१४औं साग २०२६ को जनवरीमा पाकिस्तानमा हुने
काठमाडौं : १४औं दक्षिण एसियाली खेलकुद (साग) सन् २०२६ को जनवरीमा हुने भएको छ। पाकिस्तानको लाहोरमा मंगलबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४औं साग सन् २०२६ को जनवरी २३ देखि ३१ सम्म आयोजना गर्ने निर्णय गरेको हो।
दक्षिण एसियाली ओलम्पिक काउन्सिल तथा पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष खालिद महमुदको अध्यक्षतामा बसेको बैठकले १४औं सागमा जम्मा २८ खेल समावेश गर्ने निर्णय पनि गरेको छ। जसमध्ये २७ खेलको निर्णय भइसकेको छ। आयोजकको हैसियतमा पाकिस्तानले अतिरिक्त दुई खेल थप्न पाउनेछ। पाकिस्तानले रोइङ खेल समावेश गरिसकेको छ भने अब एक खेल राख्न बाँकी छ। प्रतियोगितामा समावेश खेलका बारेमा विस्तृत छलफल गर्न मार्च अन्तिममा अर्को बैठक बस्ने र प्राविधिक पुस्तिका अप्रिल अन्तिमसम्म वितरण गर्ने निर्णय पनि गरेको छ।
बैठकले १४औं साग लाहोर, इस्लामावाद र फैसलावादमा आयोजना गर्ने निर्णय पनि गरेको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ सहभागी भएका थिए। बैठकमा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहेको थियो। १४औं साग २०२३ को मार्चमा आयोजना गर्ने तय भए पनि विभिन्न कारणले सर्दै आएको थियो। त्यसअघि १३औं साग २०१९ मा नेपालमा आयोजना भएको थियो।
प्रतिक्रिया दिनुहोस !