सहिद दिवसको सान्दर्भिकता

विशनदेव जोशी
जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन बलिदान गर्ने महान् सहिदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै माघ १६ देखि साताव्यापी सहिद दिवस देशभर मनाइँदै छ।
विश्वमा आफ्नो देशका बहुसंख्यक जनताको स्वार्थका लागि लामो संघर्ष गर्दै उद्देश्य प्राप्तिका लागि जीवन नै उत्सर्ग गर्ने, जीवन आहुति दिने वा मृत्युवरण गर्ने व्यक्तिलाई सम्मान गर्न सहिद घोषणा गर्ने प्रचलन छ। सहिदले देखाएको मार्गमा लागिरहन तथा ती महामानवहरूको बलिदानको गाथा भावी पुस्तालाई जानकारी गराउन सहिद दिवस मनाउने प्रचलन संसारभरि छ।
मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र आत्मसम्मानका लागि अनवरत र अथकित संघर्ष गर्ने क्रममा तत्कालीन शासकबाट मृत्युदण्ड पाएकाहरूलाई पनि सम्बन्धित व्यक्तिको योगदानको स्मरण गर्न सहिद घोषणा गर्ने परम्परा चलेको हो। नेपालको सन्दर्भमा माघ १६ गतेका दिन विशेषगरी नेपाली जनतामा सार्वभौम अधिकार निहित गराउन जहानियाँ राणाशासनका विरुद्ध दरो आवाज बुलन्द गर्ने चार वीर सपूतहरू सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको योगदानको स्मरण गरिन्छ।
भित्री मनले बडो महŒवका साथ मनाउनुपर्ने दिवस हो, सहिद दिवस। राजनीतिक परिवर्तनको एउटा ऊर्जाशील चिनो र गौरवका रूपमा लिइने राष्ट्रिय दिवसका रूपमा सहिद दिवस २००७ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात् निरन्तर रूपमा मनाइँदै आएको छ।
इतिहासदेखि आजसम्म राणाशासन विरुद्धको आन्दोलनदेखि २०६२–६३ को जनआन्दोलन, सशस्त्र माओवादी जनयुद्ध, जातीय आन्दोलनहरू, मधेस आन्दोलन, लंैगिक र पिछडावर्ग आदि तमाम आन्दोलनका क्रममा शहादत प्राप्त सहिदहरूको ‘रूप जेजस्तो भए पनि सार एउटै थियो, त्यो हो सार्वभौम नेपाली नागरिकलाई रैतीबाट नागरिक बनाउने। ती महान् सहिदका भावनाका सार भनेको सदियौंदेखि वञ्चित भएका अधिकारको सुनिश्चित गर्ने, सम्पूर्ण नेपाली जनताको मर्म र भावना समेट्ने लोकतान्त्रिक संविधान निर्माणपछि समुन्नत, समृद्ध र समावेशीसहित सुशासन तथा शान्ति र अमनचयनयुक्त राज्य र समाजको निर्माण नै हो।
जब इतिहासका ती वीर सपूतहरूको वीरंगनाका कथा सम्झिन्छु, तब आफूभित्र पनि वीरताको साहससँगै जोसले शरीरमा काँडा उम्रन्छ। कति योगदान छ तिनको जसले अप्ठ्यारोमा देशका लागी लडे, खुकुरीको धारमा बाँचेर लडे र खुकुरीका भरमा देशलाई बचाए। क्रान्ति र शान्तिको अभीष्टका खातिर प्राणोत्सर्ग गरे। अन्यायका विरुद्धमा आवाज घन्काउने सहिदका बलिदानीसँग नेपाल आमाको अटुट नाता छ।
ती सपूत नेपाल आमाका गौरव जसले प्रजातन्त्र प्राप्तिका निमित्त प्राण दिए, हाँसीहाँसी देशका निम्ति फाँसी चढे र माटोको माया गरेर यो देशलाई मुटु सुम्पिए। ती सहिद जसले व्यक्तिगत स्वार्थको पुन्तुरो बिर्सेर देशको स्वतन्त्रताका लागि लडे, आज तिनै सहिदको स्मरणमा कलम चलाउँदै गर्दा र देशको दुरवस्था केलाउँदै गर्दा कतै यो देशले सहिदको अपमान त गरिरहेको त छैन ? मन भक्कानिन्छ।
१९९७ माघ १० गते निरंकुश राणाशासन विरुद्धमा नेपाल प्रजा परिषद् स्थापना गरी जनतालाई राजनीतिक अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रुखमा झुन्ड्याएर हत्या गरिएको थियो। त्यसको दुई दिनपछि माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी राणाहरूले हत्या गरेका थिए। उनीहरूले हाँसीहाँसी देश र जनताका लागि देखाएको त्याग राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ। पछिल्लो कालखण्डमा निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रका विरुद्धका अहिंसात्मक तथा शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झना तथा उच्च सम्मान पनि यसै दिवसमा गरिन्छ।
वीर पुर्खाको योगदानसँग रमाएको इतिहासमा नेपाली शान र गौरवको चिह्न छ। आजको सान र हिजोको स्वाभिमानका लागि बलिदान दिनु कुनै सामान्य खेल थिएन। सहिदले परिवर्तन र ज्यादतीका निम्ति आवश्यकतालाई नियालेर प्राणको आहुति दिए। स्वाभिमान, जाति, भाषा, संस्कृतिको रक्षार्थ मृत्युको बलिबेदीमा आफूलाई चढाए। विभिन्न कालखण्डमा जनताको स्वतन्त्रता निमोठिएको, आस्था चुँडिएको अनि मानवतालाई कालकोठरीमा थुनिएको वेदनाका विरुद्ध तिनले जे गरे, त्यो अत्यन्त श्रद्धायुक्त छ। दुर्भाग्य, देश र जनताले नयाँ संविधान प्राप्त गरेपछि त झन् सहिद दिवसको औचित्यलाई राजनीतिक दलहरूले नै निरर्थक तुल्याए।
कुनै बेला फलानो सहिद आफ्नो र ढिस्काना सहिद अर्काको भनेर झगडा गर्ने राजनीतिक दलहरूले सहिदलाई सत्ता आरोहणको भ¥याङ बनाइरहे। सहिदलाई केवल भाडाका खेताला झैं व्याख्या गरे र तिनको मूल्य तोके। सहिदका परिवारलाई दुई, चार लाख रकम दिएर सहिदको सम्मान हुँदैन, तर त्यही गरे। अर्को दुर्भाग्य, सहिदहरूलाई देशको होइन, दलको सहिद बनाए।
खासमा जुगजुगन्त स्मरणका पानामा सम्हालेर राख्न सकियोस् सहिदलाई। माटोको अटुट नाता गाँसेर हरपल प्रगतिपथमा लम्किरहँदा नेपाल आमाको मुहारलाई चम्किलो बनाउन नि:स्वार्थ लड्ने सच्चा सपूत नै यो देशका सहिद हुन्। नेपाल आमाको इतिहासमा थुप्रै अज्ञात सहिदका नाम पर्दामा नआएका भए पनि ती सहिदको त्याग र बलिदानले यो नेपाली शिर कहिल्यै झुकेन। वीर गोर्खालीको इतिहाससँग अंकित नाममा सहिदको त्याग र बलिदान जोडिएको छ।
कुनै पनि सहिद र उनका भावनाले सीमा छुट्ट्याएको थिएन। जात तोकेको थिएन। पहिचान साँघु¥याएको थिएन। पहाड, हिमाल, तराई वा मधेसजस्ता सीमा छुट्ट्याएर भौगोलिक विखण्डनमा लागेनन् उनीहरू। आपसी विभाजनको सन्देश कहिल्यै दिएनन्। न त दलहरूलाई सत्ताको नाफा बाँडफाँट गरी खाऊ भनेर सहादत भए। आजसम्म जे भए पनि अब सहिदको पूर्ण सम्मान होस्।
सहिदका फोटोमा माल्यार्पण गर्दैमा र ओठेभक्ति देखाउँदैमा सहिदको मर्यादा, मान र सम्मान हँुदैन भनेर सबैले बुझ्न अत्यावश्यक छ।
सहिदका बलिदानले स्थापना भएको यो सुनौलो लोकतन्त्रमा स्वतन्त्रताका नाममा छाडातन्त्र, गुटतन्त्र, लुटतन्त्र आदि चलिरहनु नेपाल आमालाई अपमान गर्नु सरह हो। जसकारण देशको अवस्था कमजोर र नाजुक हँुदै गएको छ। यसरी लोकतन्त्रको उपहास नहोस्। सहिदले चाहेको यो होइन।
प्रतिक्रिया दिनुहोस !
