ऐतिहासिक डबली मेलामा खुलेआम ‘जुवा’
भोजपुर : हरेक वर्षको पुस र माघ महिनामा आयोजना हुँदै आएको स्थानीय भोजपुर डबली मेलामा सट्टेबाजी खेलको विकृति बढेको छ। डबली मेलाका नाममा मेला भर्नेभन्दा पनि बढी सट्टेबाजी (डाइस) मा ठूलो मात्रामा पैसाको चलखेल हुने गरेको छ।
भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा चलिरहेको उक्त डबली मेलामा दैनिक लाखौंंको हानथाप हुने उक्त सट्टेबाजीको खेल चलिरहँदा पनि स्थानीय प्रशासनले बेवास्ता गर्दै आएको छ। ऐतिहासिक डबली मेलाको मौलिकता, महŒव र पहिचानविपरीत खुलेआम खेलाइने सट्टेबाजी खेललाई नियमन गर्न प्रशासन नै उदासीन छ।
सार्वजनिक रूपमै लाखौं धनराशिको सट्टेबाजी भइरहेको उक्त विकृति नियन्त्रण गर्ने कुनै पनि नियमनकारी निकायहरू मौन बनेको सरोकारवालाहरू बताउँछन्। सार्वजनिक रूपमा खेलाइने सट्टेबाजी नियमनका लागि मेला आयोजकहरूकै कमजोरी रहेको उनीहरू सुनाउँछन्। ‘डबली मेला भन्यो, डाइस खेलायो, दुनियाँ सर्वसाधारणलाई प्रलोभन देखायो, पैसा लुट्नबाहेक केही जानेन’ स्थानीय शरण राईले भने।
ऐतिहासिक डबली मेलाले परिचित भोजपुरको आफ्नै साख छ। झन्डै पाँच दशकपहिले सुरु भएको भोजपुर डबली मेलामा मानिसहरू रातभर दोहोरी (गाउँले भाकाको जुहारी) गाउने, नाच्ने, स्थानीय अर्गानिक उत्पादन, कृषिमेला, राडीपाखी, मादल, खुकुरीजस्ता स्थानीय सामग्री, विभिन्न जातीय तथा सांस्कृतिक महŒव झल्काउने पहिरन, खानाका स्टलहरू प्रदर्शन हुने गथ्र्यो।
टाढाटाढाबाट मानिसहरू पैदलै हिँडेर सदरमुकाम आउने गर्दथे। तर पछिल्ला वर्षहरूमा भने डबली मेलाको पहिचान जोगाउनेभन्दा पनि विकृतितिर धकेलिरहेको सर्वसाधारण सुनाउँछन्।
‘भोजपुरको डबलीले ख्याति कमाएको ठाउँ हो यो, यसको आफ्नै मौलिक पहिचान छ, तर आजभोलि मेलाका नाममा सार्वजनिक रूपमै मनपरी सट्टेबाजी खेल हुन्छ’ युवा अगुवा दिक्पाल राईले थपे, ‘यस्तो जुवाखाल खेलाएर हाम्रो डबली मेलाको पहिचान जोगिन्छ र ? हाम्रा स्थानीय पहिचान र मौलिकपन खै त ?’
अहिले उक्त डबली मेलामा कहिलेकाहीँ देखाइने छिटफुटका केही सांस्कृतिक कार्यक्रम, साना केटाकेटी खेल्ने खेल र रोटेपिङबाहेक मेलाका अधिकांश स्थानमा लङ्गुरबुर्जासहितका साना सट्टेबाजीका खेलहरू खेलाइएका छन्। विकृतिपूर्ण जुवाखेललाई नियमन गर्न सुझाव दिइएको र सुझावको बेवास्ता गरे दोषीलाई कडा कारबाही पनि गरिने जिल्ला प्रहरी कार्यालय भोजपुरको डीएसपी युवराज तिमल्सिनाले बताए। भने, ‘हामी सट्टेबाजीका सबै खेल बन्द गर्न निर्देशन दिएका छौं, अटेरी गरे हामी खेल खेलाउनेहरूलाई कानुनी कारबाही गर्नेछौं।’
ठूलो धनराशिमा रकम कुम्ल्याउने प्रलोभनले मेला भर्न आउने सोझा सर्वसाधारणहरूको सट्टेबाजी खेलबाट दैनिक १ लाखदेखि १० लाखसम्मको हानथाप हुने गरेको खुलेको छ। सट्टेबाजीमा धनराशि जित्ने जोशले मेला घुम्न आएकाहरू आफ्नो ठूलो धनराशि हारेर मानसिक तनाव बोकेर घर फर्कने गरेका छन्। ठूलो मात्रामा पैसाको हानथाप हुने लंगुरबुर्जा सट्टेबाजी खेल भइरहँदा स्थानीय प्रशासन नै मौन रहेको सरोकारवालाहरू बताउँछन्।