७५३ तहमै पुगे वाणिज्य बैंक

७५३ तहमै पुगे वाणिज्य बैंक

काठमाडौं : मुलुकमा संघीयता आएपछि हरेक नेपालीलाई वित्तीय पहुँच पुर्‍याउन ७ सय ५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने नीति आठ वर्षमा बल्ल पूरा भएको छ। 

नेपाल राष्ट्र बैंकले विसं २०७४ मा देशभरका सबै स्थानीय तहमा वाणिज्य बैंकको एक शाखा खोल्ने नीति लिए पनि विगत एक वर्षदेखि एउटा गाउँपालिकामा बैंक शाखा पुगेको थिएन। त्यो हो, सुदूरपश्चिममा अवस्थित बझाङको साइपाल गाउँपालिका। अब यहाँ पनि गभर्नर महाप्रसाद अधिकारीले सोमबार बैंक शाखाको उद्घाटन गरे।

उक्त गाउँपालिकामा एभरेस्ट बैंकले शाखा खोल्नुपर्ने जिम्मेवारी रहेकोले अब यो गाउँपालिकामा बैंकिङ पहुँच पुगेको हो। यसो गाउँपालिकामा बैंक शाखा नहुँदा वृद्धाभत्ता बुझन वृद्धवृद्धाहरूसमेत सास्ती खेपेर सदरमुकाम चैनपुर सदरमुकारसम्म तीन–चार दिन लगाएर हिँडेर जानुपर्र्ने बाध्यता थियो।

अब यो बाध्यताको अन्त्य भएको छ। यसअघि गाउँपालिका धेरै दुर्गममा रहेको र आवश्यक पूर्वाधार केही नभएकाले शाखा खोल्न सम्भव नभएको बैंकले बताउँदै आएको थियो। 

सुदूरपश्चिमको सबैभन्दा विकट बझाङको साइपाल गाउँपालिका हो। अरू पालिकामा सडकहरूले छोएको छ। तर यहाँ एक गाउँबाट अर्को गाउँ जान एक दिन लाग्ने डाँडाहरू छन्। उक्त क्षेत्रमा जनसंख्याको संख्या पनि कम छ। २०७८ को जनगणनाअनुसार करिब २ हजार ६ सय ५० जना मात्रै जनसंख्या रहेको छ। सडक नभएको, कम जनसंख्या भएकाले शाखा नखोले पनि सबै सरकारी कारोबारसहित जयपृथ्वी नगरपालिकाबाट हुने गरेकोले बैंकले सोही फन्डबाट सेवा प्रदान गर्ने प्रस्ताव राखेको थियो।

यसअघि मुलुकभर गत आर्थिक वर्ष २०७८/०७९ जेठसम्ममा ३ वटा स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको थिएन। दुर्गम भनिएका धादिङको रुवीभ्याली गाउँपालिका र जाजरकोटको जुनीचाँदे गाउँपालिकामा समेत थिएन। तर २०७९ असारसम्म आइपुग्दा उक्त गाउँपालिकासहित ७ सय ५२ तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार भए। यसको करिब २ वर्षपछि बझाङको साइपाल गाउँपालिकाकामा पनि वाणिज्य बैंक पुगेपछि बल्ल सबै तहमा बैंकिङ पहुँच पूर्ण भएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल बताउँछन्। 

उनका अनुसार धेरै दुर्गम भएकाले खोल्न समस्या आएको तर अहिले सोही गाउँपालिकाको पूर्वाधारहरू भएको ठाउँमा एभरेस्ट बैंकले शाखा सुरुवात गरेको हो। ‘साइपाल गाउँपालिकाको धलौन भन्ने स्थानमा बैंक शाखा पुग्नु आफैंमा उपलब्धि हो। बझाङको सदरमुकाम चैनपुरबाट तीन घण्टाको जिपयात्रा गरेपछि तलकोट नाम गरेको गाउँपालिका पुगिन्छ अनि त्यहाँबाट ७ देखि ८ घण्टा पैदलयात्रा गरेपछि बल्ल धलौन भन्ने स्थानमा पुगिन्छ। 

साइपाल गाउँपालिकाको सदरमुकाम काँडा भन्ने स्थानमा छ। धलौनबाट काँडासम्म पुग्न भने अझ ६ देखि ७ घण्टा हिँड्नु पर्छ। त्यसैले यसपटक साइपालको सदरमुकाम काँडामा शाखा नखोली धलौनमा खोलिएको हो,’ राष्ट्र बैंकले जानकारी दिएको छ।

विगतका वर्षमा सरकारले एक व्यक्ति एक खाता अभियानको समेत सुरुवात गरेको थियो। सरकार संघीय संरचनामा गएपछि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई भाग लगाएर वाणिज्य बैंकको कम्तीमा एउटा शाखा हरेक स्थानीय तहमा खोल्न निर्देशन दिएको थियो। तर वर्षौंपछि भए पनि एभरेस्ट बैंकले शाखा सञ्चालनमा ल्याएको छ। दुर्गम स्थानीय तहमा बैंक नपुग्दा वृद्ध भत्ता बुझ्नदेखि सम्पूर्ण कामका लागि सदरमुकाम नै धाउनु परेको स्थानीयको गुनासो थियो। 

साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्रबहादूर धामी यसअघि पनि बैंकले भौगोलिक अवस्था, घरभाडालगायतको बुझ्न आएको तर अहिलेसम्म नखोलेकोबारे अन्नपूर्ण पोस्ट्लाई जानकारी दिएका थिए। गाउँमा कतिपय कारोबार बैंकिङ प्रणालीबाट मात्रै छ। सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गतको भत्ताहरू, वृद्धाभत्ता, कर्मचारीलाई तलब बैंकबाटै गर्नुपर्ने भएकाले वृद्धवृद्धाहरू भत्ता बुझ्न सदरमुकामसम्म ७० किलोमिटरको बाटो ३–४ दिन लगाएर पुग्नुपर्ने बाध्यता भएको उनले गुनासो गरेका थिए। 

यसअघि दुर्गम गाउँपालिकामा सडक, विद्युत्, इन्टरनेट टेलिफोनजस्ता सञ्चार साधन, भवन र शान्ति सुरक्षाको प्रत्याभूति नभएकोले शाखा कार्यालय खोल्न नसकेको बैंकरहरूले जनाएका थिए। बैंकहरूले यस्ता कारण खुलाउँदै कार्यालय खोल्न नसकेकोबारे नेपाल राष्ट्र बैंकमा पत्र बुझाएका थिए। बैंकहरूले दुर्गम स्थानमा शाखा खोल्न अग्रसरता नदेखाएपछि सबै स्थानीय तहमा पहुँच पुर्‍याउन गोलाप्रथा प्रणाली समेत अपनाइएको थियो। 

केन्द्रीय बैंकले सबै तहमा बैंक शाखा विस्तार गर्न दबाब दिएको थियो। यसपछि त्यतिबेला रहेको २७ वटै वाणिज्य बैंकहरूबीच कुन कुन गाउँपालिकामा जाने भनेर गोलाप्रथा गरेर भाग लगाइएको थियो। 

सोही भाग लगाउँदा एभरेस्ट बैंकलाई वझाङको साइपालमा शाखा विस्तार गर्नुपर्ने भएको थियो। केन्द्रीय बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको संख्या (लघुवित्त वित्तीय संस्थासमेत) २०८१ पुसमसान्तमा १ सय ७ रहेको छ।

यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा संख्या २०८१ असार मसान्तमा ११ हजार ५ सय ३० रहेकोमा २०८१ पुस मसान्तसम्ममा ११ हजार ५ सय ४५ पुगेको छ। अब साइपाल गाउँपालिकाको बैंक शाखा थपिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.