चरित्र नायकको चिनारी

स्वामी विशुद्धदेवको चर्चित पुस्तक ‘चरित्र–विज्ञान’मा मानिस मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमान्दारीको गुणले सुशोभित हुनुपर्ने दिव्यवाणी सम्प्रेषित छ। सो पुस्तकमा सर्वमूलम् चरित्रम् (सम्पूर्ण शक्तिहरूको मूल नै चरित्र हो) भन्ने वैदिक महावाक्यलाई आधुनिक विज्ञानबाट सिद्ध गरेर समाजलाई सत्मार्गको दिशानिर्देश गरिएको छ। उक्त पुस्तक अध्ययन गर्दा मानिस चरित्र र क्षमताको सन्तुलनले असल हुन सक्छ भन्ने विश्वास पैदा हुन्छ।
महात्मा गान्धीले औंल्याएका सात प्रकारका महापाप (डेडली सिन) पनि समाजलाई सत्यपथमा डोर्याउनका लागि रामवाणसरी छन्। सात प्रकारका महापापमा सिद्धान्तबिनाको राजनीति, चरित्रबिनाको ज्ञान, कामबिनाको धन, नैतिकताबिनाको व्यवसाय, त्यागबिनाको धर्म, मानवताबिनाको विज्ञान र होसबिनाको आनन्द रहेका छन्। यी सात प्रकारका महापाप नगर्न दिइएको उपदेशलाई मानिस व्यक्तिगत तवरमा चरित्रमा अच्युत हुनुपर्छ भनेर बुझ्न सकिन्छ।
लेखिका मार्लियन पिनकसले आफ्नो कृति ‘म्यानेजिङ डिफिकल्ट पिपुल’मा संगठनमा देखिने अप्ठ्यारा मानिसहरूको वर्णन गरेकी छन्। उनका अनुसार अटेरी, अरूको चुक्ली गर्न रमाउने, विलम्वकारी, सर्वज्ञाता, बोल्दै नबोल्ने, कुरौटे, तमिज नभाको, धोखेबाज, अतिसचेत र जोडतोडकर्ता स्वभावका मानिस अप्ठ्यारा वर्गमा पर्छन्। उनको ठम्याइँ छ, यस्ता मानिस नकारात्मक लतग्रस्त (नेगाहोलिक) हुने भएकाले यिनका कारण संगठनमा अनेकथरीका समस्या पैदा हुन्छन् र संगठनले असल नतिजा दिन सक्दैन। उनको यो कुराले पनि मानिसको चरित्र बिग्रन हँुदैन भन्ने मै जोड दिन्छ।
वास्तवमा चरित्र भनेको जीवनको ज्योति हो, आभूषण हो, सुवास हो र सम्मानित हुने आधार हो। चरित्रका अवयवहरू अनुशासन, नैतिकता, इमान्दारिता, सत्यनिष्ठा, सदाचारिता, परिपक्वता, अनुकम्पा, दयाभाव, सेवाभाव, करुणाभाव, समभाव, नम्रताजस्ता गुणले मानिसको जीवन प्रदीप्त हुन्छ। यी गुणहरू भएका व्यक्तिको स्वास्थ्य सबलता, स्वाभिमान र आत्मविश्वास सदा प्रबल हुन्छ। कार्यसम्पादनमा बुद्धि, विवेक र विनयशीलताको सन्तुलन मिलेको हुन्छ। फलस्वरूप प्रेम, प्रशंसा, सहायता, सेवा, शिष्टाचार, आशीर्वादजस्ता हृदय पगाल्ने व्यवहारहरू प्रकट हुन्छन्। सारमा व्यक्तिमा चरित्रको गम्किलो आभा छ भने ऊ असल बन्न सक्छ।
चरित्रको आलोकमा नेपालको अवस्था नियाल्दा राज्यसंयन्त्रको चारित्रिक छवि सफा, सुन्दर र आकर्षक हुन नसकेको प्रतीत हुन्छ। विशेषतः नेतावर्ग र निजामती सेवाले प्रशंसाको तालीभन्दा आलोचनाको गाली व्यहोरिरहेको पाइन्छ। प्रतिनिधिमूलक टिप्पणीको रूपमा पछिल्लो समयमा राजनीतिक अभियन्ताको रूपमा सक्रिय पाका पत्रकार देवप्रकाश त्रिपाठीको ‘घटना र विचार’ पत्रिकामा ९ माघ, २०८१ मा प्रकाशित विचार साभार गरिएको छ। उनको नेतालक्षित टिप्पणी यस प्रकार छ– ‘नेपाली राजनीतिकर्मीहरूको सोच केवल सत्ताकेन्द्रित भएकाले उनीहरूका बीचमा राष्ट्रिय समृद्धिको मुद्दाले कहिल्यै प्रवेश पाएन।’ यसैगरी, निजामती कर्मचारीप्रति उनको आक्षेप छ– ‘कर्मचारीको कार्यव्यवहार नकारात्मक, बिलम्बी, उपेक्षापूर्ण, लोभी र सौदाबाजी भइदिँदा त्यसको सिधा असर राजनीतिक नेतृत्वलाई पर्न जान्छ। कर्मचारीबाट काम हुँदैन, तर गाली खाने नेता हुन्छन्। यसबाहेक राजनीतिकर्मीलाई अनियमिततामा सहभागी गराउने, कुरा र कानुन मिलाउने, नेताको भागमा २५ प्रतिशत छुट्ट्याएर ७५ प्रतिशत हिस्सा आफैंले राख्नेजस्ता कार्य पनि कर्मचारी तहबाट नै भइरहेका हुन्छ।’
यथार्थमा सर्वसाधारण जनताले जतिखेर जे सुन्छन् त्यही पत्याउँछन् र आफ्नो धारणा बनाउँछन्। सञ्चार जगत्मा दोहारो संवादको सुविधासहित सामाजिक सञ्जालको प्रयोग सुरु भएपछि हाम्रोजस्तो कुरौटे समाज (ओरल सोसाइटी) भएको देशमा थोरै बिग्रँदा पनि धेरै बिग्रेको हल्ला भएका कारण हाम्रो मस्तिष्कमा नकारात्मक सूचनाको बोझ निकै भारी भएको छ। फलस्वरूप राम्रो देख्दै नदेख्ने, देखे पनि सहनै नसक्ने र अरूलाई विश्वास नै नगर्ने अवस्थामा हामी पुगेका छौ।
राज्य संयन्त्रको नायकत्व गर्ने नेता र प्रशासन चलाउने कर्मचारीको चरित्रमा आक्षेपका कुरा निरन्तर सार्वजनिक भइरहँदा यसले आम जनमानसलाई निराश बनाउँदै लगेको छ। गम्भीर भएर सोच्दा व्याप्त निराशाले आक्रोश निम्त्याउने र आक्रोशले घृणा फैलाउने एवं द्वन्द्व सिर्जना गर्ने हुँदा यो खतरा नेपाली समाजसामु उपस्थित छ। कथंकदाचित द्वन्द्व सिर्जना भयो भने नेपाली समाज तंग्रिन नसक्ने गरी थला पर्नेछ। त्यो समयमा पछुताउनुबाहेक केही हात लाग्ने छैन। त्यसैले अरूको आलोचनामा ऊर्जा खर्चेर रमाउने प्रवृत्तिबाट आमनेपाली मुक्त हुन जरुरी छ। व्याप्त निराशालाई चिर्न प्रयास पनि भइरहेका छन्। पत्रकार टीकाराम यात्रीको प्रस्तुति अँध्यारोबाट उज्यालोतिर कार्यक्रम हेर्दामात्र पनि आशा जगाउने थुप्रै आधार देखा पर्छन्। यस्तै आशाको उज्यालो फैलाउने काममा एकाउन्टाबिलिटी ल्याब नामक गैरसरकारी संस्थाले विगत ११ वर्षदेखि सिर्जनशील सत्प्रयाश गरिरहेको छ। एकाउन्टाबिलिटी ल्याबले सन् २०१४ देखि प्रत्येक वर्ष विभिन्न परीक्षणका आधारमा सदाचार ठहरिएका बहालवाला पाँच जना राष्ट्रसेवकलाई ‘इन्टिग्रिटी आइकन अवार्ड’ले सम्मान गर्दै आएको छ।
सम्मानको एघारौं शृंखला यही २०८१ माघ ८ गते सम्पन्न भएको छ। वर्ष २०२४ को ‘इन्टिग्रिटी आइकन अवार्ड’ पाउनेमा नेपालगन्ज उपमहानगरपालिका, वडा नं ११ को आधारभूत स्वास्थ्य सेवा केन्द्रकी जनस्वास्थ्य निरीक्षक शर्मिला सुवेदी, बेनीघाट रोराङ गाउँपालिका, धादिङका शिक्षा अधिकारी बोधराज पाठक, चितवन राष्ट्रिय निकुञ्ज, हात्ती प्रजनन केन्द्रका शाखा अधिकृत मनपुरन चौधरी, जिल्ला स्वास्थ्य कार्यालय, पर्सा, विरगन्जकी जनस्वास्थ्य नर्सिङ अधिकृत मीराकुमारी यादव र पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया छन्। अहिलेसम्म ६० जना राष्ट्रसेवक उक्त ‘इन्टिग्रिटी आइकन अवार्ड’ सम्मानले विभूषित भइसकेका छन्। उच्च नैतिकताको छवि बनाएका अग्रज व्यक्तिहरू जुरीमा बसेर गरिने परीक्षणको दायरामा परिवार, समाज, कार्यस्थल, सेवाग्राही, पर्यवेक्षक सबैको नजरमा योग्य ठहरिएका राष्ट्रसेवक मात्र ‘इन्टिग्रिटी आइकन अवार्ड’ पाउन योग्य हुने भएकाले राष्ट्रसेवकहरू उपर नकारात्मक टिप्पणी भइरहेको अवस्थाबीच सदाचारी राष्ट्रसेवकको रूपमा ‘इन्टिग्रिटी आइकन अवार्ड’ ताज पहिराएर अझ समझदार, जिम्मेवार, इमान्दार र उत्तरदायी बन्न प्रेरित गर्नुलाई एकाउन्टाबिलिटी ल्याबको सत्प्रयास मान्नुपर्छ।
वास्तवमा, एकाउन्टाबिलिटी ल्याबले जे गरिरहेको छ त्यस्ले कर्मचारीतन्त्रमा आचरण शुद्धीकरणको अध्यायसमेत आरम्भ गरेको छ। जस्ले ‘इन्टिग्रिटी आइकन अवार्ड’ पाएका छन्, उनको चरित्र, कार्यशैली र व्यवहार अवश्य पनि औसतभन्दा उन्नत छ। उनीहरूको रोलमोडेल छविको ‘सिस्टेमिक’ असर संगठनभित्र अवश्य पनि पर्दै जानेछ। व्यक्तिमा जस्तो संस्कार, सदाचार र सभ्यताको स्तर छ, त्यस्तै पहिचान बन्छ। बाहिर छँदा अब्बल क्षमता भएका नवप्रवेशी पनि राज्यसंयन्त्रमा पसेपछि छोटो समयमै सदाचारबाट डगमगाएका दृष्टान्तले गर्दा नै नेपाली समाज ‘कन्फ्युज’ मा परेको हो। जसरी दूधमा तर (क्रिम) लागेन भने दूधको चरित्रमा शंका हुन्छ त्यसरी नै जनतालाई प्रत्यक्ष सेवा दिने ठाउँमा बसेका राष्ट्रसेवकले गतिलो व्यवहार देखाएनन् भने त्यहाँ पनि शंका हुन्छ।
अतः नेता र निजामती सबैको आचरणमा शुद्धीकरण समयको माग हो। एकाउन्टाबिलिटी ल्यावको असल प्रयासले राष्ट्रसेवकमध्येबाट चरित्रनायकको खोजी गरेर चिनारी स्थापित गराउनु शुद्धीकरणको एक आयाम हो।
यस सन्दर्भमा समझदारी, जिम्मेवारी र इमान्दारिकासाथ सुकर्ममा लाग्नु र निराशा चिर्दै जानु नेता, कर्मचारीलगायत हामी सबैको कर्तव्य हो।
प्रतिक्रिया दिनुहोस !
