विदुरमा त्रिदेशीय सडक कालोपत्रे
नुवाकोट : गल्छी–त्रिशूली–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाअन्तर्गत रहेको गँगटे–बट्टार–विदुर–ढुंगे सडकखण्ड मर्मत गरेर कालोपत्रे गरिएको छ। नेपाल सरकारले राष्ट्रिय गौरवको योजनामा समावेश गरेर गत आव २०७२/७३ देखि निर्माण सुरु गरेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक समयमै बन्न नसक्दा सदरमुकाम क्षेत्रमा पानी पर्दा हिलो, घाम लाग्दा धूलो हुन थालेपछि विदुर नगरपालिकाले मर्मत–सम्भार गरेको हो।
नुवाकोटको सदरमुकाम क्षेत्रमा सडक खाल्डाखुल्डी परेपछि विदुर नगरपालिकाले मर्मत गरेको छ। विदुर नगरपालिकाले गँगटे, बट्टार, विदुर, ढुंगे क्षेत्रमा जीर्ण र धुलाम्मे बनेको सडकको खाल्डाखुल्डी पुरेर कालोपत्रे गरेको हो। सडक मर्मतका लागि नगरपालिकाले यन्त्र उपकरण, जनशक्ति तथा आर्थिक लगानी गरेर मर्मत–सम्भार गरेको मेयर राजन श्रेष्ठले बताए।
उनका अनुसार गल्छी–रसुवागढी योजनाको यो खण्डमा सुरुदेखि नै सडक प्रभावितले घर, टहरा र जग्गाको मुआब्जाको माग राख्दै सडक अवरुद्ध गर्दै आइरहेका छन्। अदालतले यो खण्डको सडक निर्माण अगाडि बढाउन जग्गाको मुआब्जा विगतमा नै दिइसकेकोले घर, टहराको यथोचित मुआब्जा दिनुपर्ने फैसला गरे पनि भौतिक संरचना हटाउने प्रक्रियाले गति लिन नसकेको स्थानीयवासीले बताए।
योजना कार्यालयले मुआब्जा वितरणका लागि आवश्यक बजेट नभएकाले सडक विभागमा माग गरिएको जानकारी दिएको छ। उक्त सडकमार्ग सरकारले त्रिदेशीय मार्गका रूपमा अगाडि बढाइरहेको छ।
प्रतिक्रिया दिनुहोस !