अहिले पार्टीलाई कसरी बलियो बनाऔं, नेतृत्वको होडबाजी नगरौं : कोइराला
दाङ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसभित्र अधिवेशन आउन १ वर्ष बाँकी छँदै अहिले नेतृत्वको होडबाजी चलेको बताएका छन्। दाङमा आइतबार आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पार्टीलाई कसरी बलियो बनाउने भन्दा नेतृत्वको होडबाजी सुरू भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
‘अहिले पार्टीलाई कसरी बलियो भन्ने बेला हो । तर, महाधिवेशन आउन १ वर्ष अगाडि देखिनै नेतृत्वको होडबाजी चलिरहेको छ,´ कोइरालाले भने, पहिला पार्टी संगठन सुदृढ बनाउँ । नेतृत्वका बारेमा महाधिवेशनको बेलामा समय आएपछि छलफल गरौंला । ´ उनले एउटा अधिवेशन सकिएलगत्तै अर्को अधिवेशनको दौडले पार्टी बलियो नहुनेमा जोड दिए ।
महाधिवेशनमा सभापतिमा आफ्नो दाबेदारी रहने भएपनि पार्टीमा छलफल गरेर मात्रै अन्तिम निर्णय गर्ने उनको भनाई छ। `अहिले धेरैले सभापति लड्छु भनिरहेका छन् । उनीहरूको नीति के, कार्यक्रम के ? तपाईहरू उहाँहरूलाई सोध्नुस्,´ नेता कोइरालाले भने,`मलाई सोध्नुहुन्छ भने भन्छु-म चाहन्छु कांग्रेस वीपी कोइरालाको सिद्धान्तका आधारमा अघि बढोस् ।´
त्यस्तै उनले पार्टीभित्र मिसन ०८४ नभई मिसन कांग्रेस रूपान्तरण हुनुपर्ने बताए । वीपी कोइराको मन्त्रीपरिषद्मा ०१५ सालमा एसियामै पहिलो पटक महिला मन्त्री बनाएको, शिक्षा,स्वास्थ्य, विकास धेरै सुधारका काम भएको भन्दै उनले ७ दशकभन्दा लामो ईतिहास भएको पार्टीको अहिलेको अवस्था चित्तबुझ्दो नभएको धारणा राखे।