आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसद्बाट फिर्ता लिन अनुमति

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक,२०८१’ संसद्बाट फिर्ता लिन अनुमति दिएको छ । शुक्रबार बसेको समिति बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्बाट उक्त विधेयक फिर्ता लिन समितिको अनुमतिका लागि प्रस्ताव माग्नुभएकामा बहुमतबाट स्वीकृत भएको हो ।
सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६’ लाई अध्यादेशमार्फत संशोधन गरेपछि संसद्बाट फिर्ता लिन सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएको थियो ।
समितिमा छलफलका क्रममा रहेको विधेयकलाई सरकारले अध्यादेशमार्फत ल्याएको भन्दै प्रतिपक्ष दलहरूले यसमा विरोधसमेत जनाएका थिए । अर्थमन्त्री पौडेलले संवैधानिक र कानुनी व्यवस्थाभित्र बसेर यो अध्यादेश ल्याइएको बताउँदै अध्यादेशमाथि सदनमा छलफल हुने भएकाले विधेयकलाई फिर्ता गरिनुपर्ने बताए।
प्रस्तावित बजेट तथा कार्यक्रममा सारभूत रुपमा थपघट वा परिमार्जन भएमा सोको जानकारी सम्बन्धित लेखा उत्तरदायी अधिकृतलाई दिनुपर्ने पनि अध्यादेशमा उल्लेख छ । यस्तै, स्वीकृत कुनै कार्यक्रम संशोधन , स्वीकृत कार्यक्रमभित्रको विनियोजित रकम अन्य कुनै कार्यक्रममा खर्च गर्न परेमा सम्बन्धित मन्त्रालयको सिफारिसमा संशोधन गर्न सक्ने व्यवस्था ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस !
