नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकियो
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका विचौलिया भनिएका बेचन झाले सर्वोच्च अदालतमा दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सु्नुवाइ सकिएको छ। बिहीबार दायर भएको रिटमाथि आज न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइ सकिएको हो। सुनुवाइ सकिएकाले अब उनलाई पुर्पक्षका लागि थुनामै राखिराख्ने कि थुनामुक्त गर्ने भन्ने आदेश आउनेछ।
झा हाल कारागार कार्यालय जगन्नाथदेवलमा छन्।
उनले गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय , उच्च अदालत पाटन , काठमाडौं जिल्ला अदालत , उच्च सरकारी वकीलको कार्यालय , जिल्ला सरकारी वकीलको कार्यालय , प्रहरी प्रधान कार्यालय , केन्द्रीय अनुसन्धान व्यूरो लाजिम्पाट ।र कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंलाई प्रतिवादी बनाउँदै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका छन्।
जिल्ला अदालत काठमाडौंले गत भदौ २ पुर्पक्षका लागि थुनामा पठाएपछि उनी उच्च अदालत पाटन पुगेका थिए। उच्चले पनि जिल्लाकै आदेश सदर गरिदिएपछि उनी सर्वोच्च पुगेका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त झा गत असार १४ गते पक्राउ परेका थिए। उनलाई नेपाल भारत सीमा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।
शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट झाले दुई करोडको चेक बुझेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनीविरुद्ध ठगी,लिखित कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसूरमा मुद्दा दायर भएको छ।