सिन्धुपाल्चोक भूकम्प अपडेट : आत्तिएर भाग्दा एक कैदी घाइते, तुसारेमा पहिरो
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर बिहान भूकम्प जाँदा भाग्ने क्रममा एकजना घाइते भएका छन्। कारागारमा कैद भुक्तान गरिरहेका एकजना कैदी आत्तिएर भाग्ने क्रममा घाइते भएका छन्। उनको दाहिने हातमा चोट लागेको छ।
उनी चौतारा अस्पतालमा उपचार भइ डिस्चार्ज भइसकेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिएका छन्। सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर बिहान २ बजेर ५१ मिनेटमा ६.१ म्याग्निच्युडको भूकम्प गयो थियो।
हालसम्म भूकम्पको कारण भोटेकोशी गाउँपालिका- स्थित तुसारे भन्ने स्थानमा सुख्खा पहिरो गएको छ। उक्त स्थानमा मानव वस्ती नभएको र हालसम्म प्राप्त जानकारी अनुसार जिल्लामा कुनै पनि मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
भूकम्पले भोटेकोशी गाउँपालिकास्थित इलाका प्रहरी कोदारीको भवन चर्किएको छ। जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको र अनुगमन भइरहेको छ । हाल जिल्लाको अवस्था तथा जनजीवन सामान्य रहेको छ ।
भूकम्पको असरले विभिन्न स्थानहरूमा सुख्खा पहिरो,सडकमाथिबाट ढुङ्गा खस्ने जस्ता जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र कुनै सूचना तथा जानकारी भए नजिकको सुरक्षा युनिटमा खबर गर्न समेत अनुरोध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले भूकम्पबाट भएको क्षतिको विवरण संकलन कार्य जारी राखेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !