शिक्षक सक्रियताले बढ्यो सिकाइ उपलब्धि
रोशन गाउँले क्षेत्री, हरि सुन्दर छुँका, अमृता बुढाथोकी
पाँच वर्षअघि कावासोती नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको संख्या सात हजार रहेकोमा अहिले बढेर १३ हजार पुगेको छ। विद्यार्थी संख्यामात्र होइन्, सिकाइ उपलब्धि पनि वृद्धि हुँदै गएको छ। कक्षा ८ को सिकाइ उपलब्धि ३९ प्रतिशतबाट बढेर ६२ प्रतिशत पुगेको छ। यो उपलब्धि सजिलै प्राप्त भएको भने होइन। यसक्रममा नगरपालिकाले कानुन बनाएरै शिक्षकको पेसागत विकासमा जोड दिएको देखिन्छ। २०७५ सालमा नगर शिक्षा कार्यविधि जारी गर्दै पालिकाले शिक्षकको पेसागत विकासलाई महत्त्व दिएको छ। जसले शिक्षकलाई पढाउनभन्दा सिकाउन प्रोत्साहित गरेको छ। कार्यविधिमै शिक्षक प्रविधिमैत्री बन्दै आधुनिक प्रविधिमैत्री शिक्षण गराउनुपर्ने व्यवस्था गरिएको छ। समयसापेक्ष प्रविधिमैत्री शिक्षण नगर्ने शिक्षकलाई कारबाही गर्ने व्यवस्थासमेत कार्यविधिमा छ। हरेक विद्यालयको २५ प्रतिशत शिक्षकलाई वर्षमा कम्तीमा १० दिनको पेसागत तालिम दिने व्यवस्था कार्यविधिमा छ। साथै, शिक्षकले पेसागत विकासको तालिम लिएर मात्रै नपुग्ने तालिममा सिकेको सीप कक्षा कोठामा प्रयोग नगरे कार्बाही हुने व्यवस्था कार्यविधिमा समेटिएको छ।
शिक्षकको सुधारबिना शिक्षा नसुध्रने भएकाले पालिकाले कानुन बनाएरै शिक्षकको पेसागत विकास र शिक्षण सिकाइ सुधारलाई जोड दिएको नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारी बताउँछन्। पालिकाले कार्यविधि मात्रै नबनाएको त्यसको कार्यान्वयनका लागि अनुगमन, मूल्यांकनलाई पनि तीव्रता दिँदै आएको उनको भनाइ छ। पालिकाले शिक्षकलाई मात्रै होइन, प्रधानाध्यापक र विव्यस पदाधिकारीहरूलाई समेत हरेक वर्ष तालिम दिँदै आएको छ। शिक्षकलाई नवीनतम प्रविधिमैत्री शिक्षण, ईसीडी शिक्षकहरूलाई पुनर्ताजगी, एकाउन्टेन्टहरूलाई लेखा व्यवस्थापन, प्रधानाध्यापकलाई नेतृत्व विकास र विव्यस प्रतिनिधिहरूलाई विद्यालय सुधार योजना (एसआईपी) सम्बन्धी तालिम दिने गरिएको स्रोत शिक्षक तीर्थ कँडेल बताउँछन्। तालिमका लागि कावासोती नगरपालिकाले पाँच वर्षमा झन्डै ८० लाख खर्च गरेको छ भने यस वर्षमात्र १८ लाख रुपैयाँ बजेट छुट्ट्याएको छ। ‘विव्यसलाई तालिमपछि विद्यालयमा राम्रो योजना बन्ने गरेको र त्यसलाई प्लानिङ, मनिटरिङ, इभाल्युएसन र रिभ्युको पीएमईआरको प्रोसेसमा लगेर गति दिएको पाएका छौं,’ कँडेलले भने। कावासोतीले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा ३५० र पछि आफैंले थप ५० गरी ४०० शिक्षकलाई शिक्षण सिकाइका लागि कोर स्किल तालिम दिएको छ। पाठ्यक्रम पनि १० वर्षमा परिवर्तन र पाँच वर्षमा परिमार्जन हुने भएकाले शिक्षकले आफूलाई परिमार्जन नगरे सिकाइ नसुध्रिने स्रोत शिक्षक कँडेल बताउँछन्।
अनुगमनले शिक्षक सक्रिय : दाङबाट एक वर्षअघि सरस्वती नमुना माविमा आएकी शिक्षक सुनीता लम्साल विद्यालयमा पालिका, प्रअ, विव्यस र शिअसंबाट दैनिकजसो अनुगमन हुने भएकाले हरेक दिन मिहिनेत गरेर सिकाउने गरेको बताउँछिन्। ‘हरेक दिन नयाँ विधि र सिकाइ सामग्रीबाट शिक्षण गराउने गरेको छु’ लम्सालले भनिन्, ‘म शिक्षकभन्दा आफूलाई एउटा सहजकर्ताको रूपमा लिन्छु, आफूले बोलेरभन्दा विद्यार्थीलाई आफैं गराएर सिकाउँछु। एक घण्टा कराएर सिकाइने विषयवस्तु शिक्षण सामग्रीबाट पाँच मिनेटमा सिकाइने रहेछ।’ श्रव्यदृश्य सामग्री देखाएर सिकाउँदा विद्यार्थीले ध्यान दिने, छिटो बुझ्न पाएको उनले अनुभव सुनाइन्। त्रिभुवन बाल मावि ढोकीका नेपाली विषय शिक्षक ठाकुरप्रसाद सिग्देल पहिले तीन चरणमा टीपीडी तालिम लिएको भए पनि पछिल्लो पाँचदिने नवीनतम शिक्षणसम्बन्धी तालिम आफ्नो लागि ज्यादा प्रभावकारी बनेको बताउँछन्। हिजोका तालिम चक र कालोपाटीमा आधारित परम्परागत शिक्षण केन्द्रित हुने भए पनि पछिल्ला तालिमले प्रविधि मैत्री बन्न र सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्न सिकाएको उनी बताउँछन्। पछिल्ला तालिमले आफूमा शिक्षण सिकाइमा नयाँपन, नयाँ अनुभूति, जोस र जाँगर थपेको अनुभव सुनाउँदै सिग्देल भन्छन्, ‘अचेल मैले दैनिक पाठ योजना निर्माण, पाठसँग सम्बन्धित सिकाइ सामग्री निर्माण र कक्षाकोठामा प्रविधिबाट श्रव्यदृश्य सामग्री प्रस्तुत गर्दै सिकाउन थालेको छु। अहिलेको प्रविधिमैत्री शिक्षणपछि मैले धेरै बोल्नुपर्ने, श्रम गर्नुपर्ने, थकान हुनुपर्ने अवस्था छैन।’
ब्रिटिस काउन्सिलबाट प्रदान गरिएको कोर स्किल र विषयगत तालिम पाएपछि कावासोतीका विद्यालयहरूमा धमाधम विषयगत ल्याबहरू निर्माण हुन थालेका छन्। विषयगत शिक्षक र विद्यार्थीको सक्रियतामा हरेक विषयका छुट्टाछुट्टै ल्याबहरू बनेका छन्। ‘हामीले हाम्रो विद्यालयलाई लेब्रोटरी विद्यालयको रूपमा अगाडि बढाउन खोजेका छौं’, त्रिभुवन बाल मावि ढोकीका प्रअ दीपकनाथ घिमिरेले भने, ‘हरेक विषयका ल्याब छन्, शिक्षक ल्याबमै बस्नुहुन्छ, विभिन्न कक्षाका विद्यार्थी ल्याबमा जाँदै सिक्ने गर्छन्।’ कावासोतीकै नवदुर्गा आधारभूत विद्यालय भाटटोलाले भने कक्षाकोठाको अभावमा छुट्टै विषयगत ल्याब नबनाएर हरेक कक्षालाई नै शैक्षिक ल्याबको रूपमा विकास गरेको छ। हरेक कक्षा विषयगत सिकाइ सामग्रीले भरिभराउ देखिन्छन्। स्याङ्जा वालिङस्थित पूर्णामृत भवानी माविकै शिक्षक मुक्तिप्रसाद रेग्मी टीपीडी तालिमलाई शिक्षक र विद्यार्थीको सिकाइलाई जोड्ने पुलजस्तै भएको बताउँछन्। तालिममा सिकेका कुराहरूलाई विभिन्न कठिनाइका बीच पनि लागू गरिरहेको उल्लेख गर्दै उनी भन्छन्, ‘पहिले किताबबाटै, कुनै शैक्षिक सामग्रीको प्रयोग नगरी पढाउँथ्यौं तर तालिम पाएपछि त्यसको पाठ्यवस्तु के हो, विषयवस्तु के हो ? लेसन प्लानिङ कसरी गर्ने, त्यो प्लानिङअनुसार उद्देश्य कसरी पूरा गर्ने भन्ने ज्ञान भयो। त्यहीअनुसार नै पढाइरहेको छु।’ पूर्णामृत भवानी माविले आफ्नो शिक्षकले पाएको तालिमको उपयोग भएको छ वा छैन भन्ने बुझ्नका लागि पढाइरहेकै समयमा कक्षाकोठामै निरीक्षण गर्ने गर्छ। अनि विद्यार्थीसँग सोधखोज पनि गर्ने गरेको छ। त्यसका साथै शिक्षकको विषयगत नतिजाका आधारमा पनि तालिमको उपयोगिताबारे बुझ्ने गरेको छ। ‘शिक्षकको क्लासरुम टिचिङलाई नै पछाडि बसेर हेर्छौं।काउन्सिलिङ गर्छौं। पर्फमेन्सको आधारमा शिक्षकलाई पुरस्कृत गरेका छौं,’ प्रअ अर्यालले भने।
वालिङ नगरपालिकामा हाल बालविकास केन्द्रमा ७२, आधारभूत तह (कक्षा १—५) मा २६२, आधारभूत तह (कक्षा ८) मा ६६, माविका (कक्षा ९—१०) मा ६० र मावि (कक्षा ११–१२) मा २५ गरी जम्मा ४८५ जना शिक्षकहरू कार्यरत छन्। तीमध्ये करिब ९२ प्रतिशत शिक्षकहरू तालिम प्राप्त रहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले ब्रिटिस काउन्सिलसँग सहकार्य गरेर तीन सय शिक्षकलाई शिक्षण सिकाइको कोर स्किल तालिम दिइसकेको छ। साथै, स्थानीय प्रशिक्षक उत्पादन गरी बाँकी शिक्षकलाई पनि तालिम दिने काम भइरहेको छ। तिनै शिक्षकहरूबाट आधारभूत तहमा १,७८५ र मावि तह (कक्षा १० सम्म) ९९३ विद्यार्थी अध्ययनरत छन्। शिक्षकहरूको पेसागत विकाससँगै कावासोती नगरपालिकाको कक्षा ८ को समग्र सिकाइ उपलब्धि बढेको देखिए पनि अरूमा भने अपेक्षित सिकाइ उपलब्धि बढेको देखिँदैन। चण्डेश्वरी माविले गत वर्षभन्दा यस वर्ष सिकाइ उपलब्धि बढाएको देखिन्छ। गत वर्ष १–५ कक्षा मा २.७९ रहेकोमा यो वर्ष २.९०, ६–८ मा २.४१ रहेकोमा ३.० र ९–१० मा २.५३ रहेकोमा ३.०१ पुगेको देखिन्छ। कक्षाकोठालाई नै विषयगत ल्याबझैं सिंगारेर सिकाउने कावासोतीको नवदुर्गा आधारभूत विद्यालयको १–५ को औसत सिकाइ उपलब्धि ८१.२९ र ६–८ को ७५.८४ प्रतिशत देखिन्छ।
केही विद्यालयको सिकाइ उपलब्धि सुधार हुन सकेको छैन। त्रिभुवन बाल मावि ढोकीको कक्षा ७ को विज्ञान विषयको ०.७१ जीपीए औसत सिकाइ उपलब्धि देखिन्छ। यस्तै १–५ कक्षाको विज्ञान विषयको औषत सिकाइ उपलब्धि २.७९ र ६–८ को १.५७ जीपीएमात्रै देखिन्छ। त्यस्तै, सरस्वती नमुना माविको कक्षा ८ को विषयगत सिकाइ उपलब्धि अंग्रेजी मा २.६, नेपालीमा २.६, गणितमा २.५, विज्ञानमा २.९, सामाजिकमा २.०, स्वास्थ्यमा २.३ जीपीए रहेको छ। वालिङको आमडालीस्थित राष्ट्रिय मावि मिर्दीका प्रधानाध्यापक छविलाल अर्याल पाठ्यक्रम र पाठ्यपुस्तक पढाउनेभन्दा पनि शिक्षकले विद्यार्थीलाई पढ्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘यदि विद्यार्थीलाई शिक्षकले पढ्न सके भने कक्षाकोठामा अवश्य सुधार आउनेछ।’
शिक्षक तालिमसँगै सुध्रियो अंग्रेजी सिकाइ : नवलपुर कावासोती–१७ स्थित त्रिभुवन बाल माविका अंग्रेजी शिक्षक दानबहादुर महतोले नगरपालिकाबाट तीन चरणको अंग्रेजी शिक्षण तालिम पाए। शिक्षण विधि, विषयवस्तु र कार्यमूलक अनुसन्धानमा आधारित ती तालिमले उनको शिक्षणशैलीमात्रै सुधारेन, अंग्रेजी विषयको सिकाइ उपलब्धिमा पनि बढोत्तरी ल्यायो। ‘तीन वर्षदेखि अंग्रेजी विषयमा एसईईमा एकजना पनि अनुत्तीर्ण हुँदैनन्। अन्य कक्षाको उत्तीर्ण दर पनि लगभग शतप्रतिशत छ’ शिक्षक महतो भन्छन्। अहिले आफूले बोल्ने अभ्यास गराएर, अन्तर्वार्ता गराएर, खेलाएर, तस्विर, भिडियो देखाएर, विभिन्न सिकाइ सामग्री देखाएर अंग्रेजी शिक्षण गर्दै आएको उनी बताउँछन्। ‘मैले विद्यार्थीको स्पेलिङ किन कमजोर हुन्छ भन्ने विषयमा कार्यमूलक अनुसन्धान गरी त्यसको आधारमा समस्याको समाधान गर्न सफल भएँ’ शिक्षक महतो भन्छन्। कावासोती नगरपालिकाले ब्रिटिस काउन्सिलसँग सहकार्य गरेर सञ्चालन गरेको अंग्रेजी विषय शिक्षण तालिमले पालिकाकै अंग्रेजी विषयको सिकाइ उपलब्धि सुधारेको छ। अंग्रेजी शिक्षण तालिम सम्पन्न भएकै अर्को वर्षदेखि नतिजामा सुधार देखिन थालेको छ। तीन वर्षअघि ७० प्रतिशत रहेको अंग्रेजी विषयको उत्तीर्ण दर अहिले ९० प्रतिशत पुगेको छ। ‘कक्षा ८ मा पालिकाका १७ सय विद्यार्थीमध्ये नेपालीमा १ सय २५ जना अनुत्तीर्ण रहँदा अंग्रेजीमा ४२ जनामात्रै अनुत्तीर्ण रहे’–स्रोत शिक्षक तीर्थ कँडेलले भने।
शिक्षकको निरन्तर पेसागत विकास : स्याङ्जा वालिङस्थित पूर्णामृत भवानी माविका अंग्रेजी शिक्षक दीपक लम्साल ब्रिटिस काउन्सिलले दिएको अंग्रेजी विषयको शिक्षण तालिमले आफूहरूको निरन्तर पेसागत विकास (सीपीडी) गरिरहेको बताउँछन्। शिक्षकलाई तालिम दिएरमात्रै छोडिएको छैन, निरन्तर कक्षा अनुगमन र सुझाव दिने काम पनि भएकाले तालिममा सिकेका सीप कक्षाकोठामा पुग्ने गरेको लम्साल बताउँछन्। ‘यो तालिमले फ्रुटमा नभई रुटमा पुगेर समस्या समाधान गर्न सघाएको छ’ लम्सालले भने। तालिमपछि विद्यार्थीको सिकाइ उपलब्धिमा वृद्धि भएको भन्दै उनले भने– ‘मैले पढाउने कक्षाबाट एसईईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भए। तीन वर्ष अगाडि ८० प्रतिशत उत्तीर्ण हुन्थे।’ शिक्षकको तालिमपछि विद्यालयको मात्रै होइन समग्र पालिकाकै अंग्रेजी विषयको उत्तीर्ण दर बढेको छ। तीन वर्षअघि ५३ प्रतिशत रहेको कक्षा ८ को अंग्रेजी विषयको उत्तीर्ण दर अहिले ८६ प्रतिशत पुगेको छ। त्यस्तै एसईईको उत्तीर्ण दर ४६ प्रतिशतबाट बढेर ७९ प्रतिशत पुगेको छ। मोटिभेसन र शिक्षाको निरन्तर पेसागत विकासमा ब्रिटिस काउन्सिको शिक्षक तालिम एकदमै प्रभावकारी बनेको वालिङ नगरपालिकाकी शिक्षा अधिकृत गीता पाठक बताउँछिन्। पहिले पालिकाका १ सय १५ जना अंग्रेजी शिक्षकलाई तालिम दिइएको थियो। निरन्तरताका लागि ७ जना शिक्षकलाई स्थानीय प्रशिक्षकको तालिम दिइयो।
पाल्पा माथागढी–३ स्थित दिव्यज्योति माविका अंग्रेजी शिक्षक नारायणबहादुर मसराङ्गी नगरपालिकाले दिएको अंग्रेजी शिक्षण तालिमले आफूलाई बढी चलायमान, सक्रिय र जागरूक बनाएको बताउँछन्। ‘अरू तालिम लिएपछि सकिन्थ्यो, यो तालिम लिएपछि निरन्तर कक्षा अवलोकन, मूल्यांकन र फिडब्याक लिने काम हुन्छ’ उनले भने, ‘तालिमका सिप कक्षाकोठामा लग्नै पर्छ पहिले एकोहोरो रूपमा पढाइन्थ्यो, अहिले विद्यार्थीलाई लेख्न, बोल्न लगाउँदै क्रियाकलापमा आधारित शिक्षण गर्न थालेको छु। पहिले एकोहोरो रूपमा पढाइन्थ्यो, अहिले लेख्न, बोल्न लगाउँदै क्रियाकलापमा आधारित शिक्षण गर्न थालेको छु।’ माथागढी गाउँपालिकाले पनि ब्रिटिस काउन्सिलसँगको सहकार्यमा पालिकाका १०१ जना अंग्रेजीका शिक्षकलाई तालिम दिँदै आएको छ। तालिमअघि अंग्रेजी विषयमा एसईईमा ३५ प्रतिशत उत्तीर्ण हुन्थे भने अहिले एसईईअघिको कक्षा १० को परीक्षामा ६५ प्रतिशत उत्तीर्ण भएका छन्।
शिक्षा पत्रकार समूहले नवलपरासीको कावासोती, स्याङ्जाको वालिङ र पाल्पाको माथगढी मा स्थलगत अध्ययन गरि तयार गरिएको रिपोर्टमा आधारित।
प्रतिक्रिया दिनुहोस !