नेपालमा केही छैन, नेपालमै सबथोक छ

रामेछापका अमर परियारले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन्। २०७७ सालमा स्नातक सकेसँगै आर्थिक अवस्था कमजोर भएका कारण घरबाट पनि सहयोग भएन। त्यति नै खेर उनले काठमाडौंमा जागिरका लागि चिनेजानेका सबैसँग हारगुहार गरे। तर एक वर्षसम्म जागिर खोज्दा पनि उनले केही काम पाएनन्।
त्यसपछि फेरि उनी रामेछापस्थित आफ्नै गाउँ फर्किए। आफ्नै खेतबारीलाई मलजल गरेर तरकारी खेती गर्ने सोच बनाए। अहिले ऋण काडेर भए पनि आफ्नो १० गह्रा खेतमा काउली, बन्दा, टमाटर, भिन्डी, मुला, गाँजर उत्पादन गर्दैछन् उनी। यसरी बजारमा लगी बेचेर महिनामा २०—२५ हजार आम्दानी गर्दै आएका छन्। तर अमरका बाबुले ‘यत्रो ऋण खोजीखोजी पढाएर जागिर गर्ला भनेको, गाउँमै खेती गर्नका लागि त किन पढ्न पथ्र्यो र ?’
भनेर एक किसिमको दबाब दिएका छन्। बाबुले मात्रै होइन, उनलाई समाजले पनि त्यसैगरी अप्रत्यक्ष ढंगले भनिरहेको हुन्छ। यसो भन्नु दबाब दिनु नै हो।
म अमर र अमरको समाजलाई भन्न चाहन्छु, काम ‘सानो’ वा ‘ठूलो’ भन्ने हुँदैन। विडम्बना, स्नातक होइन, हामी विद्यावारिधि गरेका, मास्टर डिग्री पढेका नेपाली पनि अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान वा युरोपियन देशमा गएर चाहिँ शौचालय सफा गर्छौं, होटलमा भाडा माझ्ने काम गर्न तयार हुन्छौं। तर आफ्नै देशमा त्यही वा त्योभन्दा राम्रो काम गर्न चाहिँ हामीलाई सरम लाग्छ। ‘यत्रो मास्टर डिग्री पास गरेर पनि यस्तो काम गर्ने ?’ भनेर यही समाज खिसिट्युरी गरिरहन्छ। यो सामान्य हो। साइकलमा तरकारी, फलफूललगायतका दैनिक उपभोग्य सामग्री राखेर टोल–टोल घुमेर घरदैलोमै सेवा पुर्याउने साना व्यापारी, पुराना कागज र प्लास्टिकका सामान संकलनको काम गर्ने मानिसलाई घृणाको दृष्टिले हेर्ने गरिन्छ।
कतिपय उत्पादनशील र रोजगारी एवं स्वरोजगारी सिर्जना हुने काम र त्यस किसिमका काममा संलग्न कामदारलाई समेत अत्यन्तै घृणाको दृष्टिले हेरिन्छ। सैलुन चलाउने हजाम, डकर्मी, सिकर्मी, प्लम्बर, टेलर, पेन्टर, साइकल वा मोटरसाइकल मर्मत गर्नेहरूलाई निकै तल्लो तहको व्यवहार गरिन्छ। जहाँ श्रमको सम्मान गरिन्छ, त्यहाँ नै विकास र सद्भावको राम्रो प्रभाव देखिन्छ। हामी आफ्नो जन्मभूमिमा पसिना बगाउन वा जुनसुकै श्रम गर्न पनि हुन्छ भन्ने सोचाइमा छैनौं।
ज्यालामा काम गर्न खेती किसानीमा श्रम गर्न पनि हुन्छ भन्ने सोच्दैनौं। ज्यालामा काम गर्नु खेती किसानीमा श्रम गर्नुजस्ता कार्यलाई निकृष्ट कार्यको रूपमा हेर्छौं। नेपाली दाजुभाइ, दिदीबहिनीले एकपटक विश्व चिहाउने कि ? जुन देशमा श्रमको सम्मान हुन्छ, त्यहाँ छिटो विकास र प्रगति भएको हेर्नका लागि। अमेरिका, युरोपलगायतका देशहरू आज विकसित हुनुका पछाडि श्रमको सम्मान गर्ने संस्कृति नै हो।
संविधानमा पनि ‘प्रत्येक नागरिकलाई रोजगारीको छनोट गर्न पाउने हक हुनेछ’ भनिएको छ। त्यसैगरी ‘प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ’ पनि भनिएको छ। तर पनि नेपाली समाजमा कामलाई सम्मान गर्ने संस्कार अझै बसेको छैन। सरकारले युवाको सशक्तीकरण र विकासमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्दै व्यक्तित्व विकास गर्ने तथा राज्यको सर्वांगीण विकासको योगदानमा युवालाई उपयुक्त अवसर प्रदान गर्ने नीति अख्तियार गरेको छ। त्यसैगरी, सरकारले चालु आर्थिक वर्षमा युवाको क्षमता अभिवृद्धि गरी अन्तरनिहित प्रतिभा सार्वजनिक सेवा प्रवाह र उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम सञ्चालन गरेको छ।
सरकारले सो कार्यक्रमअन्तर्गत विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग, व्यवसाय, कृषि तथा पशुपन्छी फर्म, होटल, पर्यटन, निर्माण क्षेत्रलगायतमा कार्यस्थल तालिम प्रदान गरी कम्तीमा एक लाख युवालाई रोजगारी सुनिश्चित गर्न तीन अर्ब रुपैयाँ विनियोजन गरेको छ। अनि स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, सूचना प्रविधि क्षेत्रका एक हजार युवालाई ‘फेलोसिप’ (छात्रवृत्ति) प्रदान गरेको छ। फेलोसिप प्रदान गर्न निजी क्षेत्रलाई समेत सरकारले प्रोत्साहन गरेको छ। त्यसो त सरकारले युवामा उद्यमशीलता प्रवद्र्धन गर्न कर्जाको सहज र सरल पहुँच पु¥याउने कामलाई तीव्रता दिएको छ।
‘जहाँ इच्छा त्यहाँ उपाय भने’ झैं जाँगर भए आफ्नै घरआँगनमा अनेकौं रोजगारीका अवसर छन्। खाडीमा अनेकौं कष्टको सामना गर्न पुग्छन्। कृषि ऋण लिई सामान्य तरकारी खेतीलगायतका अनेकौं कार्यमा खट्ने हो भने मनग्ये आम्दानी गरी आफ्नै भूमिमा आरामसँग जीवनयापन गर्न सकिने उदाहरण गाउँगाउँमा जाँगरिला युवाले प्रस्तुत पनि गरेका छन्। सरकारले श्रम तथा श्रमिकको मर्यादा अभिवृद्धि तथा आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने दीर्घकालीन सोचका साथ ‘ श्रमको सम्मान, राष्ट्रको अभियानसम्बन्धी रणनीति, २०७८’ कार्यान्वयनमा ल्याएको छ।
देशभित्रै श्रम गर्ने वातावरण आवश्यक छ, जसका लागि कामलाई स्तरीकरण गरेर हेर्ने सोचमा सुधार हुनुपर्छ। सबै किसिमको श्रमको आआफ्नै महŒव हुन्छ। कुनै पनि कार्यालयमा हाकिमदेखि कार्यालय सहयोगीसम्म सबै आफ्नो ठाउँमा दक्ष हुन्छन्। अर्कोतिर, यहाँका एकथरी मानिसहरू मानिस बिदेसिए देश सकियो भनेर भ्रम फैलाइरहेका छन्। तर नेपालमै केही गर्छु भन्ने युवाका लागि प्रचुर सम्भावना छ। संविधानमै ‘प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ’ भनिएको छ। सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्दै देशको मुख्य सामाजिक आर्थिक शक्तिको रूपमा रहेको श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाउने र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने विषय पनि संविधानमा समावेश गरिएको छ।
‘देशमा केही छैन, केही हुँदैन, विदेश नगए के गर्नु ?’ भन्ने नकारात्मक भाष्यलाई अब चिर्दै जानुपर्छ। स्वदेशमा केही पनि नदेख्ने तर विदेशमा थोरै पैसामा पनि पसिना बगाउन तयार हुने युवाले देशभित्रै बसेर धेरै गर्न सकिन्छ भन्ने भाष्य निर्माण गर्नुपर्छ। गर्नेहरूका लागि देशभित्रै धेरै सम्भावना छ। अझ युवा जनशक्ति जुनसुकै मुलुकका लागि पनि समृद्धिको पहिलो आधारस्तम्भ मानिन्छ। युवावर्ग मुलुकको राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रूपान्तरणको संवाहक शक्ति भएको सर्वस्वीकार्य छ।
अन्त्यमा, अर्काको देशमा गएर भाँडा माझ्ने र शौचालय सफा गर्ने काम पनि गर्न तयार हुने तर आफ्नै देशमा सानका साथ कृषि, पशुपालन वा आफ्नै पेसा व्यवसाय गर्न आनाकानी गर्ने प्रवृत्ति युवाले हटाउनुपर्छ। सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सारिएको सन्दर्भमा अब युवाले ‘नेपालमा केही हुन्न’ भन्ने भन्दा पनि ‘नेपालमा सबथोक छ’ भन्नुपर्छ।
प्रतिक्रिया दिनुहोस !
