नुवाकोटमा लक्ष्मीनारायणको रथयात्रा
नुवाकोट : फागु पूर्णिमाको अवसरमा बिहीबार नुवाकोटको विदुरमा लक्ष्मीनारायणको रथयात्रा गरिएको छ।
फागु पूर्णिमा तथा होली पर्वका अवसरमा विदुर नगरपालिका-४ विदुर लोकतान्त्रिक चोकमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मन्दिरको अबिर र रंग मिश्रित रथयात्रा निकालिएको हो। रथयात्रा हरेक वर्ष स्थानीय महिला दिदीबहिनीको अगुवाइमा निकालिने र त्यसमा पुरुषको सहयोग हुने गर्दछ।
रथयात्राले सकारात्मक सोचाइको विकास गराउने र सबै जाति, वर्ग, समुदाय तथा धर्मावलम्बीको सहभागिताले पारस्परिक सद्भाव, धार्मिक सहिष्णुतासमेत कायम गर्न सहयोग पुग्दै आएको रथयात्रामा अगुवाइ गरेका लक्ष्मीनारायण मन्दिर संरक्षण समितिका सचिव नवराज पाण्डेको भनाइ छ। उनका अनुसार सदियौंदेखि नै फागु पूर्णिमाका अवसरमा निकालिने गरिएको लक्ष्मीनारायणको रथ यात्रालाई यस वर्ष पनि निरन्तरता दिइएको हो।
विदुरस्थित लोकतान्त्रिक चौतारोमा अवस्थित लक्ष्मीनारायण मन्दिरबाट निकालिएको रथयात्रा विदुरस्थित विभिन्न टोल, चोक, बस्ती र समुदायको परिक्रमा गराएर पुनः सोही मन्दिरमा नै रहेर विसर्जन गर्ने गरिएको रथयात्रामा सहभागी स्थानीय युवा अगुवा नवराज सुवेदीले बताए। उनका अनुसार रथयात्राको परिक्रमा गराएमा लोक तथा समुदायको हित हुने, रोगे तथा दुःख कष्ट हटेर जाने जनविश्वास रहेको छ।
फागु पूर्णिमा तथा होली पर्वका अवसरमा नुवाकोटकै वेलकोटगढीमा रहेको वासुकीस्थान, तारकेश्वर, दुप्चेश्वर, तादीलगायत विभिन्न देवालयहरूमा दर्शनार्थीहरूको भीड लागेको थियो।
गृहसचिव गोकर्णमणि दुवाडीसँग नुवाकोटका कर्मचारीहरूले बिहीबार फागु पर्व मनाएका छन्। नुवाकोट आएका गृहसचिव दुवाडीले नुवाकोटका कर्मचारीहरूलाई पालैपालो रङ लगाइदिए। जिल्ला प्रशासन कार्यालय नुवाकोटमा गृहसचिव दुवाडीले नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, सहायक प्रजिअ कृष्णप्रसाद हुमागाईलगायत सहभागी सबै कर्मचारीहरूलाई सामाजिक सद्भावको पर्व होलीको अवसरमा रंग दलिदिएका हुन्।
प्रतिक्रिया दिनुहोस !