सुन बोकेर नुन खोज्दै डोल्पा

सुन बोकेर नुन खोज्दै डोल्पा

भूगोलका हिसाबले मुलुककै ठूलो जिल्ला डोल्पामा सुनको सिरानी हालेर नुनको खोजीमा दौडिरहेकै छ।

हिमाली जिल्ला डोल्पा ठूलो जिल्लाको रूपमा परिचित छ। तर, डोल्पाको परिचय यतिमात्र हैन। डोल्पा एउटा खुला विश्वविद्यालय पनि हो। जीवन्त संस्कृति बोकेको अनुपम ठाउँ डोल्पामा सुन्दरतासँगै भौगोलिक अभाव, दुर्गम क्षेत्रका कठिनाइ र जटिलताजस्ता दु: खका अनगिन्ती खुड्किला छन्। सुनेको थिएँ, कर्णाली र कर्णालीमा पनि डोल्पा पुगेपछि मात्र नेपाल चित्रित हुन्छ भन्ने। साँच्चै रहेछ। शिक्षक सेवाको तयारी गर्दा रोजाइ डोल्पा भयो। आयोगले सिफारिस गरेपछि सदरमुकाम दुनैतर्फ बढें। जब दुनैसम्मको यात्रा भयो। बाटोमै कहालीलाग्दो कर्णाली देखें।

नियुक्ति बुझ्दै काइके गाउँपालिकाको भेरी आधारभूत विद्यालयतर्फ अघि बढें। सडक नै छैन। भीरको घोडेटो बाटो। तल भेरी नदी। भेरीको तीरहुँदै बैजिबारातर्फ उकालो लागें। वरपर हेर्दा सुन्दर ! भोगाइ गारो। सानो गोरेटो बाटो। झरिहाले सिधै भेरीमा। बाँच्ने कुनै आस थिएन। धारापानीको उकालो लाग्दै गर्दा पारी देखिने सहर तारा, गुम्बा तारा र टुप्पा तारा गाउँहरूको दृश्य पनि उस्तै थिए। बाँदर लड्ने भिर। बाटोमा हिँड्दै गर्दा घोडा र खच्चडले गाउँको जीविका बोकिरहेका थिए। साँच्चै यो घोडा र खच्चड नहुने हो भने खाना र दानाको भारी बोकेर कसरी जीविकाको जोहो गर्थे होला ? यस्तै अनगिन्ती प्रश्न बोकेर उकालो लाग्दै गर्दा धेरै बालबालिका ओरालो लागेको भेटे। घोडा डो¥याइरहेका नाङ्माङ छिरिङलाई सोधें, यी केटाकेटी किन दुनैतिर लागेका ? ‘यिनीहरू दुनै हैन, पढ्न ताप्रिचा लागेका हुन्।’

अभिभावकको हात समाउँदै भविष्य खोज्दै उनीहरू अर्को गाउँ पुगे। घरभन्दा धेरै टाढा। झन्डै गाडीको यात्रामा कर्णालीको राजधानी सुर्खेत पुग्नेजतिकै। हिँडेर से–फोक्सुण्डोको ताप्रिचा पुग्नुपर्ने। त्यो विद्यालय आवासीयसहित व्यवस्थित रहेछ। सबैले सन्तानको भविष्य त्यो विद्यालयमा पढेर राम्रो हुने देखे। आफ्नो बालबालिकालाई घरभन्दा धेरै टाढा भविष्य बनाउन छाडे। मनमा अनगिन्ती प्रश्न राख्दै एक दिनको हिँडाइपछि काइकेको भेरी आधारभूत विद्यालय पुगें। जिम्मेवारी सुरु भयो। चिटिक्कको विद्यालय। कक्षाकोठा र शौचालय थिए। विद्यार्थीका लागि चाहिने पुस्तक र कम्प्युटर। बत्तीको लाइन थिएन। तर, निर्धक्क धान्ने सोलार थियो। विद्यार्थी कम। हाल कक्षा ७ सम्ममा मात्र सञ्चालन भएको आधारभूत विद्यालय हो।

बस्दै गर्दा यहाँको भूगोल, परिवेश, रहनसहनलगायत धेरै संस्कार र संस्कृति बुझें। बौद्ध धर्मावलम्बी, जनजाति बस्ती, उनीहरूको आफ्नै मातृभाषा खाम मेरो लागि नयाँ। कति विद्यार्थी खाम र नेपाली दुवै भाषा प्रयोग गर्थे। तर म बुझ्दिनथें। सुरुमा उनीहरूलाई बुझाउन अलि कठिन भयो। विस्तारै बानी पर्दै जाँदा उनीहरूको भाषा थोरै बुझ्न थालें। सोहीअनुसार विद्यार्थी र आफ्नो सिकाइ बढाउँदै लगें। संविधानको मौलिक हकको धारा ३१ मा उल्लेख गरिएको प्रत्येक नागरिकलाई आधारभूत तहसम्म अनिवार्य र नि: शुल्क शिक्षा भनिएको छ। त्यही शिक्षा प्राप्त गर्न बालबालिका घरबाट विद्यालयको दूरी टाढा भएका कारण आफन्तको घरमा बस्न बाध्य छन्। 

डोल्पामा दुनैभन्दा माथि विकास उकालो लाग्न सकेको छैन। डोल्पाले शिक्षा, स्वास्थ्यलगायत दैनिक जीवनमा धेरै कष्ट भोग्दैछ। दु: ख पचाएर भए पनि जीवन धान्नुपर्ने बाध्यता जीवनका हरेक खाल्डाखुल्टीमा टिलबिल छन्।

पढ्दापढ्दै बीचमा पढाइ छोड्न बाध्य छन्। आर्थिक अवस्था कमजोर भएका कारण सामान्य कापीकलम किन्न नसक्ने भएरै कुनै परिवारका बच्चाहरू आधारभूत शिक्षा प्राप्त गर्नबाट बञ्चित छन्। कुनै परिवारले राम्रो शिक्षा दिने नाममा घरभन्दा टाढा राख्न बाध्य छन्।

देशका ७ प्रदेशमध्ये सबैभन्दा पिछडिएको प्रदेशका रूपमा कर्णाली प्रदेशलाई लिने गरिन्छ। राष्ट्रिय योजना आयोगले सन् २०२१ मा प्रकाशन गरेको बहुआयामिक गरिबी सूचकमा कर्णाली प्रदेशका ३९.५० प्रतिशत जनता बहुआयामिक गरिबीमा रहेको देखाएको छ। यहाँको मुख्य पेसा कृषि र पशुपालन भए पनि वर्षमा एकपटक मात्रै उत्पादन हुने कृषिले परिवार पाल्न मुस्किल छ। मुख्य आर्थिक स्रोतका रूपमा रहेको यार्सागुम्बा निश्चित मूल्य नपाउँदै आर्थिक समस्याको कारण सस्तोमा बिक्री गरी घरको गर्जो टार्न बाध्य छन्।

पातलो बस्ती भौगोलिक विकटताका कारण प्रत्यक्ष असर स्वास्थ र शिक्षामा देखिन्छ। २०८५ सम्ममा प्रत्येक नागरिकले आधारभूत तह पूरा गर्नुपर्ने नीति छ। तर भूगोल, संरचना र जीविका हेर्दा २०८५ मै यो सम्भव देखिँदैन। सरकारले सबै नागरिकको गुणस्तरीय शिक्षाको लागि यस्ता समुदाय र वर्गको जीविकाको लागि पनि योजना ल्याउनुपर्ने देखिन्छ। गाउँमा स्वास्थ्यचौकी भवन छ। तर न स्वास्थ्यकर्मी, न डाक्टर न सिटामोल नै छ। पृथ्वीमा नआउँदै सास गुमाउनेहरूका कथा अनगिन्ती छन्। एकदिन म विद्यार्थीलाई पढाउँदै गर्दा फुच्चे हेलिकप्टर आयो। गाउँकी महिलाले एउटा बच्चाको जन्म दिइसकेकी थिइन्। अर्को जन्मने तरखरमा। तर ती महिलाले अर्को बच्चा जन्माउन नसकेपछि हेलिकप्टर बोलाइएको रहेछ। प्रदेश अस्पताल सुर्खेतमा बच्चा सकुशल जन्मियो। आमा र दुवै बच्चा स्वस्थ थिए। गाउँमा फर्केपछि निमोनियाका कारणले दुवै वच्चाको सास गुम्यो। नजिक अस्पताल नभएपछि, औषधि नभएपछि, डाक्टर भेट्न सहज नभएपछि दूरदराजका गाउँका यस्तै नवजात शिशुहरूले अकालमा ज्यान गुमाउनु परेका घटना अनगिन्ती भेटिए।

झट्ट हेर्दा विकासको कार्यक्रम सुरु भएको देखिन्छ। डोजर इन्जिनियरहरूबाट कामचलाउ सडकहरू खन्न सुरु गरिएछन्। तर पनि डोल्पामा दुनैभन्दा माथि विकास उकालो लाग्न सकेको छैन। डोल्पाले शिक्षा, स्वास्थ्यलगायत दैनिक जीवनमा धेरै कष्ट भोग्दै जानुपर्छ। सुनको सिरानी हालेर नुनको खोजीमा दौडनुको बाध्यता उस्तै छ। दु: ख पचाएर भए पनि जीवन धान्नुपर्ने बाध्यता जीवनका हरेक खाल्डाखुल्टीमा टिलबिल छन्। उनीहरूका लागि जसरी पनि बाँच्नु थियो। जीवनमा बाँच्नुभन्दा ठूलो कुरा अरू हैन पनि, त्यसैले कर्णालीको जीवन एउटा गहिरो पाठशाला पनि हो।

सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशले सामुदायिक विद्यालयको शिक्षाको स्तरोन्नतिका लागि नवीन कार्य आरम्भ गरे पनि अझै सुधार ल्याउन पर्छ कि ? सामुदायिक विद्यालयको वास्तविकता नियाल्दा राज्यले शिक्षा क्षेत्रमा ठूलो बजेट लगानी गरे पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन। डोल्पाका धेरै सामुदायिक विद्यालयको अवस्था निकै दयनीय छ। सामुदायिक विद्यालयमा गुणात्मक शिक्षा भएन, सहभागितामूलक विधि र पद्धति भएन भन्र्छौं तर शिक्षकलाई उपयुक्त तालिमको अभाव छ। हिमाली क्षेत्रमा शिक्षकलाई टिकाउन नै कठिन छ।

कर्णालीका १० जिल्लाका वरिष्ठ शिक्षकहरूलाई विशिष्ट किसिमको तालिमसमेत दिए पनि तिनको प्रभावकारितामा प्रश्न उठ्छ। कर्णाली शिक्षा र स्वास्थ्यमात्र होइन, बहुआयामिक रूपमै गरिबीको चपेटामा छ। कर्णालीको शिक्षामा सुधार ल्याउन बहुआयामिक प्रयास आवश्यक छ। पहिलो, आधारभूत पूर्वाधारको विकास अत्यावश्यक छ। विद्यालयहरूमा पर्याप्त भवन, शौचालय, खानेपानी, पुस्तकालय र आईसीटीजस्ता सुविधा सुनिश्चित गर्नुपर्छ। दोस्रो, गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम र प्रेरित शिक्षकहरूको आवश्यकता छ। शिक्षकहरूको तालिम, निरन्तर क्षमता अभिवृद्धि र स्थानीय भाषामा अध्यापन सामग्रीको विकास महŒवपूर्ण हुन्छ। बालबालिकालाई विद्यालयमा आकर्षित गर्न पोषणयुक्त मध्याह्न भोजन, छात्रवृत्ति, र बालमैत्री वातावरण आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.