्घाटन गरी उपन्यासमा नारीको शरीरमाथि भएको राजनीतिलाई नियाल्ने प्रयत्न गरिएको छ। पुरुषको भ्रष्ट आचरण निर्माणमा नारीको भूमिका नै प्रमुख हुने मान्यता प्रस्तुत गरी नारीमाथि प्रश्न उठाइएको छ।

नेपाली समाजको यथार्थ उद्घाटन गर्ने क्रममा लेखकले यस्तो धारणा अघि सारे पनि यो विषय स्रष्टामानसको पितृसत्तात्मक संस्कृतिबाट निर्देशित भएको देखिन्छ। उपन्यासमा भ्रष्टहरूमा विकसित भोगवादी मानसिकताको खोजी गरिएको छ। उनीहरूमा विकसित यस्तो मानसिकताका पृष्ठाधारमा लैंगिक हिंसा मौलाएको छ। भ्रष्टाचारको सञ्जाल अध्ययन र विश्लेषणमा पनि नारी नै प्रयोग भएका छन्। लेखकले नारी कर्मचारीको मनोदशा, परिस्थिति र क्षमता पनि प्रस्तुत गरिदिएको भए भ्रष्टाचारमा नारी र पुरुष उपस्थितिको तुलनात्मक समीक्षा गर्न सजिलो हुने थियो तर त्यसो हुन सकेको छैन।

कर्मचारी संयन्त्रभित्र भ्रष्टाचार कसरी फस्टाउँछ भन्ने विषयको प्रस्तुति यस उपन्यासको सौन्दर्य हो। कर्मचारीहरू दैनिक आवश्यकता पूरा गर्न नसकेर भ्रष्ट भएका हुन् त, भन्ने प्रश्न एकातिर छ भने अर्कातिर आवश्यकताभन्दा बढी भएको रकम उनीहरू कहाँ र कसरी खर्च गर्छन् भन्ने जिज्ञासा छ। यस विषयमा उपन्यासकारको अनुसन्धान पर्याप्त देखिएको छैन। कर्मचारीलाई भ्रष्ट बन्न उत्प्रेरणा जागृत गर्ने पक्षको खोजी गरी साहित्यको सामाजिक उपादेयता प्रस्ट्याए उनले ।

त्यस्तै, युगचेतनाको जागृति यस उपन्यासको शक्ति हो। व्याप्त विकृति–विसंगतिको आलोचना गर्ने सामथ्र्य विकास गर्न उपन्यासकार सक्षम बनेका छन्। कर्मचारी संयन्त्रभित्र भ्रष्टाचार कसरी हुन्छ, स्वच्छ छवि भएको कर्मचारीको भ्रष्टीकरण कसरी हुन्छ जस्ता प्रश्न पृष्ठभूमिमा राखी कर्मचारीलाई सञ्चालन गर्ने दलाल तथा बिचौलिया संस्कृतिमाथि उपन्यासकार बोलेका छन्। उनले ‘दलालको सञ्जाल’ भ्रष्टाचार वृद्धि गर्ने अर्को प्रमुख कारण भएको खुलासा गरेका छन्। दलालद्वारा सञ्चालित कर्मचारी आफ्ना अतिरिक्त आवश्यकता पूर्ति गर्न विभिन्न बार तथा क्लबहरूमा गएको प्रसंगमार्फत उनले भ्रष्टाचारको परिणति सार्वजनिक गरेका छन्।

यसबाट लैंगिक हिंसाका निम्ति निर्मित सकारात्मक वातावरणको अवस्था बोध गर्न सकिन्छ। भ्रष्टाचार राष्ट्र र जनतामाथिको धोका मात्र नभई लैंगिक हिंसाको कारण पनि हो भन्ने निचोडमा उपन्यासकार पुगेका छन्। उनले समाज सिर्जित संस्कृतिका रूपमा भ्रष्टाचारलाई चिनाएका छन्। निम्न वैतनिक धरातलमा रही जीविकोपार्जन गर्नुपर्दा भ्रष्टाचार वृद्धि भएको भन्ने हाम्रो धारणा गलत भएको उनको अभिमत छ। लेखकले सबै कर्मचारी भ्रष्ट नहुने तर्क राखेका छन्।

नेपाली सन्दर्भमा भ्रष्टाचारको अवस्था र प्रवृत्ति सार्वजनिक गर्ने लेखकको अभिप्राय नै प्रस्तुत उपन्यासको संरचनात्मक आधार हो। यसले भ्रष्टाचारमुक्त राष्ट्र निर्माण गर्न कुन–कुन दिशामा के–कसरी अग्रसर हुनुपर्छ भन्ने मार्गचित्र प्रस्तुत गरेको छ। विभिन्न सन्दर्भमा उठिरहने प्रश्न भए पनि भ्रष्टाचारको विषय नेपाली उपन्यासमा भने सोचे जति सम्बोधन भएको पाइँदैन। प्रकाश तिवारीले यस विषयलाई उपन्यासमा उतारी चेतना अभिवृद्धिको सही मार्ग समातेका छन्। यस कृतिमा भ्रष्टाचारको मनोविज्ञान तथा समाजशास्त्र उद्घाटित छ।

उपन्यासका लागि यो एक उपयुक्त विषय भए पनि यसको शिल्प पक्षमा तिवारी खरो उत्रिन सकेका छैनन्। नारीलाई समर्पणवादी कित्तामा धकेल्नु, लैंगिक प्रतिरोधलाई प्रभावपूर्ण ढंगले उठाउन नसक्नु, सहज विषयलाई पनि नाटकीय रूप दिनु, सरस भाषिक विन्यास नहुनु आदि यस कृतिका सीमा बन्न पुगेका छन्। भ्रष्टाचारको प्रक्रिया र परिणाम दुवैमा नारीको शरीरमाथि गरिएको राजनीतिका सन्दर्भमा परम्परागत धारणा प्रकट हुँदा स्रष्टामानसको लैंगिक चेतना दुर्घटित बन्न पुगेको छ। तथापि, विषयगत नवीनता लेखकको औपन्यासिक विशेषता बनेको छ। परिमार्जनीय पक्षमाथि सुदृढ पाइला चाल्न सके नवीन उपन्यासमा चेतनाको पृथक् क्षितिज खुल्ने विषयमा भने कुनै सन्देह छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.