विपद्‍मा गाउँले नै सहारा

विपद्‍मा गाउँले नै सहारा
सुन्नुहोस्

गोरखा : आगलागीका कारण उठिबास भएका भोटखोलाका एक विपन्न परिवारको घर बनाइदिन गाउँलेले हातेमालो गरेका छन्। चुमनुब्री–६ ताजुका कुन्साङ लामाको घर निर्माणका लागि देश, विदेशमा रहेका सो भेगका बासिन्दाले आर्थिक स्रोत जुटाएका हुन्।

सोही गाउँका धावा रिञ्जिन लामा र विदेशमा रहेका पेमा डुण्डुप लामाले उनको घर निर्माणका लागि राहत संकलन अभियान सञ्चालन गरेका छन्। अहिलेसम्म चार लाख रुपैयाँ संकलन भइसकेको धावा रिञ्जिनले जानकारी दिए।

गोरखाको हिमाली भेगमा रहेको ताजुका कुन्साङ लामाका सँगै जोडिएका तीन घर गत बिहीबार आगलागीमा परी ध्वस्त भएको थियो। घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा नगद, गरगहना पनि आगोमै जलेपछि कुन्साङ लामाको पाँच जनाको परिवार अहिले बिल्लीबाठ भएको छ।

घरको भुइँतलामा बाँधिएका १७ मध्ये सातवटा गाई र चार वटा गोरु पनि आगोमा जलेर मरे भने आठवटा कुखुरा पनि जलेर खरानी बनेको स्थानीय गोपाल लामाले जानकारी दिए। उनीहरू अहिले निर्माणाधीन गुम्बामा ओत लाग्दै आएका लामाको भनाइ छ। बिचल्लीमा परेका परिबारलाई उनले दुई थान त्रिपाल, दुई बोरा चामल, पाँच पोका नुन, तीन पोका खानेतेल, तीन माना चिनी, खुर्सानीलगायतका सामग्री प्रदान गरे।

उनले मात्र होइन, सो परिवारलाई गाउँले छरछिमेकले खाने सामलदेखि ओड्ने, ओछ्याउने पनि सहयोग प्रदान गरेका स्थानीय धावा रिञ्जिन लामाले जानकारी दिए। ‘बिहीबार रातभर त्यो परिबार सुत्न पाएनन्। भोलिपल्टदेखि गाउँमा बन्दै गरेको एउटा गुम्बाको कोठामा सुत्ने गरेका छन्’, उनले भने, ‘घरमात्र गएन, घरभित्रको सामान, अन्नपात सबै गयो। अहिले गाउँलेले पिठो, तेल, नुन, खुर्सानी, भाँडाकुँडा अलिअलि दिइरहेका छन्। आज खायो भोलि के खाम, भोलि खायो पर्सि के खाम भइरहेको छ। ओढ्ने, ओछ्याउने छैन। गुम्बाभित्र अस्थायी रूपमा बास बसेका छन्।’ निर्माणाधीन गुम्बाको फलेकले बारेर उनीहरूका लागि अस्थायी टहरो बनाउने काम भइरहेको लामाले जानकारी दिए।

सो परिवारको बिचल्ली देखेपछि स्थानीय धावा रिञ्जिन लामाले राहत संकलन अभियान सञ्चालन गरेका छन्। ‘बिहीबार त रातभरि गाउँका कोही पनि सुतेनौं’, उनले भने, ‘उहाँहरूको अवस्था देखेर एकदमै दुःख लाग्यो। ओढाल्ने पिठो, खाने थालसम्म पनि नभएको देखेर असाध्यै माया लाग्यो। घरमात्र गएन, गाईवस्तु जल्यो। एउटा घर मात्र उठाउन पाए हुन्थ्यो भनेर मैले फेसबुकमार्फत राहत संकलन अभियान सञ्चालन गरेको छु।’ अभियानमार्फत दुई दिनमा ५० जनाबाट चार लाख रुपैयाँभन्दा धेरै राहत रकम संकलन भएको उनले बताए।

‘घर बनाएर पहिलेजस्तै घरभित्रको सरसामान जोड्न १२ लाखभन्दा बढी लाग्छ’, उनले भने, ‘तर मैले आठ, नौ लाखसम्म जुटाउन सक्छु कि भन्ने लक्ष्य छ।’ साथै फ्रान्समा रहेका चुमनुब्रीबासीबाट छिरिङ दोर्जे लामाले र अमेरिकामा बसोबास गर्ने चुमनुब्रीवासीसँग पेमा डुण्डुप लामाले राहत संकलन गरिरहेका उनले बताए। ‘उहाँहरूले उठाएको राहत पनि मलाई नै उपलब्ध गराउनुहुन्छ’ उनले भने, ‘जतिसक्दो छिटो एउटा सानो ओत लाग्ने घर बनाउन सकिन्छ कि भनेर खटिरहेका छौँ।’

लामो समयदेखि हिमपात नभएको तर ठूलो हावाहुरी चलेपछि अँगेनाको आगो उडाएर घरमा आगलागी भएको स्थानीय गोपाल लामाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.