सिंहले भने : मसँग लिगेसी छ, आगामी महाधिवेशमा कांग्रेस सभापतिमा दाबी गर्छु
वीरेन्द्रनगर : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी १५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन्। संविधान संशोधनका सन्दर्भमा सुर्खेतमा आयोजित कार्यक्रममा सहभागी हुन कर्णाली आएका नेता सिंहले पत्रकार भेटघाटमा आफू लिगेसी मात्र नभई पार्टी संगठनको तल्लो तहबाट काम गर्दै आएको अनुभवले नेतृत्वको दाबी स्वाभाविक रहेको बताएका हुन्।
उनले भने,‘मसँग लिगेसी पनि छ। पार्टीमा सबै तहमा काम गरेको अनुभव पनि छ। नेपाल विद्यार्थी संघको राजनीति हुँदै पार्टीको केन्द्रीय उपसभापतिसम्म सबै जिम्मेबार पूरा गरिसकेँ। यता पार्टीको संसदीय दलको उपनेतासम्म पनि भइसके। अब पार्टीको संसदीय दलको नेता हुँदै प्रधानमन्त्री र उता पार्टीको सभापति बन्न मात्र बाँकी छ। त्यसका लागि मेरो स्वभाविक रुपमा दाबी हो।’
उनले पार्टीको महाधिवेशन आउन अझै केही समय बाँकी रहेकाले अहिले नै भनि हाल्न उपयुक्त नहुने बताए। उनले भने, ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भएको २०८२ मंसिरमा चार वर्ष पुग्छ। पार्टीको विधान र संविधानको व्यवस्थाले डेड वर्षसम्म समय थप गर्न मिल्छ। त्यसैले अहिले नै सभापति भनेर भनिहाल्न उपयुक्त छैन। तर म सभापतिको लागि स्वभाविक दाबेदार हो नै।’
उनले कांग्रेसको १५ औँ महाधिवेशन भने समयमै गर्न जरुरी रहेको बताए।
उपप्रधानमन्त्रीसमेत रहेका सिंहले सरकारले अहिले मुलुकको सुशासनसहितको आर्थिक विकासलाई प्राथमिकता राखेर काम गरिरहेको बताए। उनले भने, ‘कांग्रेस एमाले गठबन्धनबाट शक्तिशाली सरकार बनाउनुको खास उद्देश्य नै मुलुकमा स्थिरता, सुशासन सहितको विकास र समृद्धि दिनु हो। सरकार त्यसमा कटिबद्ध छ।’
कर्णालीका विकास र समृद्धिका आयोजनाहरूमा पनि सरकारले उल्लेख्य बजेटसहित आयोजना निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाइरहेको उनले दाबी गरे। उनले सरकारले ल्याएका सबै अध्यादेशहरू सबैको सहमतिले पास हुने बताए।
तस्बिर : बिस्नप्रसाद न्यौपाने
प्रतिक्रिया दिनुहोस !