सरकारलाई माओवादीको ध्यानाकर्षण- संविधान संशोधनको विषयमा आवश्यक परामर्श गरियोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद छलेर अध्यादेश ल्याएको भन्दै सरकारको विरोध गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका हुन्।
उनले संविधानले अध्यादेशको व्यवस्था गरे पनि संसदलाई उपेक्षा गर्नु राम्रो नभएको बताए। 'संविधानको व्यवस्थाअनुसार अध्यादेश ल्याउन पाइन्छ। तर, संविधानमा व्यवस्था भयो भन्दैमा संसदको नियमावलीलाई उपेक्षा गर्न मिल्दैन,' उनले भने।
उनले सत्तापक्षकै सांसदहरूको अनुपस्थितिले मिनी संसद भनिएको समितिका कामहरू अगाडि बढ्न नसकेको बताए। उनले एक महिना अघि ल्याइएको अध्यादेशले देशमा के समृद्धि भनेर पनि प्रश्न गरे।
'समितिमै छलफल गरेको भए झन् छिटो कानुन बन्थ्यो जस्तो लाग्छ। तर, संसद छलेर अध्यादेश ल्याइएको छ। सत्तापक्षका सांसदहरूको अनुपस्थितिले समितिका बैठक बस्न सकिरहेको छैन। तर, समिति छलेर सरकारले अध्यादेश ल्याउनु गलत काम हो' उनले भने, 'अध्यादेश ल्याएको एक महिनामा के-के काम भयो? सरकारले देशको समृद्धि र छिटो काम गर्ने कुरा गरिरहेको छ। एक महिनामा के के काम भयो त?' उनले संसदीय समितिमा माननीयहरूको हाजिरी सार्वजनिक गर्न पनि माग गरे।
उनले सरकारको गलतको कामको सधैं प्रतिवाद गर्ने बताए। उनले सरकारले सुशासन र लोकतन्त्रको मूल्य मान्यता कायम गर्ने कुरामा जोड दिएको बताए पनि त्यसमा खासै उपलब्धि हासिल नभएको बताए। उनले संविधान संशोधनको विषयमा पनि आवश्यक परामर्श गर्न आग्रह गरे। सरकारलाई जनताको पक्षमा काम गर्न उनले आग्रह गरे।
प्रतिक्रिया दिनुहोस !
