औषधि छैन र ?
मेरा पल्लाघरका छिमेकी जसलाई मानिसहरू उनको वास्तविक नामभन्दा सुलसुले उपनामले बढी चिन्छन्। आजसम्म कहिले फोन नगरेका उनले साँझपख फोन गरे। मैले फोन उठाउनासाथ उनले भने, ‘सुपर्णखाजी बोल्नुभा हो ?’
मेरो स्वीकारोक्ति उत्तर पाएपछि उनले थपे, ‘अहिले ८ बजे तिम्रो मित्रको देशवासीको नाममा सन्देशको प्रत्यक्ष प्रसारण हुन लागेको तिमीलाई थाहा छ ?’
मैले थाहा नभएको कुरा जनाएपछि उनले व्यंग्य कसे, ‘त्यस्तो घनिष्ट मित्रले पनि थाहा दिएनन् त ?’
मैले प्रश्नको रूपमा झर्किंदै जवाफ दिएँ, ‘तिमीलाई त्यसको किन चासो ?’
फोन राखिदिएँ।
अस्तिको उनको भाषणमा मलाई नदेखेकाले म सुन्न गइनँ भन्ने लागेर उनी रिसाएका हुन् कि जस्तो लाग्यो। जे भए पनि मित्रको सन्देश त सुन्नै प¥यो भनेर समयभन्दा १५ मिनेट अगाडिदेखि टेलिभिजन खोलेर बसें।
अनेक विज्ञापनपछि बल्लबल्ल मेरा मित्र मुस्कुराउँदै देखा परे। नाक र ओठबीच दायाँबायाँ लम्बिएको अलिकति कालो दलेको सेतो उनको जुँगा बिँडबिनाको अलिकति टेढिएको तरबारजस्तो लाग्थ्यो। उनी मुस्कुराइरहेका थिए र उनको मुस्कानमा अहंकारोन्मादको स्थायी बास प्रस्टै बुझिन्थ्यो। एकपल्ट अनिच्छुक नमस्कार प्रस्ट झल्किने गरी मुस्किलले हात उठाएर उनले बोले, ‘प्यारा देशवासी !’
मसँगै बसेर हेरिरहेको मेरो २० वर्षे छोराले मतिर हेरेर भन्यो, ‘जनताको निर्यात गर्ने ती काकाले प्यारा कसरी भन्न सकेका होलान् ?’
मैले उनको सम्बोधन छुट्ला भन्ने आसयले उसलाई चुप लाग्ने इसारा गरेर सम्बोधन सुन्न ध्यान केन्द्रित गरें।
मेरा मित्र भन्न थाले, ‘धेरैले मलाई तानाशाह भन्न र लेख्न थाले। म त प्रजातन्त्रको लागि पहिलेदेखि अहिलेसम्म पनि लडिराखेको मान्छे। म कसरी तानाशाह हुन् सक्छु। अँ, मनपरी गर्न नदिनु मेरो कर्तव्य हो। मेरो परिभाषामा चलिरहेको कुरामा अनावश्यक विरोध गर्नु नैं मनपरी गर्नु हो। अब म ठाउँमा छँदैछु। त्यसमा अर्कोले बिनाकारण विरोध गर्नु मनपरी हो। त्यो मनपरी सहेर बस्न त भएन नि। त्यस्तो विरोधलाई छुट दिन थाल्यो भने समाज भाँडिन्छ। समाज भाँडियो भने देश भाँडिन्छ। यस्तो भाँड्ने क्रियाकलाप कसरी सहने ?’
उनले अलिकति पानी खाएर फेरि भन्न थाले, ‘एउटा खुसीको कुरा तपाईंहरू समक्ष राख्न चाहन्छु– त्यो के भने, हाम्रो समूहले सकेसम्म समुहलाई चुस्त दुरुस्त बनाउने निर्णय गरिसकेको छ। त्यसका लागि जनबल प्राप्त गर्नै प¥यो। जनबल प्राप्त गर्न संख्या बढाउनै प¥यो। जनबल बढ्दै गएपछि हामी बलिया हुन्छौं। हामी बलिया भयौं भने हाम्रा कार्यकर्ता सोझै बलिया हुन्छन्। देशको आन्तरिक सुरक्षाको जिम्मा लिएका प्रहरीलाई के गर्ने, कसो गर्ने, कुनबेला कति कडा व्यवहार गर्ने निर्णय तिनले गर्न पाउँछन्। निर्णय दिने कुरामा तिनकै वर्चस्व रहनेछ। नोकरशाहीमा तिनकै सिफारिस चल्नेछ। छोटकरीमा भन्ने हो भने समाजका प्रत्येक क्षेत्रमा तिनकै हालीमुहाली हुनेछ तर हाम्रो प्रतिच्छाया बनेर मात्र, हाम्रो आशय बुझेरमात्र। कथमंकदाचित हाम्रो आशय प्राप्त गर्न ढिलाइ भयो र तिनीहरूबाट त्यस्ता क्रियाकलाप भइहालेछ भने हामी कारबाही गरेजस्तो गरिहाल्ने छौं। यसमा तिनीहरू आत्तिनु पर्ने कुरै छैन। त्यो कारबाही कतैबाट हुने विरोध साम्य नहुन्जेल मात्र हुनेछ। त्यसैगरी मलाई सहयोग गर्ने अर्को समूहका भए पनि उनीहरूलाई पनि केही छुट मैले दिनेछु तर मलाई समर्थन गरुन्जेल मात्र। लौ त भनुँ भने तिनीहरूले मान्छेकै बिक्री गरे पनि म कारबाही हुन दिने छैन। बरू ज्यादै सहयोग गर्नेलाई उच्च पदमा आसिन गराइदिन्छु।’
एकछिन उनले फेरि पानी खाए। खल्तीबाट रुमाल झिकेर मुख पुछे अनि अगाडि बढे, ‘कतिपय समाचारमा देशबाट युवा शक्ति निख्रिँदै छ भन्छन्। त्यो फजुल कुरा हो। मेरो समूहमा त बढ्दा छन्। अब इच्छा लाग्ने खुट्टा लागेकाहरू कतै जान्छन् भने तिनका बाउआमाले त रोक्न सक्दैनन् मैले कसरी रोक्ने ? भर्खर एउटा सिंगै गाउँका सबै विदेश लागे भन्ने समाचार आएको रहेछ। पत्रकारहरूले यस्तै फजुल कुरा लेख्ने गरेकाले मैले तिनीहरूलाई कडाइ गर्ने सोचेको छु। एकथरी पत्रकारले करोडौं कमाएर कहाँ कहाँ हो थुपारेको छ भनेर मेरो विरुद्धमा लेखेछ। मलाई दालभात खान त्यत्रो रकम किन चाहियो ? यो सजिलै सबैले बुझ्ने कुरा हो। त्यसैले त म मेराविरुद्ध लेख्ने पत्रकारको कुरा पत्याउँदिनँ।’
मेरो छोरोले एउटा पन्नामा लेखेर मलाई देखायो, ‘अदालतले करोडौं घुस खाएकोमा सजाय तोकेका व्यक्तिहरूले पनि खाने त दाल भात नैं हो सुन चाँदी त खाँदैनन् नि।’
मैले छोरोलाई आँखा तरेर मेरो ध्यान नमोड्न इसारा गरें।
उनको भाषण चलिनै रह्यो देशवासी हो !
‘म ज्ञानले भरिपूर्ण भएको मान्छे हुँ। मैले विदेशबाट पाएको विद्यावारिधिको उपाधि नै त्यसको प्रमाण हो। मलाई साहित्य, संगीत तथा कलाको समेत सम्पूर्ण ज्ञान छ।’
मेरो छोरोले फेरि लेखेर देखायो, ‘भ्रष्टाचार गरेर लुकाउन सक्ने कलामा त पूर्ण ज्ञान प्रमाणित नै छ नि।’
मेरो अघिको इसारा उसले बुझेन कि भन्ने लागेर बोलें, ‘बाधा नदे।’
उनी भाषणमा बकिरहेका थिए, ‘मैले नजानेको कुरा केही छैन। अध्यात्मको कुरा होस् कि कर्मकाण्डको, इतिहासको कुरा होस् कि मनोविज्ञानको, भौतिक शास्त्रको कुरा होस् कि दर्शनशास्त्रको। म हरेक विषयमा भाषण गर्न सक्छु। अरू सबै विषय यहाँ उल्लेख गर्न सकिँदैन। जे होस्, छोटकरीमा भन्ने हो भने विश्वका कुनै पनि कुरामा मेरो ज्ञान छ। मजस्तो मान्छे तपाईंहरूले पाउनु तपाईंहरूको सौभाग्य हो। मेरो विरोध नगर्नु नैं तपाईंहरूको लागि भलो हुन्छ। धन्यवाद !
भाषण सकियो र टेलिभिजन बन्द गरिदिएँ।
प्रतिक्रिया दिनुहोस !