प्रधानमन्त्री ओलीले आज कोशी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने
ओली आज पूर्वाञ्चल विश्वविद्यालयको १३ औं दीक्षान्त समारोहमा पनि सहभागी हुनेछन् ।
विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोशीको प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिए।
बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने र त्यसको सबै तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले यसअघि कर्णाली र सुदूरपश्चित प्रदेशसभा बैठकलाई सम्बोधन गरेका थिए ।
प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रदेशसभा बैठकमा सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् । नेकपा (माओवादी केन्द्र)सहितका प्रतिपक्षी दलले भने प्रधानमन्त्रीको सम्बोधनका विषयमा औपचारिक जानकारी नभएका कारण बैठकमा उपस्थित नहुने चेतावनी दिएका छन् । प्रतिपक्षी दलले औपचारिक जानकारी नआएको बताएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलका नेतालाई सम्पर्क गरेर सहयोग गर्न आग्रह गरेका छन् ।
प्रदेश सभाको बैठक अगाडि प्रधानमन्त्री ओली मोरङ सुन्दरहरैँचाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने छन् । त्यसपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्न विराट आउने कार्यतालिका छ । उनी बिहान १० बजे मोरङको सुन्दरहरैँचा स्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आउने सुरक्षा स्रोतले जनाएको छ । उनले विश्वविद्यालय परिसरमा निर्माण भएको गिरिजाप्रसाद कलेज अफ एग्रिकल्चर रिसर्च शैक्षिक भवनको बिहान ११:३० बजे उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यसलगतै पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एण्ड साइन्स शैक्षिक भवनको उद्घाटन गर्नेछन् । दिउँसो १२ बजेबाट ओली पूर्वाञ्चल विश्वविद्यालयको ४० औं विशेषसभा बैठक तथा १३ औं दीक्षान्त समारोहमा सहभागी हुनेछन् । दिउँसो साढे २ बजे कोशी प्रदेशसभालाई सम्बोधन गरेर उनी साढे ४ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको जनाइएको छ ।
प्रधानमन्त्री आउने भएपछि मोरङको सुरक्षा व्यवस्था कडा पारिएको छ । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार सुन्दरहरैँचा र विराटनगरमा सुरक्षा व्यवस्था मजबुत बनाइएको हो ।
प्रतिक्रिया दिनुहोस !