थारू टोल बनराका सुकुम्बासीलाई लालपूर्जा दिने आयोगको प्रतिवद्धता
काठमाडौं : थारु टोल बनराका सुकुम्बासीको नाममा हुकुम्बासीहरूको कब्जा गरेको लालपूजा खारिज गर्न पहल गरिने सुकुम्बासी समस्या समाधान आयोगका पदाधिकारिहरूले प्रतिबद्धता जनाएका छन्।
महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ४ थारुटोल बनरास्थित अन्यायमा परेका सुकुम्बासीलाई न्याय दिलाउने सरोकारवालाहरू ले बताएका हुन्। २०५४ सालको सुकुम्बासी समस्या समाधान आयोगले सुकुमबासीहरूको बसोबास रहेको थारुटोल बस्ती नै लालपूर्जा बनाएर जिल्ला तथा जिल्ला बाहिरका भूमाफिया, जग्गा दलाल र गैरसुकुम्बासीको नाममा वितरण गरेका थिए।
भूमि समस्य समाधान आयोगका पदाधिकारीहरुले गैरसुकुम्बासीहरुको नाममा बनेको लालपूर्जा खारिज गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष हरि प्रसाद रिजालले थारुटोल बनराका सकुम्बासीहरुलाई न्याय दिलाउने बताएका छन्। आयोगका तर्फबाट मधेस प्रदेशको संयोजक तथा आयोगकी सदस्य आरती भण्डारीले स्थलगतरुपमा अवलोकन गर्दै समस्या सधान गर्ने बताइन्।
आयोगका अर्का सदस्य गुञ्ज बहादुर खड्काले गैर सुकुम्बासीलाई वितरण गरिएको लालपूर्जा खारिज गर्न सक्ने अधिकार आयोगको जिल्ला समितिलाई रहेको बताए। जिल्ला तहबाट लालपूर्जा खारिज गर्ने निर्णय केन्द्रमा आए आफुहरुले त्यसमा थप निर्णय गरेर पीडितलाई न्याय दिलाउने सदस्य खड्काले बताए।
सुकुम्बासी समस्या समाधान आयोगका महोत्तरी जिल्ला अध्यक्ष पितम्बर महतोले थारु टोलका सुकुमबासीहरूको समस्या बुझ्न आफूहरू गाउँमै पुग्ने बताए। स्थानीय सरकार, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल अन्यायमा परेका सुकुमबासीहरूलाई जग्गाको स्वामित्व दिलाउने प्रतिबद्धता व्यक्त गरे।
थारु टोलका सुकुमबासीहरूले गैर सकुम्बासीको नाममा वितरण गरिएको लालपूर्जा रद्द गर्नुपर्ने र बास्तविक सुकुमबासीहरूलाई जग्गाधनी लालपूर्जा दिनु र्ने माग राख्दै २५ वर्षदेखि भूमाफियाबिरुद्ध आन्दोलन गर्दै आएका छन्। यसबाट थारु टोल बनराका १८२ सुकुम्बासी तथा भूमिहीन दलित गरिबहरू अढाई दशकदेखि समस्यामा छन्।
गएको वर्ष समस्या समाधानको माग गर्दै तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पीडितहरूले ज्ञापन पत्रसमेत बुझाएका थिए। तर, समस्या समाधान भएन। २०५४ सालको सुकुम्बासी आयोगका पदाधिकारी सुकुम्बासीको बसोबास रहेको जग्गाको लालपूर्जा जग्गा दलालहरुसंगको मिलोमतोमा हुकुम्बासीलाई वितरण गरेका थिए।
थारुटोल बनरामा २०१० सालदेखि बसोबास सुरु भयो। निर्धन मुसहर, चमार, राउत, तत्मा, थारु लगायतको यहाँ पुस्तौदेखि बसोबास छ। ज्यालमजदुरी गरेर जीवन चलाइरहेका छन्। भित्रभित्रै सुकुम्बासी बस्तीको ४५ विघा जग्गा भूमाफियाहरुले आफ्ना नाममा पास गराएका थिए।
अहिले उनीहरूले लालपूर्जा देखाउँदै दिनहुँ सुकुम्बासीलाई उठिबास लगाइदिने धम्की दिदैं तर्साइरहेका छन्। बस्तीका कित्ताहरु बैंकमा जग्गा धितो राखेर ऋण खानेक्रम बढेको छ। सुकुम्बासी बसेका जग्गाहरु किनबेच भइरहेको छन्। उठिबास लगाई दिए कहाँ जाने? भन्ने चिन्ताले बस्तीका जितुवा मुसहरजस्ता बस्तीका १२ सय मानिसहरु चिन्ताले पिरोलिएका छन्।
थारु टोलको बिचबाट महोत्तरीको सदरमुकाम जलेश्वर जाने बर्दिबास-पथलैया-रौजा-जलेश्वर सडक खण्ड विस्तार भएको छ। त्यस सडकको दुवैतिर थारुटोल छ। यहाँको जग्गा प्रतिकठ्ठा २०-३० लाखसम्म बिक्छ। जितुवा मुसहरका अनुसार आफू बसेको ६ कठ्ठाको २१ लाख रुपैयाँ जग्गा दलालहरूले लालपूर्जा देखाएर मागिरहेको बताए। उनी भन्छन्, ‘हामीलाई त २१ सय पनि देख्न मुस्किल छ। म कहाँबाट २१ लाख ल्याउँ हजुर?’
कसरी थाहा भयो जग्गा खोसिएको प्रश्नमा जितुवा मुसहर थप्छन्, ‘जब दलालहरु गाउँ पस्न थाल्यो। अनि हामी बसेको जग्गा अर्कोले लालपूर्जा बनाएको कपरकोइयाँ(हल्लीखल्ली) भयो। अनि हामी जग्गा फर्काउन आन्दोलनमा उत्रियौं।’
प्रतिक्रिया दिनुहोस !