सभ्य रूपमा होली मनाउन आग्रह
नुवाकोट : वर्ष दिनको महत्त्व पर्व होली सभ्य रूपमा मनाउन नुवाकोट प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ। कानुन विपरीतका कुनै पनि गतिविधि गरे कारबाही गरिने जनाइएको छ।
नेपालीमाझ रंगहरूको पर्व होलीमा कुनै पनि अवाञ्छित गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटले आग्रह गरेको हो। सामाजिक सद्भाव कायम राखेर होली पर्व सभ्य, भव्य र सुसंस्कृत रूपमा होली मनाउन प्रशासनले आग्रह गरेको छ।
होली पर्व मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ। यसवर्ष होली नुवाकोटसहित पहाडी तथा हिमाली भेगमा फागुन २९ गते बिहीबार र तराईमा चैत १ गते होली परेको छ।
होली पर्व मनाउँदा एक अर्काको इच्छा विपरीत जबरजस्ती गर्न खोजे कानुनी कारबाहीको विषय बन्ने तर्फ नुवाकोट प्रशासनले सचेत गराएको छ। इच्छा विपरीत जबरजस्ती रंग र लोला हान्ने तथा फोहोर छ्याप्ने, बाटोमा हिँड्ने यात्रीलाई दुःख एवं कष्ट र हैरानी दिने, बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध सिर्जना गर्ने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने जस्ता कार्यलाई प्रशासनले गैरकानुनी भनेको छ।
यस्तै, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, सार्वजनिक स्थानहरूमा होहल्ला नगर्न, चर्को आवाजमा बाजा नबजाउन प्रशासनले आग्रह गरेको छ। कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरू नगर्न नगराउन तथा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर होली खेल्न नुवाकोट प्रशासनको आग्रह रहेको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !