सुन धुँदै जीवन धान्दै

गोरखा : आरुघाटस्थित बूढीगण्डकीको बगरमा माघको ठिही चलिरहेको छ। ७० हिउँद कटिसकेका हर्कबहादुर र गौमाया सुन्धुवाका दम्पती चिसो स्याँठको पर्वाह नगरी बगरमा दिनरात खटिरहेका छन्।
झिस्मिसैदेखि उनीहरूको दिनचर्या सुरु हुन्छ। एउटा हात बेकम्मा, अर्को हात पनि अधकल्चो भएका हर्कबहादुर चुच्चेले बालुवा खोतल्छन्। बोरामा हाल्छन्। गौमाया गण्डकीको छिपछिपे पानीमाथि डुँड थाप्छिन्। त्यसमाथि गिटी छान्ने चिनौटो राख्छिन्। हर्कबहादुरले खन्याएको बालुवामाथि अञ्जुलीले उवाएर पानी हाल्छिन्। बालुवा र सुन पखालिएर डुँडमा झर्छ। गिटीहरू झिकेर फाल्छिन्।
दिनभर चालेको बालुवामा थिग्रिएको सुनौला कण साँझ परेपछि सँगाल्छन्। थैलीमा राख्छन्। साँझ छिप्पिँदै गएपछि बालुवामाथि टाँगेको त्रिपालभित्र सुस्ताउँछन्। १० वर्षको उमेरदेखि बगरको बालुवामा सुन धुँदै आएका सुन्धुवा दम्पतीको यो ७०औं हिउँद त्यसैगरी बितिरहेछ।
७० को वयमा पनि दिनभरि बालुवा चाल्दा फेला परेको पहेँलपुर सुनका कण देख्दा त्यत्तिकै उत्साहित हुन्छन् जति १०, ११ वर्षको उमेरमा हुन्थे। उहिले बाउबाजेको पछि लागेर रहरले बालुवा चाल्थे, पछि पेट पाल्न र अहिले परिबार पाल्ने बाध्यताले सुन चाल्छन्।
‘हाम्रो त बाउले पनि यसै गरे। बाजेले पनि यसै गरे। मैले पनि १० वर्षको उमेरदेखि यसै गरिरहेको छु’, उनी भन्छन्, ‘अहिले मेरो परिवार कोही त्रिशूली बगरमा छन्, कोही सेतीमा, कोही मादीमा, कोही मस्र्याङ्दीमा, कोही त्रिशूलीमा बालुवा चालिरहेका छन्। हाम्रो त खेतबारी पनि यही, नोकुरी पनि यही। गाईभैंसीको गोठ भने पनि यही हो। अरू इलम छैन।’ पहिले दुवै हात सद्दे थिए। हाँकेताकेको काम गर्न रोकतोक थिएन। कामको सिलसिलामा दुर्घटनामा परे। बायाँ हात गुम्यो, दायाँ पनि अधकल्चो छ।
५१ वर्षका टेकबहादुर सुन्धुवाको परिवारको बास पनि बूढीगण्डकी बगरको पालभित्रै छ। उनकी पत्नी बगरमा टाँगिएको पालभित्र नाति खेलाउँछिन्। टेकबहादुर, उनका छोरा र बुहारी भने बालुवा झिक्ने, चिनौटोमाथि बालुवा खन्याउने, पखाल्ने, डुँडमा झरेको सुन मिसिएको बालुवा संगाल्ने काममा व्यस्त छन्।
‘एक, डेढ महिनामा एक, डेढ तोला भेटिन्छ’, टेकबहादुर भन्छन्, ‘यसलाई पगालेर मात्र बेच्नुपर्छ। त्रिशूली, मस्र्याङ्दीतिर अल्लि सेतो खालको भेटिन्छ। बूढीगण्डकी र कालीगण्डकीमा चाहिँ नम्बरी सुन आउँछ,’ आफू पनि १०, ११ वर्षको उमेरदेखि सुन्धुवाको काममा लागेको उनको भनाइ छ। ‘हामी बोटेमाझी हौँ। खेतबारी हुनेहरू कात्तिकदेखि चैतसम्म सुन खोज्न हिँड्छन्। चैतदेखि खेतबारीको काम सुरु हुन्छ। खेतबारी नहुनेहरू साउन र भदौबाहेक सधैं यसमै हिँड्छन्’, उनले भने, ‘साउन र भदौमा चाहिँ खोला बढेर यो काम गर्न सकिँदैन।’
अरू कामभन्दा यही काम ठीक लाग्ने उनको भनाइ छ। ‘यो काम नगरेको भए हामीले गर्ने कुल्लीको काम हो। कुल्ली काम गर्न गयो भने दुःख पनि ज्यादा हुन्छ। ठेकेदारले पैसा नदिएर कतिजना रोएर हिँडेको पनि देखेका छौं,’ उनी भन्छन्, ‘यो काम गर्दा तीन, चार दिनमा २० हजार त कतै नजा।’ सुनधुवा आफ्नो पुख्र्यौली पेसा भएको उनको भनाइ छ। ‘हाम्रा बाउले पनि यही काम गरेका हुन्। बाजे, बराजुले पनि यही काम गरेका हुन्’, उनले भने, ‘कुमालटारी, पाथ्रघाट, पाटनका हामी ४५, ५० घरका सबै गाउँले यही काम गर्छौं।’ मस्र्याङ्दी, त्रिशूली, बूढीगण्डकी, कालीगण्डकी, सेती, मादी सबै नदीमा बालुवा चाल्दै हिँड्ने गरेको उनको भनाइ छ। अस्वस्थ प्रतिस्पर्धा हुन नदिन उनीहरू आपसी समझदारीमा नदी भाग लगाउँछन्। नदीको पनि सबै बालुवामा सुन भेटिँदैन। ‘बगर चाहार्दै जाँदा जहाँ कालो बालुवा मिसिएको देखिन्छ, त्यहाँ सुन छ भन्ने हामीलाई थाहा हुन्छ’, उनी भन्छन्, ‘त्यसपछि हामी त्यहीँ पाल टाँगेर बस्छौँ। त्यहाँको बालुवा चालेर सिध्याएपछि मात्र फेरि अन्त जान्छौं।’
प्रतिक्रिया दिनुहोस !
