नुवाकोट क्याम्पसमा तोडफोड
नुवाकोट : नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा शनिबार तोडफोड भएको छ। बट्टार बजारमा रहेको सो क्याम्पसमा शनिबार बेलुकी विद्यार्थीहरूको सर्वदलीय बैठक भइरहेका बेला माइन्युट च्यातिएपछि सुरक्षाको विषयलाई लिएर भएको विवादमा तोडफोड भएको हो।
‘आक्रोशित विद्यार्थीहरूले स्ववियु निर्वाचनको अधिकृतको कार्यालयमा तोडफोड गरेका हुन्, कुर्सी, टेबुल र झ्यालका सिसाहरू फुटेका छन्, केही विद्यार्थी घाइते भएका छन्,’ स्ववियु सभापति रविन दाहालले भने।
स्ववियु निर्वाचनका लागि आवश्यक तयारीका लागि भइरहेको सर्वदलीय बैठकमा सहमति हुन नसकेको र माइन्युट च्यातेर निर्वाचन भाँड्ने प्रयास भएको उनले बताए। निर्वाचन अधिकृत पूर्णबहादुर सडौलाको हात मर्केको स्ववियु सभापति दाहालले बताए।
घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली क्याम्पस परिसर पुगेको छ। ‘विप्लव नेतृत्वको विद्यार्थी संगठनले माइन्युट च्यातेपछि घटना भएको सुनिएको छ। मैले प्रहरी अधिकृत टोली तोडफोड भएको बट्टार क्याम्पसमा पठाएको छु,’ जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बने।
‘क्याम्पसमा आक्रोशित विद्यार्थीहरूले घटना घटाएको सुनेको छु। कसले घटाएको हो? म अहिले घरमा भएका कारण ठोकुवा गरेर भन्न सक्ने अवस्था छैन,’ क्याम्पस प्रमुख नारायणमान डंगोलले भने। क्याम्पसमा भएको घटनाका सम्बन्धमा क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले पनि आफूले घटना विवरण बुझ्ने काम गरिरहेको बताए।
आगामी चैत ५ गते तय भएको स्ववियु निर्वाचनमा नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा ६ वटा विद्यार्थी संगठनले दर्ता गरेका छन्। नेविसंघ, अखिल, अखिल क्रान्तिकारी, नेविसंघ विपी, समाजवादी विद्यार्थी, अखिल समाजवादी लगायतका विद्यार्थी संगठन चुनावी मैदानमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !