ल्होसारमा सुनसान भोटखोला
गोरखा : भिरालो पाखाको यो क्वाक गाउँ, चुमनुब्री गाउँपालिका वडा नं ४ मा पर्दछ । अहिलो ल्होसारको अघिल्लो दिनसम्म पनि यो गाउँका एक दुईबाहेक सबै घरको ढोका लागेका छन्। गाउँका मान्छेहरू कोही काठमाडौं गएका छन् त कोही गप। बुद्ध धर्मावलम्बीहरूको मात्र बसाई रहेको यो गाउँमा ल्होसारको कुनै रौनक छैन।
यहाँको मान्छेहरूले मान्ने सबैभन्दा ठूलो चाड ल्होसार हो जुन इष्टमित्र र आफन्तहरू भेला भएर धुमधामले मनाउने गरिन्छ। खाईपिई नाँच गान गरेर झन्डै १५ दिनसम्म धुमधामले मनाइने यो पर्वको यस गाउँमा कुनै रौनक छैन।
गाउँमा जम्मा तीनवटा घरको मात्र ढोका खुलेको छ। तीनवटा घरका बासिन्दाले मात्र आफ्नो हिसाबले ल्होसार मनाउँदै छन्। हिमाली भेगका भोटे लामा समुदायले ल्होसारलाई प्रमुख चाडका रूपमा मान्छन् र यस दिनमा नयाँ लुङ्गदर फेर्ने गर्छन्। तर, यहाँ भने पुरानै लुङ्गदरले गाउँ सजिएको छ। गाउँका चार, पाँच घरका ढोका मात्र खुलेका छन्। उनीहरू रोटीलगायत मिठो परिकार पकाएर ल्होसारको तयारी गरिरहेका छन्। गाउँमा विद्यालय नहुँदा बालबालिका पनि छैनन्।
क्वाकमात्र होइन, यतिबेला जाडो छल्न काठमाडौं तथा गप गएका छाकमा पनि ल्होसारको खासै चहलपहल छैन। तल्लो क्षेत्रमा बस्ने यहाँको बासिन्दाहरूले उतै चाडपर्व मनाउने गरेका स्थानीय महिला स्वास्थ्य स्वयंसेवीका उर्गेन डोमा बताउँछिन्। प्राय ल्होसारको बेलामा यो ठाउँको स्थिति यस्तै हुने गरेको उनको भनाइ छ।
बुद्ध धर्मावलम्बीहरूको बसोबास रहेको चुमनुब्री गाउँपालिका वडा नं १ को सामागाउँ र साम्दो, वडा नं २ को ल्हो र स्यो, वडा नं ४ को प्रोक, क्वाक, छाक लगायतका गाउँहरु पनि ल्होसारको बेलामा सुनसान भएका छन्। जाडो छल्न गएका स्थानीयहरू नफर्किएपछि मुख्य चाड ल्होसारको बेलामा पनि सन्नाटा छाएको हो।
प्रतिक्रिया दिनुहोस !