प्रधानमन्त्री ओलीले संसदमै 'म त ढलें ढलें' गीत गाएर जब विपक्षीको कटाक्ष गरे...

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गीतमार्फत विपक्षी दलको कटाक्ष गरेका छन्। अहिले चर्चित बनेको 'म त ढलें ढलें' गीत राजनीतिमा नसुहाउने उनको भनाइ छ।
शुक्रबार संसद बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, 'विपक्षमा रहेका साथीहरूले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ, ‘सरकार ढल्छ। ढल्नै लाग्यो। पुस मसान्त, माघे संक्रान्ति काट्दैन।’ आदि इत्यादि। ‘ढलें-ढलें, ढलें-ढलें म त...’ यो ‘गीत’ अति नै गाइयो। यो ‘गीत’ मनोरञ्जन पार्टी/उत्सवहरूमा सुहाउला, राजनीतिमा सुहाउँदैन।'
प्रधानमन्त्री ओलीले यस्ता गीत राजनीतिक मञ्चमा गाउन बन्द गर्न पनि आग्रह गरे। 'अझ एकजना माननीयले कतै यस गीतलाई श्लील भएन समेत भन्नु भएको सुनेको छु। यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौं,' उनले भने।
उनले सरकार बनाउने र हटाउने थलो सम्मानित सदनमात्रै भएको विपक्षीको ध्यानाकर्षण गराए। उनले सरकार ढाल्ने गिराउने भन्दा जनताका सबालमा प्रश्न गर्न आग्रह गरे।
'दिनरातै यस्ता हल्ला गरेर आगामी तीन वर्ष विताउनु जनताका लागि के फाइदा? देशका लागि के फाइदा? बरु दैलेखमा उत्खनन् सफल भएको इन्धनको कुरा गर्नुस्, नागढुङ्गाको सुरुङमा कहिले यातायात चल्छ भन्ने प्रश्न गर्नुस्, भर्खरै ब्रेक थ्रु भएको किमाथांका-जोगवनी सडकले चीन र भारत जोडिंदा के फाइदा हुन्छ, त्यसको कुरा गर्नुस्। सरकारको म्युजिकल चेयर गेमभन्दा त जनताको जीवनमा त्यसले पो अर्थ राख्ला कि!,' प्रधानमन्त्री ओलीले भने।
उनले पार्टी टुक्र्याउने, भत्काउनेजस्ता खुद्रे कुराहरू यो सरकारको मेन्युमा नरहेको बताए। 'ढुक्क हुनुस्, कांग्रेस-एमालेसहितको यति बलियो सरकारको प्राथमकिता त्यस्तो हुन सक्दैन,' उनले भने।
प्रतिक्रिया दिनुहोस !
