ठूला दल मिलेर बनेको सरकारले डेलिभरी दिन सकेन : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई ठूला दल मिलेर बनेको सरकारले डेलिभरी दिन नसकेको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले सरकारको काम निराशाजनक रहेको बताए।
'साढे ६ महिनाको सरकारको काम निराशाजनक छ। दुई ठूला दल मिलेर बनेको सरकारले डेलिभरी दिनुपर्छ। तर, अहिलेसम्म त्यस्तो केही देखिएको छैन। सरकारको काम भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमै बितेको छ,' उनले भने।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू आएपछि थुप्रै काममा ब्रेक थ्रु भएको बताए पनि त्यसलाई उपलब्धि मान्न नसकिने उनको भनाइ छ। 'प्रधानमन्त्रीको भाषणमा हामीले थुप्रै ब्रेक थ्रु भएको सुन्यौं। तेस्रो मुलुकसँग विद्युत व्यापार प्रारम्भ भएको भनेर सुन्यौं। के यो सरकार नभएको भए सिद्धबाबा सुरुङ मार्गको ब्रेक थ्रु हुँदैनथ्यो?,' उनले प्रश्न गरे।
उनले नियमित कामलाई पनि सरकारले उपलब्धि मान्न थालेको भन्दै आपत्ति जनाए। 'कांग्रेस-एमाले मिलेर बनेको सरकारको उपलब्धि यही हो? यही हो भने यो मुलुकमा सरकार छैन भन्दा पनि हुन्छ। नियमित कुरालाई पनि उपलब्धि भन्ने हो भने के हुन्छ,' उनले भने।
उनले सुशासन र जनताका सबालमा के काम भएको हो भन्ने सरकारलाई प्रश्न पनि गरे। 'जनतालाई आशा जगाउने सरकारले काम के गर्यो? अर्थतन्त्रमा के सुधार भयो? विदेशी मुद्रा सञ्जिति सरकारका कारण थुप्रेको हो? कि हाम्रा युवाहरूको कारणले हो। बरु आएको पैसा पनि किन खर्च भएन?,' उनले प्रश्न गरे।
उनले प्रधानमन्त्री ओलीले पनि भ्रष्टाचारको पक्षमा वकालत गरेको दबी गरे। उनले प्रधानमन्त्री ओलीलाई आफू वरपर भइरहेको भ्रष्टाचार नियालेर हेर्न आग्रह गरेका थिए। 'कुन व्यापारीकोमा छापा मार्नुभयो भने बिल बिनाको सामान भेटिँदैन? सरकारले त्यही व्यापारीबाट पैसा उठाउने काम गरिरहेको छ। विभिन्न नियुक्तिहरूमा करोड करोड उठाइरहेका छन्,' उनले भने, 'प्रधानमन्त्रीज्यु, तपाइँले के गर्नुहुन्छ थाहा छैन। तपाइँ वरपरकाले भ्रष्टाचार गरिरहेका छन्।'
उनले अहिलेको प्रणालीले काम गर्न छाडेको भन्दै प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीय प्रणालीमा जानुपर्ने बतएका थिए।
प्रतिक्रिया दिनुहोस !
