‘१०औं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा’
वीरेन्द्रनगर : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा हुने बताएका छन्। आइतबार कर्णाली प्रदेशको सुर्खेतमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालय उद्घाटन गर्दै मन्त्री चौधरीले सो कुरा बताएका हुन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल र वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाललाई साथमै राखेर सचिवालय उद्घाटन गरेका मन्त्री चौधरीले भने, ‘म सबैलाई बिश्वस्त पार्न चाहन्छु अब कुनै पनि बहानामा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता तलमाथि हुँदैन। ढुक्क भएर तयारीमा लाग्नुस्। आगामी जेष्ठ ३ गतेबाट १० गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रतियोगिता भव्यताका साथ सञ्चालन हुनेछ।’
मन्त्री चौधरीले कतिपयले गर्मीको समयमा प्रतियोगिता नहुन सक्छ भन्ने हिसाबले आशंका गरिरहेको भन्दै कुनै पनि हालतमा १०औं राष्ट्रिय खेलकुद नसारिने प्रतिबद्धता जनाए। ‘जेठमा धेरै गर्मी हुने भएकाले प्रतियोगिता हुन्छ कि हुँदैन् भन्ने हल्ला चलाइएको छ। हामीले मौसमविद्सँग पनि सल्लाह गरिसकेका छौं। दिउँसो ११ देखि २ बजेसम्म खेलाडीलाई आराम दिएर बिहान बेलुकाको समय उपयोग गरेर पनि जेठमै प्रतियोगिता गछौंै।’
उनले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न उपसमिति गठन भइसकेको, खरीद प्रक्रिया अगाडि बढिसकेकोलगायतका तयारी भइसकेको बताए। ‘मूल आयोजक समितिका हिसाबले हामीले सबै तयारी अगाडि बढाइसकेका छौं। कर्णालीमा खेलकुद परिषद्को सदस्यसचिव नियुक्त भएको छैन। मुख्यमन्त्रीज्यू र सामाजिक विकासमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु। तपाईहरूले पनि सदस्यसचिव चाँडो नियुक्त गरेर प्रदेशले गर्नुपर्ने तयारीहरू तत्काल अगाडि बढाइदिनुस्।’
कार्यक्रममा मुख्यमन्त्री यमलाल कँडेलले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीको प्रतिष्ठा भएको बताए। ‘यो कर्णालीका लागि इतिहास रच्ने विषय हो। सबै मिलेर कर्णालीमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्यताका साथ सम्पन्न गरौं’, उनले भने। यसैगरी सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पटक पटक सारिएको बताउँदै अब नसर्ने स्पष्ट पारे।
यसैगरी वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले सचिवालय उद्घाटसँगै कर्णालीमा तोकिएकै मितिमा प्रतियोगिता हुने सुनिश्चिता भएको बताइन्। ‘हाम्रो पालिकामा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ। यो हाम्रा लागि अवसरको कुरा हो। हामी यसलाई सबै व्यवस्थापनका हिसाबले सहयोग गर्न तयार छौं’, उनले भनिन्, ‘हाम्रो नगरसभामा नीतिगत निर्णयमा समेत यो विषयलाई समावेश गरेर आवश्यक सहयोग गर्न तयारी अवस्थामा रहेका छौं।’
प्रतिक्रिया दिनुहोस !