जलवायु परिवर्तनको प्रभाव

जलवायु परिवर्तनको प्रभाव

प्रकृतिबिना कुनै पनि जीव बाँच्न सक्दैन । वस्तुतः घाम, पानी, माटो, वायु र आकाशजस्ता पञ्च तत्त्वहरूको अन्योन्याश्रित अन्तरसम्बन्धबाट जीवन अनुकूल परिस्थितिको सिर्जना हुनु नै प्रकृति हो । जुन परापूर्वकालदेखि नियमित गतिमा चल्दै आएको छ । पृथ्वी नियमित प्रक्रियामा चलिरहेको छ । यसैले यो जीव अनुकूलको ग्रह बनेको छ र मानव जाति जीवित प्राणीको रूपमा रहेको छ ।

विगतमा धेरैजसो देशहरूमा विभिन्न क्षेत्रको विकास गर्ने क्रममा वातावरण विनाश भइरहेको छ । यी देशहरूमा बाटोघाटो निर्माणका लागि बढ्दो डोजरको प्रयोग, वनजंगल फँडानी, डँढेलो, विकास निर्माणको कामहरू अव्यवस्थित रूपबाट सञ्चालन, विभिन्न उद्योग तथा कलकारखानाहरूबाट निस्कने धुवाँ, कार्बनमोनोक्साइड, कार्बनडाइअक्साइडजस्ता विषालु ग्यास, विभिन्न किसिमका यातायातका साधनहरूको बढ्दो प्रयोग, जाडोमा तताउने र गर्मीमा चिस्याउने साधनहरूको बढ्दो प्रयोग र विद्युत्, डिजेल र पेट्रोलबाट चल्ने यातायातका साधनहरूको बढ्दो प्रयोगबाट धुवाँ र ताप बढ्दो रूपमा उत्सर्जन भइरहेको छ । यसबाहेक, एकतर्फ, हरित ग्यास उत्सर्जनको असर बढिरहेको छ भने अर्कोतर्फ ओजोन तहमा प्वाल पर्नाले सूर्यको परावैजनी किरण पृथ्वीमा आई सम्पूर्ण मानव जातिको स्वास्थ्यमा नकारात्मक प्रभाव परेको छ । वातावरण विनाशको कारणले आज विश्वभरि नै जलवायु परिवर्तन एवं तापक्रम वृद्धि भएको छ । फलतः विश्वमा वनजंगल, जैविक विविधता, कृषि सम्पदा, हिमालय पर्यटन, ऊर्जा र स्वास्थ्यजस्ता प्रमुख पक्षहरूमा अगाध असर परेकोले सम्पूर्ण मानव जातिमा अस्वस्थकर प्रभाव परेको छ ।

सन् २०१५ मा आईसीडीले गरेको एक अध्ययनअनुसार आजको गतिमा विश्वव्यापी तापक्रम बढ्ने हो भने सन् २०६० सम्मका विश्वको कुल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतदेखि तीन दशमलव तीन प्रतिशतसम्म ह्रास आउनेछ । सन् २१०० मा २ प्रतिशतदेखि १० प्रतिशतसम्म नोक्सानी हुनेछ । यसबाट विश्व अर्थतन्त्र झन्झन् ओरालो लाग्नेछ र भोकमरीको समस्या विकराल हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोषको वल्र्ड इकोनोमिक आउटलुकमा उल्लेख भएअनुसार विश्वमा कार्बन उत्सर्जन न्यूनीकरण नीतिहरू निर्माण गरी व्यवहारमा नउतार्ने हो भने आगामी शताब्दीसमम विश्वव्यापी तापक्रम औसतमा दुई दशमलव आठ प्रतिशत र बढीमा पाँच प्रतिशत बढ्नेछ । उक्त नीतिहरू बनाई कार्यान्वयन गर्न नसकिएमा विश्वमा कार्बन उत्सर्जन पनि सन् २००० देखि २०३० को बीचमा २२ प्रतिशतदेखि ८८ प्रतिशतसम्म बढ्ने सम्भावना छ ।

एसियाली विकास बैंकको प्रक्षेपणअनुसार सन् २०८० सम्ममा दक्षिण एसियामा चारदेखि पाँच डिग्री सेन्टिग्रेडसम्म तापक्रम बढ्नेछ । जसबाट उक्त क्षेत्रका जनतामा नकारात्मक प्रभाव पर्नेछ । आज वातावरणीय विनाशका कारण सम्पूर्ण मानव जातिको सामाजिक, आर्थिक, राजनीतिकलगायत सम्पूर्ण क्रियाकलापहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित छन् । विगतमा वातावरणलाई नकारात्मक प्रभाव पार्ने तŒवहरूको वास्ता नगरी विकास योजनाहरू कार्यान्वयन गर्नाले अहिलेको अवस्था विद्यमान भएको हो । मानव जातिको प्रमुख सम्पत्तिको रूपमा रहेको भूमिमा बसोबास गर्नुको साथै विभिन्न व्यवसाय गरिन्छ । जसमध्ये खेतीपातीको विशेष महŒव छ । परन्तु, केही वर्षयता वातावरणीय विनाशको कारण अतिवृष्टि तथा अनावृष्टिको कारण खेतीपातीमा नकारात्मक प्रभाव परेको छ । यसबाट विश्वभरि नै भोकमरीको समस्या थपिनेछ र सम्बन्धित देशका सरकारका बोझ बढ्नेछ । वर्तमान समयमा वातावरणीय विनाशको कारण विश्वभर नै जलजायु परिवर्तन भएकोले हो । जुन संसारका सबै देशहरूमा एक गम्भीर एवं चुनौतीको रूपमा देखा परेको छ ।

नेपालमा पनि वातावरणीय विनाशले नकारात्मक प्रभाव परेको छ । उदाहरणको लागि हाल काठमाडौंमा अधिकतम ३६ डिग्री सेल्सियससम्मको तापक्रम मापन गरिएको छ । जुन विगतको वर्षहरूको तुलनामा बढी हो । यो जलवायु परिवर्तनको कारण भएको मौसमविद्हरूको भनाइ छ । नेपालको हिमाली क्षेत्रमा शून्य दशमलव शून्य छ डिग्री सेल्सियसको दरले तापक्रम बढ्न थालेकोले यहाँका हिमशृंखला निरन्तर रूपले पग्लेर पानीका मुहान सुक्दै जाने सम्भावना बढेको छ । यसबाहेक अतिवृष्टि तथा अनावृष्टिजस्ता समस्याहरूले यहाँको जनजीवनमा नकारात्मक प्रभाव परेको छ ।
आज विश्वमा वातावरणीय विनाश तीव्र गतिले भइरहेको छ । यसको प्रमुख कारण वनजंगलको विनाश नै हो । एक अन्तर्राष्ट्रिय प्रतिवेदनअनुसार सन् २०२१ मा विश्वको कुल वनक्षेत्र ४ दशमलव ०६ अर्ब हेक्टर थियो जुन विश्वको कुल जमिनको ३१ प्रतिशत थियो भने प्रतिव्यक्ति झन्डै शून्य दशमलव ५२ हेक्टर थियो । तर, अहिले यो अवस्था छैन । वर्तमानमा केही देशहरूमा वन विनाशको दर केही घटे पनि धेरैजसो देशहरूमा भयावह अवस्था नै छ । फलतः यी देशहरूमा बाढी, पहिरो र डुबानजस्ता दैवी प्रकोपहरू बढिरहेका छन् । आज विश्वमा वातावरणीय विनाश दिनप्रतिदिन बढिरहेको छ ।

फलतः केही पशुपंक्षीहरू लोप भएका छन् भने केही लोप हुने अवस्थामा छन् । यति मात्र नभई विभिन्न किसिमका महामारी एवं रोगको फैलावट र दैवी प्रकोपहरूको कारण धेरै नरसंहार हुने गरेको छ । परन्तु, आजसम्म पनि धेरैजसो देशका बासिन्दाहरूलाई यस सम्बन्धमा सचेत गराउन सकिएको छैन । वातावरणविद्हरूको अनुसार कुनै पनि देशमा वातावरण सन्तुलन कायम गर्न त्यहाँको कुल क्षेत्रफलको कम्तीमा पनि ४० प्रतिशत वनजंगलले ढाकेको हुनुपर्छ । तर, नेपालमा तोकिएको मापदण्डअनुसार वनजंगल विद्यमान नभएकोले यहाँको वातावरण सन्तुलन हुन सकेको छैन । यति मात्र नभई यहाँ अव्यवस्थित रूपमा भौतिक संरचनाहरू निर्माणका कारण पनि वनजंगल अतिक्रमित भई वातावरण विनाशमा सघाउ पुगेको छ । तर, यसतर्फ सम्बन्धित पक्षको ध्यान आकृष्ट हुन नसकेकोले वातावरण विनाशको क्रम रोकिन सकेको छैन । 

नेपाललगायत विश्वका धेरैजसो देशहरूमा जनसंख्या वृद्धिको कारण अव्यवस्थित सहरीकरण, वनजंगल फँडानी, जल प्रदूषण, स्थल प्रदूषण, वायु प्रदूषण र ध्वनि प्रदूषण दिनानुदिन बढिरहेको छ । फलतः यो देशहरूमा वातावरणीय विनाश बढ्दो क्रममा छ । भविष्यमा यसलाई जटिल हुन नदिन अल्प र दीर्घकालीन उपायहरू यथाशीघ्र अपनाउन आवश्यक देखिन्छ । यसका लागि एकतर्फ सर्वप्रथम त जनसंख्या वृद्धि घटाउन आवश्यक छ भने अर्कोतर्फ वन विनाशको रोकथाम, आधुनिक प्राविधिक ट्राफिक व्यवस्थापन प्रणाली र बढ्दो औद्योगिक प्रदूषण न्यूनीकरण गर्न उत्तिकै जरुरी छ । यसबाहेक नियमित एवं प्रभावकारी रूपमा वायुको गुणस्तर परीक्षण र वातावरणसम्बन्धी जनचेतना बढाउनुपर्छ । जसको लागि तीनै तहका सरकारको सक्रियताको आवश्यकता छ ।

विश्व तापक्रममा हुने परिवर्तन प्राकृतिक र मानवीय कारणले हुने हो । खनिज तेलको खपत तीव्र रूपले बढ्नाले विश्वको तापक्रम बढिरहेको छ । आज विश्वमा वातावरणीय प्रदूषण दिनप्रतिदिन बढिरहेको छ । तर विश्वव्यापी तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढी बढ्दा पनि विश्वमा वातावरणीय विनाश न्यूनीकरणसम्बन्धी साझा सहमति हुन सकेको छैन । वास्तवमा विश्वमा वातावरणीय विनाश हुनुका प्रमुख कारण विकसित देशहरूमा भएका औद्योगिक तथा अन्य विकासमूलक क्रियाकलापहरू नै हुन् । बढ्दो तापक्रमको कारण आगामी ३० वर्षभित्र विश्वका हिमालमा झन्डै एकतिहाइ हिउ रित्तिने अनुमान छ । फलतः यस क्षेत्रको पानीका स्रोतहरू विस्तारै सुक्नेछन् र मानिसहरूको जीविकोपार्जनमा नकारात्मक प्रभाव पर्नेछ ।

आज धेरैजसो देशहरूमा भौतिक वस्तुहरूको बढ्दो प्रयोग गरेर रमाउने चलन तीव्र रूपले बढिरहेको छ । जसको कारण यी देशहरूको वातावरण तीव्र रूपले विनाश भइरहेकोले उक्त चलनको परिवर्तन गरी प्राकृतिक चीजहरूमा रमाउने चलनको विकास गर्न आकृष्ट हुनु परेको छ । वस्तुतः पृथ्वी हाम्रो साझा घर हो । यसको विनाश भएमा हाम्रो अस्तित्त्व नै मेटिने छ । त्यसैले यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । वर्तमानमा प्रकृतिको दोहन गरी विकसित देशहरू उन्नतिको शिखरमा पुगेका छन् । तर, यिनीहरूले वातावरण संरक्षणमा ध्यान नदिनाले विनाशको क्रम दिनहुँ बढिरहेको छ । 

हाल विज्ञान र प्रविधिको विकासले विभिन्न यातायातका साधनहरूको विकास भएको छ । यी साधनहरूको नियमित रूपमा सञ्चालन गर्न बढ्दो मात्रामा कोइला, पेट्रोल र डिजेलको प्रयोग गर्नाले विश्वको वातावरण दिनहुँ दूषित भइरहेको छ । हाइड्रोजन ग्यासको प्रयोगले उक्त इन्धनहरूको प्रयोग घटाई वातावरण विनाश घटाउन सकिन्छ । हाइड्रोजन ग्यास पेट्रोल, डिजेल र पानीभन्दा सस्तो हुन्छ । त्यसैले यसको अधिकतम प्रयोग गर्न सके प्रत्येक वर्ष बिदेसिने ठूलो धनराशि सञ्चित्त भई अन्य विकास कार्यहरूमा लगानी गरी युवाहरूलाई रोजगारी सिर्जना गर्न सकिन्छ ।

हाइड्रोजन ग्यासबाट एकतर्फ फलामको प्रशोधन गर्न सहज हुनेछ भने अर्कोतर्फ विद्युत् र पानीको सदुपयोग गर्न सघाउ पुग्नेछ । जसबाट प्रत्येक व्यक्तिको आयआर्जन वृद्धि भई विश्व अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्नेछ । विश्वमा वातावरण विनाशको कारण नेपाल पनि प्रभावित भएको छ । वास्तवमा दुई छिमेकी राष्ट्र भारत र चीनमा औद्योगिक तथा अन्य विकासका क्रियाकलापहरू तीव्र रूपले बढ्नाले यहाँको वातावरणमा नकारात्मक प्रभाव परेको छ । यस सम्बन्धमा वार्ता गरी समाधान गर्न न त नेपालले चासो देखाएको छ न त छिमेकी राष्ट्रहरू नै तत्पर छन् । तसर्थ, यहाँको वातावरण दिनदिनै विनाशतर्फ उन्मुख छ । जुन न्यूनीकरण गर्न नितान्त आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.