एमबीबीएस प्रकरण : अनिल पोखरेलविरुद्ध ठगी मुद्दा दर्ता

विराटनगर : एमबीबीएसमा नाम निकालिदिने भन्दै ठगी गरेको आरोप लागेका मोरङको रंगेली नगरपालिका-२ घर भइ काठमाडौंमा बस्ने ४३ वर्षीय अनिलकुमार पोखरेलविरुद्ध मुद्दा दर्ता भएको छ।
अनिल संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव हुन्। अनिलविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार ठगी मुद्दा दर्ता भएको हो। प्रहरीले अनुसन्धान सकेर मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि त्यसका आधारमा सरकारी वकिलको कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै उनलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।
ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता र सोही बराबरको बिगो मागदाबी गर्दै वकिल कार्यालयले अनिलविरुद्ध मुद्दा दर्ता गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। अनिल गत पुस २५ गते पक्राउ परेका हुन्। प्रहरीले १२ दिनमै अनुसन्धान सकेर मंगलबार वकिल कार्यालयमा मिसिल बुझाएको थियो।
अदालतका सूचना अधिकारी बुढाथोकीका अनुसार इजलासमा बिहीबार अनिलको बयान हुनेछ। बयानपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस हुनेछ। बहस सकिएपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने अर्थात धरौटी लिएर वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिने बुढाथोकीको भनाइ छ।
अनिलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ। अनिल एमाले मोरङका जिल्ला सदस्यसमेत हुन्। पार्टीको कोटामा छोरीलाई एमबीबीएस भर्ना गरिदिने भन्दै आफूसँग २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० रुपैयाँ लिएको बौआलाल बताउँछन्।
बौआलालले एमबीबीएसमा छोरीको नाम निकालिदिने आश्वासनमा पैसा दिएका थिए। तर, नाम ननिस्किएपछि उनले पैसा फिर्ता मागे। पैसा फिर्ता माग्दा उल्टै आफूसँग जबरजस्ती ५० लाख रुपैयाँ ऋण लिएको कागज अनिलले गराएको बौआलालले दिएको बयानमा उल्लेख छ।
अनिलबाट ठगिएपछि बौआलाल २ वर्षअघि जाहेरी दिन प्रहरी कार्यालयमा पुगे। तर, प्रहरीले लिन मानेन। हुलाकमार्फत जाहेरी पठाएर उनले उच्च अदालत विराटनगरमा पनि रिट दायर गरेका थिए। उच्च अदालतले अनुसन्धान गर्न आदेश दिएपछि प्रहरीले अनिललाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो। उनले ठगी गरेको विषय बाहिरिएपछि सभापति पोखरेलले स्वकीयको जिम्मेवारीबाट हटाएका थिए।
प्रतिक्रिया दिनुहोस !
