रोहितको जादुयी कप्तानी

रोहितको जादुयी कप्तानी
सुन्नुहोस्

काठमाडौं : न्युजील्यान्डलाई हराउँदै भारतले च्याम्पियन्स ट्रफीको उपाधि जित्यो। उपाधि जित्दै गर्दा प्रशंसा भने कप्तान रोहित शर्माको भइरहेको छ। उनले दुबईको पिचलाई राम्रोसँग पढे। टिमका खेलाडीलाई कहाँ कसरी खेलाउने यसको निर्णय र रणनीतिले रोहितलाई अन्य कप्तानभन्दा अलग बनायो।

भारतीय क्रिकेट समर्थकको अगाडि रोहितले जादुयी कप्तानीको श्रेय लिएका छन्। ‘समय सायद गइरहेको छ, तर रोहित शर्मा एक दिवसीय क्रिकेटमा अझै पनि समय र स्थानलाई आफूअनुसार बनाएर खेल्न सक्छन्,’ इएसपीएन क्रिकइन्फोमा उल्लेख गरिएको छ।  

च्याम्पियन्स ट्रफीको फाइनलमा खेलमा न्युजील्यान्डसँग उपाधि भिडन्तमा निस्किएको भारतीय टिम यसै पनि उपाधिका लागि प्रबल दाबेदार थियो। क्रिकेटप्रेमीहरूले पनि भारतले उपाधि जित्ने अनुमान लगाइसकेका थिए। 

आइतबार दुबई इन्टरनेशनल क्रिकेट रंगशालामा यसबीचमा न्युजील्यान्डको ‘फाइटिङ स्पिरिट’लाई भने दुनियाले सलाम गर्नेछ। २५१ रन बोर्डमा जोडेको न्युजील्यान्डले भारतको बलियो ब्याटिङ लाइनअपलाई समेत ४९ ओभरसम्म रोक्यो। न्युजील्यान्ड कमजोर टोली पक्कै होइन। विशेषतः सेमिफाइनलमा दक्षिण अफ्रिकासँगको खेलले उनीहरू फाइनल खेल्न लायक भएको थियो भन्ने देखाउँछ।

टस जितेर ब्याटिङको निर्णय लिएको न्युजील्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५१ रन बनाएको थियो। सेमिफाइनलमा चलेका दुई ब्याटर रचिन रविन्द्र र केन विलिमसन दुवैलाई कुलदीप यादवको स्पिन अट्याकले लामो समय क्रिजमा टिक्न दिएन। सायद न्युजील्यान्ड गद्दफी क्रिकेट रंगशालामा जस्तै पहिले ब्याटिङ गरेर ३०० माथिको विजयी लक्ष्य भारतलाई दिन चाहन्थ्यो। त्यसको जवाफमा भारतीय कप्तान रोहित शर्माले पिचको डिमान्ड राम्रोसँग बुझ्दै टिममा भएका स्पिनरलाई सही ठाउँमा चलाए। रोहितको विश्वासलाई हरेक स्पिनरले सही सावित गरिदिए।

रोहितको स्वर्णिम कप्तानी
रोहित शर्मा एक सफल कप्तान हुन्। २०२४ को विश्वकपमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले टी-२० विश्वकपको उपाधि जितेको थियो। टी-२० विश्वकपको उपाधि जितेर रोहितले टी-२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका थिए। एक वर्षभित्रमा रोहितले अर्को आइसीसी उपाधि हात पारे। उनको कप्तानीमा भारतले लगातार आइसीसीको उपाधि जितेको छ। उनलाई भारतीय क्रिकेट समर्थकले ‘स्वर्णिम कप्तान’को उपनाम दिएका छन्।

रोहितको कप्तानीमा हतार हुँदैन। उनले फाइनल खेलमा टिमप्रति देखाएको विश्वास र खेलाडीलाई दिएको भूमिका निकै प्रष्ट थियो। खेलाडीले पनि ‘बीना हतार’ क्रिजमा देखाएको धैर्यता एक उत्कृष्ट कप्तानीको नमुना हो। नतिजागत हिसाबले पनि भारतले पछिल्लो २४ आइसीसी खेलहरूमा २३ जित निकालेको छ। जसमा २ वटा उपाधि पनि गनिएको छ। यी २४ खेलको कप्तानी रोहित शर्माले गरेका छन्।

च्याम्पियन्स ट्रफीको पूरै खेल भारतले दुबईमा नै खेलेको हो। यो पछिल्लो २ ठूला प्रतियोगितामा भन्दा भारतलाई सहज वातावरण बनेको थियो। भारतले २०२३ को एकदिवसीय विश्वकप घरेलु मैदानमा नै हारेको थियो। यो खेलमा भारतले ९ वटा फरक मैदानमा खेलेको थियो। टी-२० विश्वकपको खेलहरू भारतले ३ वटा न्युयोर्क स्टेटमा र अन्तिम ६ खेल फरक-फरक भेन्युमा खेलेको थियो।

रोहितलाई आइसीसीको २४ मध्ये २३ खेल जित्ने भारतको लयबारे प्रश्न सोधिँदा उनी भन्छन्, ‘यो एक निकै ठूलो उपलब्धि हो। हामी एक दिवसीय विश्वकपको फाइनलमा पुग्यौं तर हार्‍यौं। तर, टी- २० विश्वकपमा हामीले एक खेल पनि नहारी उपाधि जित्यौं। हामीले च्याम्पियन्स ट्रफी पनि जित्यौं।’

यो जितहरूले टिमको गुणस्तर पत्ता लागेको छ। टिममा निकै राम्रो समझदारी रहेको रोहितले बताए। ‘टिममा निकै राम्रो समझदारी छ। टिमको गुणस्तर पनि राम्रो छ। हामी यसरी नै क्रिकेट खेल्न चाहन्छौं,' उनले भने। बाहिर टिमलाई धेरै खालको प्रेसर भए पनि टिमले खेल जित्नमा ध्यान लगाउने गरेको रोहितले बताए। ‘केटाहरूले हरेक कुरालाई बेवास्ता गर्दै खेल कसरी जित्ने भन्नेतर्फ ध्यान लगाउँछन्। पछिल्लो २-३ वर्षमा हाम्रो सफलताको सूत्र यही नै रहिआएको छ,' उनले थपे

२०२३ को एक दिवसीय विश्वकपपश्चात २०२४/२५ को नतिजा हेर्ने हो भने भारतले १३ मा १३ खेल जितेको छ। ‘यो टिमको राम्रो उपलब्धि हो। टिमको हिसाबले अपराजित रहँदै २ आइसीसीको उपाधि जित्ने टिम निकै कम हुन्छन्। हामीले परिस्थितिको राम्रो सदुपयोग गर्‍यौं र प्रतियोगिता जित्यौं। भविष्यको कुनै योजना छैन। जे भइरहेको छ, भइरहनेछ,’ रोहितले पत्रकारसँग कुरा गर्दै भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.